डेंगु कसरी सर्छ ? यसबाट कसरी बच्ने ?


साउन १४, विराटनगर । गर्मीको मौसममा विशेषगरी तराईमा विभिन्न किसिमका रोगहरु फैलिन्छन् । हुन त गर्मीमा जुनसुकै ठाउँमा पनि विभिन्न रोगहरुको प्रकोप देखा पर्छन् । त्यसमाथि पनि प्राकृतिक प्रकोपका कारण पनि विभिन्न रोगहरु फैलिरहेका हुन्छन् ।
विशेषगरी तराईमा फरक खालका रोगले ब्यक्तिहरु संक्रमित भइरहेका हुन्छन् । तराईमा गर्मीयाममा देखिने विभिन्न रोग मध्ये अहिले महामारीको रुपमा फैलिँदै गएको रोग हो डेंगु । बुढीगंगा गाउँपालिका टंकी २ मा अवस्थित बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा पनि अहिले प्रत्येक दिनजसो डेङगुका बिरामीको उपचार भइरहेको छ ।
null
वास्तवमा यो डेंगु के हो ? यसका लक्षणहरु के के हुन ? यो रोग कसरी फैलिन्छ ? यो रोगबाट बच्ने उपायहरु के–के हुन् ? यसबारे बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलका मेडिसिन विभागका डा.राम कुमार मेहेता सँगको कुराकानीः
डा.राम कुमार मेहेता
डेंगु भनेको भाइरल इन्फेक्सन हो । यो एडिज लामखुट्टेको टोकाइबाट सर्छ । एडिज लामखुट्टे भनेको एक प्रजातीको लामखुट्टे हो, जुन प्राय गरेर कृतिम भण्डारण गरेर राखेका फ्रेस पानीमा बस्छ । यसले प्रायः दिनमा टोक्ने गर्छ ।
डेङगु विभिन्न प्रकारका हुन्छन् । साधारणतया सबै डेङगु खतरनाक हुँदैनन् । डेंगु कुनै साधारण लक्षण देखिएर पनि हुन्छ भने कुनै असाधारण लक्षण देखाएर पनि हुन्छ । यो रोग लागेका ९७ प्रतिशतलाई सामान्य ज्वरोको रुपमा हुन्छ । यो साधारण लक्षण हो । शरीरका जुनसुकै भागबाट रक्तश्राव बढी हुने, वीपी कम हुने हुन्छ । यो प्लेटलेट्स कम भयो भने खटिरा धेरै आउँछ । यस्तो देखिएमा असाधारण लक्षण हुन्छ र यसलाई जटिल मानिन्छ । यसको निर्मुल गर्ने उपचार भने हुँदैन । लक्षण अनुसारको उपचार मात्र हुन्छ । सँगसँगै यसले अरु रोगसँग लड्न सक्ने क्षमतालाई पनि कम गरिदिन्छ, जसले गर्दा अरु रोगले यदि आक्रमण गर्यो भने झनझन जटिल बन्दै जान्छ ।
डेङगु संक्रमण एक किसिमको एडिज लामखुट्टेले गर्छ । हात मिलाउँदैमा, अंगालो मार्दैमा सँगै खाना खाँदैमा यो भाइरस सर्दैन । संक्रमित भएको ब्यक्तिलाई यदि कुनै लामखुट्टेले टोक्यो र त्यहि लामखुट्टेले सामान्य ब्यक्तिलाई टोक्यो भने डेङगु सर्छ । पानी जम्ने ठाउँमा गर्मीमा र पानी बग्ने व्यवस्था राम्रोसँग नहुने ठाँउमा एडिज लामखुट्टे बढी सक्रिय हुने गर्दछ ।
WHO २००९ अनुसार Dengue without sign जसमा एकदमै बढी ज्वरो आउँछ । ५ देखि ७ दिनसम्म जिउ एकदमै दुख्ने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखा मुनि दुख्ने जस्ता साधारण लक्षण देखा पर्छन् ।
यसैगरी खटिरा आउने, रक्तश्राव बढी हुने, बान्ता हुने, शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, पिसाब कम हुने तथा रक्तचाप निकै कम हुने हुन्छ । अधिकांश रोगीहरु सामान्य उपचारपछि निको हुने भएपनि बेलैमा उपचार नगरेमा मानिसको ज्यानै जान सक्छ ।
सामान्यतयाः डेङ्गुबाट बच्न निम्नानुसार सावधानी अपनाउनुपर्छः१. लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । २. घरवरपर पानी जम्ने खाल्डाखुल्डीहरु पुर्नुपर्छ । ३. घर नजिक कुनै पनि झाडी राख्नु हुँदैन४. लामखुट्टेको टोकाइबाट बच्न झूलको प्रयोग गर्ने वा लामखुट्टे धुप वा क्रिम प्रयोग गर्नु पर्छ ।५. झ्याल ढोकामा जाली राख्नुपर्छ । ६. शरीर पुरै ढाक्ने कपडा लगाउनुपर्छ । ७. सरसफाइमा ध्यान दिनुपर्छ । ८. आफ्नो घर वरीपरी मात्र होइन समुदाय, समाजलाइ पनि सफा सुग्घर राख्न मद्दत गर्ने
डा. मेहेता बिराट मेडिकल कलेज टिचिङ्ग अस्पतालको मेडिसिन विभागमा कार्यरत छन् ।
