विदेशमा यसकारण आत्महत्या गर्छन् नेपाली विद्यार्थी

 

असार ३१, काठमाडौं । अष्ट्रेलियामा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ पढ्दै गरेका स्वदेश सेढाई नाम गरेका एक युवाले केही दिनअघि आत्महत्या गरे । 

सन् २०१७ को मार्चमा अष्ट्रेलिया पढ्न गएका स्वदेश सिड्नीस्थित युनिभर्सिटी अफ टेक्नोलोजिमा अध्ययन गर्थे । उनी अरु विद्यार्थी जस्तै पढाइसँगै सातामा २० घण्टा र कलेज बिदामा थप काम गर्थे । 

null

स्वदेश सेढाई त एक उदाहरण मात्र हुन्, विदेश अध्ययनका लागि गएका धेरै नेपाली युवा यूवतीहरुले आत्महत्या गरिसकेका छन् । सकेसम्म मृत्युलाई धकेल्दै मान्छेले जीवन लम्बाउने प्रयत्न गरिरहने देखिएपनि विदेश अध्यनन गर्न गएका विद्यार्थीहरुको आत्महत्याको दर डरलाग्दो छ । हरेक बर्ष ४–५ जना विद्यार्थीले आत्महत्या गरेका छन् । 

नेपाली विद्यार्थीलाई विदेशमा पठाउने मोह सिर्जना गर्नका लागि शैक्षिक परामर्शदाताहरुले अनेक विज्ञापनहरू गरिरहेका भेटिन्छन् । विज्ञापन हेर्दा लाग्छ कि ‘अष्ट्रेलिया पुग्नासाथ जिन्दगीले एउटा नाटकीय मोड लिँदै कायापलट हुन्छ ।’ 

‘कलेज फि तिर्नुपर्ने टेन्सन, भाडा, खाना, ट्राभल खर्च अनि अनेकथरि अन्य समस्याहरू हुन्छन् । अझ कलेजको गृहकार्य समयमै गर्नुपर्ने प्रेसर अनि गयल भइयो भने त्यो विषयमा फेल भइनें र अर्कोपटक पैसा तिरेर पढ्नुपर्ने सकसले विद्यार्थीहरुलाई मानसिक रुपमा विक्षिप्त गराउँछ’ 

विदेशमा जानेबित्तिकै धन, सम्पत्ति, पढाइ आदि सहजै आर्जन गर्न सकिन्छ भन्दै परामर्शदाताले आफ्नो व्यवसायिक सफलतालाई मध्येनजर गर्दै विज्ञापन गरेका हुन्छन् । केवल विद्यार्थी तानेर केही सेवा शुल्क लिनका लागि मात्र गरिएका यस्ता व्यापारमुखी विज्ञापन नै आत्महत्याका कारण बनिरहेका छन् । 

जे सोचेर विद्यार्थीहरु अष्ट्रेलिया जान्छन् त्यो वास्तविकतामा नहुने र नेपालमा परिवारले आवश्यक्ताभन्दा धेरै अपेक्षा गर्नाले समस्या आउने गरेको अष्टे«लियाको मेलबर्नमा मानसिक रोग बिशेषज्ञका रुपमा कार्यरत डा.अनुपम पोखरेल बताउँछन् । विद्यार्थीहरु अष्ट्रेलिया आउनुअघि वास्तविकता र यथार्थसँग परिचित भएर आएको खण्डमा केही हदसम्म उनीहरुलाई सहज हुने उनी सुनाउँछन् । 

 

परामर्शदाताले विद्यार्थीको मनमा केवल रंगिन सपना मात्र भर्ने तर त्यहाँका समस्या र चुनौतीका कुराहरु लुकाउने गर्छन् । यसबाट विद्यार्थीको मनमा केवल रंगीन सपना मात्र भरिने तर विद्यार्थीलाई आइपर्न सक्ने कठिनाइसँग जुध्ने हौसला सृजना नहुने जस्ता कारण आत्महत्याका कारण बनिरहेको जानकारहरु बताउँछन् । 

सामाजिक सञ्जालले समेत विद्यार्थीको मन भड्काउन मद्दत पुर्याएका छन् । फेसबुकका भित्तामा राखिने विदेशका सुन्दर दृश्यका तस्वीर, साथीभाइले गरेका मोजमस्तीका तस्वीरहरू हेरेर पनि युवावस्थाका विद्यार्थीहरु सजिलैसँग आकर्षित भएर विदेशको सपना देख्न थाल्छन् । 

मनोविद् गोपाल ढकाल भन्छन्, ‘विद्यार्थी भएर विदेशमा जाँदा ध्यान दिनुपर्ने कुराहरु, विद्यार्थी जीवनमा आईपर्ने उतारचढावहरु यसको गुण र दोषका बारेमा पनि परामर्श दिनुपर्नेमा केवल विद्यार्थी विदेश पठाउन रंगिन सपना मात्र बुनिदिने शैली नै यो समस्याको मुख्य कारण हो ।’ 

अस्ट्रेलियामा यस्ता समस्याहरु मध्यम वर्गीय र निम्न मध्यम वर्गीय परिवारका विद्यार्थीले भोग्छन् । सम्पन्न परिवारबाट गएकाहरुले खासै विद्यार्थी जीवनमा अरुले जस्तो सकस भोग्नु पदैन् । तर जो मध्यम र त्योभन्दा तल्लो वर्गबाट आउँछन् उनीहरूले प्रायः एक सेमेष्टरको फि नेपालबाट तिरेका हुन्छन् । 

शैक्षिक परामर्श दाताका अनुसार बाँकी फि भने अस्ट्रेलियामै कमाएर तिर्ने र बचाएर घर समेत पठाउने आशामा हुन्छन्, विद्यार्थीहरु । त्यसपछि विद्यार्थीका सकसका दिनहरु सुरु हुन्छन् । विदेश पठाउन लागेको खर्च ऋण तिर्न भन्दै घरबाट पैसा पठाउन दबाब दिइन्छ । उता विद्यार्थीले आफ्नै खर्च व्यवस्थापन गर्न सकेको हुँदैन । एक त काम नपाईने समस्या अर्को, सातामा २० घन्टाभन्दा बढी कानुनी रूपमा काम गर्न नपाइने समस्याले विद्यार्थी मर्कामा पर्छन् । 

अष्ट्रेलियामा नर्सिङ पढ्दै आएकी टिएम केसी भन्छिन्, ‘कलेज फि तिर्नुपर्ने टेन्सन, भाडा, खाना, ट्राभल खर्च अनि अनेकथरि अन्य समस्याहरू हुन्छन् । अझ कलेजको गृहकार्य समयमै गर्नुपर्ने प्रेसर अनि गयल भइयो भने त्यो विषयमा फेल भइनें र अर्कोपटक पैसा तिरेर पढ्नुपर्ने सकसले विद्यार्थीहरुलाई मानसिक रुपमा विक्षिप्त गराउँछ ।’ 

यी समस्याहरू विद्यार्थीले राम्रोसँग व्यवस्थापन गर्न सकेनन् भने भित्रभित्रै मानसिक यातना भोग्न बाध्य हुन्छन् । र समस्या व्यवस्थापन गर्न नसकेमा धेरै डिप्रेसनको सिकार हुन्छन् । अधिकांश विद्यार्थीहरू एक्लै अष्ट्रेलिया पुगेका हुनाले उनीहरूलाई कुनै समस्या परेमा उचित सल्लाह र मार्गनिर्देशको अभाव हुन्छ । डिप्रेसनको सिकार भएका तिनै मध्ये कतिपयले आत्महत्याको बाटो रोज्दै जीवन सिध्याईरहेका छन् । 

अष्ट्रेलियाको सरकारको पछिल्लो तथ्यांक अनुसार प्रत्येक बर्ष झण्डै ४ हजार जनाले आत्महत्या गर्छन् । त्यहाँको केन्द्र र राज्य सरकारले मानसिक रोग भएकाहरुलाई उपचारका लागि विभिन्न गोप्य परामर्श, उपचारहरु समेत उपलब्ध गराउने गरेको छ । यद्यपी मानसिक रोग अपेक्षित रुपमा नियन्त्रणमा आउन सकेको छैन् । 

अष्ट्रेलियामा रहेर मानसिक रोग विशेषज्ञका रुपमा काम गरिरहेकाहरुका अनुसार नेपालीहरुमा पछिल्लो समयमा मानसिक रोग बढ्दै गएको छ । अष्ट्रेलियाको राष्ट्रिय अनुपात जस्तै प्रत्येक ५ नेपाली मध्ये एक जनामा कुनै न कुनै मानसिक समस्या रहेको उनीहरुको दाबी छ । विशेष गरेर आफूमा समस्या भएपनि स्वीकार गरिनहाल्ने र उपलब्ध सेवाहरु समेत समयमै नलिने प्रवृतिका कारण नेपालीहरु मानसिक रोगको चपेटामा पर्दै गएका हुन् । 

मानसिक रोग विशेषज्ञ तथा अष्ट्रेलिया सरकारको सिड्नीस्थित टेबलल्याण्डस मानसिक स्वास्थ्य सेवाको प्रमुखका रुपमा काम गरिरहेका डा. घनश्याम चापागाईं अहिले पनि आफूले दर्जनौँ नेपालीहरुलाई मानसिक स्वास्थ्य सेवा दिइरहेको सुनाउँछन् । 

उनका अनुसार एकातिर मानसिक रोगको उपचारका लागि नेपाली विशेषज्ञ भेट्न नचाहने प्रवृति छ । अर्कोतिर मानसिक रोग भएपनि यसलाई कमजोरीका रुपमा लिने र स्वीकार नगर्ने चलन नेपालीहरुमा अझै पनि छ । त्यसकारण पछिल्लो समय यो समस्या विकराल बन्दै आत्महत्यामा टुंगिने गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *