आज ३७ औं वीपी स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, ६ साउन । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँंग्रेसका संस्थापक विपी कोइरालाको ३७ औ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि सं १९७१ भदौ २४ गते भारतको बनारसमा जन्मिएका वीपीको २०३९ साल साउन ६ गते अर्थात् आजकै दिन निधन भएको थियो । उनलाई घाँटीको क्यान्सर थियो । 

२०१५ सालमा भएको आमनिर्वाचनमा बहुमत ल्याएपछि उनी पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । तत्कालिन राजा महेन्द्रले निर्वाचित सरकारलाई बर्खास्त गरेपछि भारतमा निर्वासित वीपी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए । सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी वीपी साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी थिए । 

 

null

उत्पीडन, कठोर यातना र अत्यन्त कठीन अवस्थामा पनि राष्ट्रियता र प्रजातन्त्रप्रतिको आधारभूत निष्ठालाई नत्याग्ने बीपीले जीवनभर देश र जनताकै लागि संघर्ष गरे । वि सं २००७ सालको क्रान्तिका योद्धा वीपीले तत्कालीन राजा महेन्द्रसँगको लडाइँमा गरिने आन्दोलनमा शान्तिपूर्ण क्रान्तिको बाटो रोजेका थिए । 

क्रान्तिमा हिंसाको बाटो सजिलो भए पनि हामीले यो बाटो सजिलो हुन्छ भनेर रोज्नु हुन्न भन्ने भनाइमा वीपी सधैं अडिग रहे । २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका उनी भारतीय स्वतन्त्रता आन्दोलनमा समेत संलग्न भएका थिए । 

भारतका पहिलो राष्ट्रपति राजेन्द्रप्रसाद, प्रधानमन्त्री जवाहरलाल नेहरु, समाजवादी नेताहरु जयप्रकाश नारायण, राममनोहर लोहिया जस्ता नेतासँग उहाँको प्रत्यक्ष उठबस थियो । सोसलिष्ट ईन्टरनेशनलका उपाध्यक्षसमेत रहेका उनी सधै ग्रामीण अर्थतन्त्रका हिमायती र प्रजातान्त्रिक समाजवादका अभियन्ता थिए । 

कोइरालालाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागु गरेपछि थुप्रै वर्ष उनले जेल जीवन बिताए । २०१५ सालमा पहिलो जननिर्वाचित प्रधानमन्त्रीका रुपमा वीपीले अंगिकार गरेको आर्थिक सुधार र परिवर्तनको बाटो लोकप्रिय भइरहेकै बेला तत्कालीन राजा महेन्द्रले सैनिक सहयोगमा वीपीलाई अपदस्थ गरी शासन व्यवस्था आफ्नै हातमा लिएका थिए । 

आफ्नो आस्था, आदर्श र सिद्धान्तबाट कहिल्यै पछि नहट्ने एक महान् राष्ट्रवादी चिन्तक स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित छन् । कोइरालाका आत्मकथा, जेल जीवन, दोषी चस्मा, हिटलर र यहूदी, सुम्निमा, मोदीआइन, श्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाई लगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *