चर्को शैक्षिक शुल्कविरुद्ध नेविसंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

 

साउन ३, काठमाडौं । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन सम्पन्न गर्ने समूहले निजी शैक्षिक संस्थाहरुले गरेको चर्को शुल्क वृद्धि तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने घोषणा गरेको छ । 

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त समूहले निजी शैक्षिक संस्थाहरुले तत्काल शुल्कवृद्धि फिर्ता नलिए सडक संघर्षमा उत्रिने घोषणा गरेको हो । 

null

नेविसंघले यही साउन ६ गते शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने, साउन ८ गते शैक्षिक शुल्कवृद्धिको विरुद्धमा अन्तरक्रिया तथा छलफल गर्ने, साउन १० गते चर्को शुल्कवृद्धिको विरुद्धमा सडक संघर्ष गर्ने र त्यसपछिका चरणबद्ध रुपमा सडक संघर्षका कार्यक्रमहरु गरिने जनाएको छ । 

कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि लिलाबल्लभ दाहाल (काका) ले तत्काल शैक्षिक शुल्क वृद्धि फिर्ता नलिए नेविसंघ सशक्त सडक संघर्षमा उत्रिने चेतावनी दिए । 

दाहालले देशकै समग्र शिक्षा प्रणाली नै महँगो भएकोले भ्रष्टाचार मौलाएको टिप्पणी गर्दै भने, ‘सरकारी उच्च तहका कर्मचारीको तलब नै ३८ हजार छ । तर, उसले आफ्ना दुई वटा बच्चा पढाउँदा पचासौं हजार खर्च गरिरहेको छ । यसमा सिधै देखिन्छ कि उसको समग्र आम्दानीभन्दा दुईवटा बच्चा पढाएको खर्च दोब्बर हुन आउँछ । भ्रष्टाचार यहीँबाट सुरु भएको छ । यसलाई रोक्न जरुरी छ ।’ 

त्यस्तै, कार्यक्रममा नेविसंघका पूर्व केन्द्रिय सदस्य मोतिलाल भण्डारीले पनि शुल्कवृद्धिको विरोध गरे । 

भण्डारीले कुन कलेजले कति शुल्क वृद्धि गरेको छ भनेर तथ्यांक नै सार्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा बढि शुल्क लिने कलेजमा ग्लोबल कलेज र के.एम.सी कलेज रहेका छन् । उनले चर्को शुल्क लिने विभिन्न २० वटा कलेजको नाम र उनीहरुले लिने गरेको शुल्कसमेत सार्वजनिक गरेका थिए । 

कार्यक्रममा नेविसंघका पूर्व केन्द्रिय उपाध्यक्ष क्षितिज भण्डारीले सरकारले प्राविधिक शिक्षा तथा तालिमसम्बन्धी अध्यापन गराउने कलेजको सम्बन्ध रोकेको भएपनि शिक्षामन्त्रीले गुल्मीलगायतका १२ कलेजलाई चोर बाटोबाट सम्बन्धन दिलाएको आरोप लगाए । 

त्यस्तै उनले नेविसंघले आफ्न्तहरुलाई छात्रवृत्ति दिलाउने विरुद्धमा नीति पारित गरेकोले त्यसलाई कार्यान्वयन गर्नुपर्ने पनि बताए । उनले भने, ‘हामीले चन्दा नउठाउने नीति पारित गरेका छौं । यसलाई सशक्त रुपमा कार्यान्वयन गर्नुपर्छ । त्यस्तै, विश्वविद्यालयका उपकलुतिहरुलगायतका पदमा राजनीतिक नियुक्ती गर्नुहुँदैन ।’ 

त्यस्तै, कार्यक्रमका सभापति समेत रहेका नेविसंघका पूर्व कार्यवाहक अध्यक्ष एवम् कांग्रेस महासमिति सदस्य मनहरी श्रेष्ठले अभिभावककहरुको ढाड सेक्नेगरि गरिएको अवैज्ञानिक शुल्कवृद्धि तत्काल खारेज गर्नुपर्ने माग गरे । 

उनले वर्तमान सरकारले जनतालाई राहत हुनेखालको काम नै गर्न नसकेको पनि आरोप लगाए । सरकार एकपछि अर्को गर्दै विभिन्न काण्डमा फसेको पनि उनले सुनाए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *