चन्द समूहलाई वार्तामा ल्याउन नेकपामा दौडधुप

काठमाडौं, ३ साउन । सत्तारूढ दल नेकपाका नेताहरू नेत्रविक्रम चन्द समूहलाई वार्तामा ल्याउन दौडधुपमा लागेका छन् । सरकारले औपचारिक वार्ता टोली बनाउनभन्दा विभिन्न सम्पर्क सूत्र प्रयोग गरेर छलफल थालेको चन्द समूहका एक स्थायी कमिटी सदस्यले बताए । यो खबर आजको कान्तिपुर दैनिकमा दीपेन्द्र विष्टले लेखेका छन् । 

‘विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले आफूनिकट नेतालाई वार्ताका लागि पठाएका छन्’ ती सदस्यले भने । वार्ताका लागि औपचारिक पत्र नपठाई अनौपचारिक रूपमा मात्र कुरा गर्न खोजेको विषयलाई चन्द समूहले प्रलोभनमा पार्ने सरकारको रणनीतिका रूपमा लिएको छ । 

 

null

‘वार्ता गर्नेभन्दा नेतालाई प्रलोभन पार्ने काम भइरहेको छ, सत्तापक्षका साथीहरूले विभिन्न प्रलोभन देखाइरहेका छन्,’ ती स्थायी कमिटी सदस्यले भने, ‘वार्ताको कुरा गरेर गलाउने रणनीति जस्तो देखिन्छ । नागरिक समाज, सञ्चारकर्मी, सर्वसाधारण र राजनीतिक दलले वार्ता बस्दा राम्रो हुन्छ भन्ने सुझाव दिएपछि चन्द समूहले सरकारले पत्र पठाए वार्ता बस्ने निर्णय गरेको थियो । 

यसअघि सरकारले चन्द समूहलाई वार्ताका लागि पत्र पठाएको भनेर हल्ला मात्र गरेको उनको आरोप छ । ‘पहिले पनि सरकारले पत्र पठायौं भनेर हल्ला गर्‍यो, हामी वार्ताविरोधी जस्तो देखियौं,’ चन्द समूहका ती नेताले भने, ‘ठीक छ, अब वार्तामा बसौं भनेर निर्णय गरियो । सरकारचाहिँ पत्र नपठाउने, पद दिने प्रलोभन देखाउन लागेको छ ।’ 

सरकारले औपचारिक रूपमा वार्तामा बोलाए त्यसका लागि कसरी जाने भन्ने सामान्य खाकासमेत चन्द समूहले बनाइसकेको ती नेताले जानकारी दिए । कसको नेतृत्वमा वार्ता टोली बनाइएको छ भन्नेचाहिँ उनले खुलाएनन् । ‘सरकारी पक्ष औपचारिक रूपमा आए मात्रै त्यो सार्वजनिक हुन्छ’ उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *