‘विदेशमा अवैधानिक रुपमा लुकेर काम नगर्नुस्, नेपालको शिर निहुरिन्छ’

 

साउन ७, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई अवैधानिक रुपमा लुकेर काम नगर्न आग्रह गरेका छन् । 

दक्षिण कोरियाको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका र कोरिया रिटर्न नेपालीको सफलतामा सहयोग विषयक कार्यशालाको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । 

null

कार्यक्रममा उनले भने, ‘वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई मेरो आग्रह छ । त्यहाँ वैधानिक अवधि सकिएपछि लुकेर अवैधानिक रुपमा काम नगर्नुस् । एक नेपालीले गर्दा नेपालको शिर निहुरिन्छ । अवधि सकिएपछि स्वदेश फर्कनुस् । यतै व्यवसाय गर्नुस् । देश विकासमा सहयोग पुर्याउनुस् ।’ 

मन्त्री विष्टले अहिले वैदेशिक रोजगारीमा जाने नेपाली युवाले कमाएको पैसाको झण्डैँ ९० प्रतिशत उपभोग्य वस्तुमा खर्च हुने गरेको र क्यापिटल फर्मेसन हुन नसकेको भन्दै खर्च गर्ने प्रवृत्ति हटाउन र बचत गर्ने बानी बढाउन पनि आग्रह गरे । 

बचत गर्ने संस्कार नहुँदा अबको १०–१५ वर्षपछि नेपालले थेग्न नसक्ने गरी सामाजिक समस्या पैदा हुने उनको भनाइ छ । 

कोरियाको रोजगारीका विषयमा बोल्दै उनले पछिल्लो समय त्यहाँ काम गर्ने नेपालीमा डिप्रेसनको समस्या देखिइरहेको जानकारी दिए । विशेष गरी कृषि क्षेत्रमा निश्चित् समयभन्दा धेरै काम गर्नुपर्ने बाध्यताका कारण यस्तो समस्या उत्पन्न भएको उनको बुझाइ छ । यो नेपालको लागि ज्यादै पीडाको विषय भएको उनले बताए । 

सरकारी तथ्यांक अनुसार हालसम्म ६३ हजार नेपाली कामदारले दक्षिण कोरियामा रोजगारी पाएको पनि उनले जानकारी गराए । 

यस्तै उनले वैदेशिक रोजगारीका लागि गएका नेपालीले पठाउने रकम वैधानिक च्यानलबाट आउने क्रम दुई सय प्रतिशतले बढेको बताए । सन् २०१७ मा जम्मा ५ अर्ब मात्रै बैंकिङ च्यानलबाट आएको उल्लेख गर्दै उनले अहिले यो बढेर साढे १६ अर्ब रुपैयाँ वैधानिक च्यानलबाट नेपाल भित्रिएको जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *