भिजिट २०२० को प्रदेश १ कमिटिमा एलिना

जेठ २८, धरान । धरानकी पर्यटन ब्यवसायी एलिना मगरलाई सरकारले भिजिट २०२० को प्रदेश समितिमा मनोनयन गरेको छ । प्रधानमन्त्री एवं संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्तरीय निर्णयबाट एलिनासहित २१ सदस्यीय १ नं. प्रदेश नेपाल भ्रमण वर्ष २०२० प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरिएको हो । 

सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहायक प्रवक्ता प्रकाश शर्मा ढकालद्वारा जारी विज्ञप्तिमा प्रदेश नं. १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको अध्यक्षतामा समिति गठन गरिएको बताइएको छ । समितिका संरक्षक मुख्यमन्त्री रहने विज्ञप्तिमा उल्लेख छ । 

 

null

जारी विज्ञप्तिमा नेपाललाई विश्व पर्यटन बजारमा गुणस्तरीय पर्यटन गन्तव्यको रुपमा विकास र प्रवद्र्धन गर्दै सन् २०२० मा कम्तिमा २० लाख पर्यटक भित्र्याउन, प्रति पर्यटक खर्च दर बढाउन र पर्यटकको बसाइ अनुभवलाई थप सुखद बनाउन गुणात्मक रुपले सघाउ पुर्याउने उद्देश्यले नेपाल भ्रमण वर्ष २०२० अभियानअन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको उल्लेख छ । 

यसैगरी स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म पर्यटन जागरणको रुपमा नेपाल भ्रमण वर्ष अभियानलाई सञ्चालन गर्न क्षेत्रगत तथा विषयगत निकायका अतिरिक्त तहगत सहकार्य एवम् सामञ्जस्यता कायम गरी नेपाल भ्रमण वर्ष सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्न प्रदेशको समितिको गठन गरिएको जनाइएको छ । 

पर्यटन विषयमा स्नाकोत्तर गरेकी मगरले धरानलाई कार्य क्षेत्र बनाइ पूर्वमा पहिलो पटक प्याकेज निर्माण गरी ट्राभल एजेन्सी सञ्चालन गर्दै आएकी छिन् । सेछ ट्राभलिङमा आवद्ध मगरले बाह्य पर्यटकहरुलाई प्रदेश नं. १ मा भित्र्याउन योगदान गरिरहेकी छिन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *