इटहरी खानेपानीमा भएको भ्रष्टाचार छानविन गरी कारवाही गर्न तरुण दलको आग्रह

 

  

जेठ २२, इटहरी । इटहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको भ्रष्टाचारको विषय इटहरी उपमहानगरपालिकाका नगरप्रमुख बाटै बाहिरिए पनि छानविन समिति नबनेको भन्दै नेपाल तरुण दल सुनसरीले आपत्ति जनाएको छ । 

null

आज एक विज्ञप्ति प्रकाशित गर्दै कांग्रेसको युवा दस्ता तरुण दलले नगरप्रमुख द्वारिका लाल चौधरीबाटै भ्रष्टाचारको विषय छताछुल्ल हुँदा पनि छानविन समिति समेत नबनेको प्रति रोष प्रकट गरिएको हो । 

तरुण दल सुनसरी सभापति सिजन गुरुङले जारी विज्ञप्तिमा नगरप्रमुखले नै सार्वजनिक रुपमा खानेपानीको पाईप बिछ्याउँदा, जग्गा किन्दा, खानेपानी टंकी निर्माणमा ब्यापक भ्रष्टाचार छ भनिसकेको अवस्थामा तत्काल छानविन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउनु पर्नेमा नगरिएको प्रति आपत्ति जनाइएको छ । 

‘उपमहानगरपालिकामा भएको भ्रष्टाचारका विरुद्ध उहाँले सुरु गर्नुभएको अभियानमा हामी मुक्त कण्ठले प्रशंशा गर्दछौं । साथै खानेपानी समितिमा भएको अनियमितता छानविन गर्न र दोषिलाई कडाभन्दा कडा कारवाही गर्न माग गर्दछौं ।’ उनले भने । 

तरुण दलले शक्ति र सत्ताको चरम दुरुपयोग गर्दै आफ्नो पार्टीको अमुक नेताले गरेको भ्रष्टाचारको ढाकछोप गर्ने प्रपञ्च भइरहेको प्रति निन्दा गर्दै इटहरी खानेपानी तथा सरसफाइ संस्थामा भएको भ्रष्टाचार अविलम्ब छानविन गरी भ्रष्टाचारमा संलग्नलाई अविलम्ब कारवाही गर्न माग गरेको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *