बाढीपीडितलाई कांग्रेस सांसदहरुले एक महिनाको तलब सहयोग गर्ने

 

असार २८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बाढी, पहिरो पीडितलाई आफ्नो दलका सांसदहरुले एक महिनाको तलब सहयोग गर्ने बताएका छन् । 

शनिबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले यस्तो बताएका हुन् । 

null

उनले भने, ‘हाम्रो पार्टीको केन्द्रिय कार्यसमिति बैठक जारी छ । हामी हात फुकाएर सहयोग गर्छौं । राहत तथा उद्धारको लागि हाम्रो पार्टीको पूरै नेटवर्क परिचालन गर्छौं ।’ 

पौडेलले अहिले सार्वजनिक भएको जनधनको क्षतिको विवरण बाहिर आएजति मात्रै नभएर त्यो भन्दा अझै धेरै संख्या रहेको सुनाए । 

सरकारले बाढी तथा पहिरो प्रभावितलाई तत्काल राहतको कार्यक्रम ल्याएर सम्बोधन गर्नुपर्नेमा त्यसमा ढिलाइ भइरहेको उनको गुनासो छ । उनले भने, ‘पीडितको राहतको लागि सरकारले ठोस ढंगबाट राहतका कार्यक्रम ल्याउनुपर्छ । ढिलो भइसक्यो । २० दिनपछि राहत दिएर हुँदैन ।’ 

पीडितहरुको उद्धार तथा राहतमा सबैले स्वयमसेवी ढंगबाट परिचालित हुन आवश्यक रहेको पनि पौडेलको भनाइ छ । उनले भने, ‘हामीले नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरिसकेका छौँ । हामीले आफ्नो संगठनात्मक क्षमता अनुसार परिचालन गरिरहेका छौँ । कसरी जाने भन्ने विषयमा पार्टीभित्र अहिले पनि छलफल जारी छ ।’ 

उनले असार, साउनमा त सधैं बाढि, पहिरोको जोखिम र खतरा रहेको जान्दाजान्दैपनि सरकार यसप्रति गम्भिर नभएको आरोप लगाए । उनले थपे, ‘असार र साउनमा बाढी र पहिरो आउँछ भन्ने कुरा त सरकारलाई थाहा छ नि, तर पनि यसको व्यवस्थापनमा हामी किन लाग्दैनौं । दिर्घकालीन रुपमा यसको समाधान खोज्नुपर्छ । यसको लागि जोखिमपूर्ण वस्ती राम्रो ठाउँमा सार्नुपर्छ । जनताको पक्षमा जोसुकै सँगपनि कुरा गर्न आँट हुनुपर्छ ।’ 

यसअघिका सरकारले त बाढी, पहिरो व्यवस्थापनमा ठोस कदम चाल्न नसकेपनि अहिलेको दुई तिहाई बहुमतको सरकारले पनि दिर्घकालीन योजना बनाएर व्यवस्थापन गर्न नसकेको उनको गुनासो छ । 

उनले भने, ‘पूर्वाधारमा के के गर्नुपर्छ, तटबन्ध निर्माण गर्नुपर्ने हो कि, वा अन्य आवश्यक के के गर्नुपर्ने हो, त्यो सबै गर्नुपर्छ । यसमा ढिलाई गर्नुहुँदैन ।’ 

फरक प्रसंगमा उनले वर्तमान सरकारले अत्यधिक धेरै गलत काम गरेको आरोप लगाए । उनले भने, ‘यो सरकार अहिले नांगिएर प्रस्तुत भएको छ । प्रधानमन्त्रीलाई महत्वपूर्ण कुरै थाहा हुँदैन, अनि सार्वजनिक रुपमा माफी माग्नुहुन्छ । खुलेआम भ्रष्टाचार भएको छ । कतिसम्म भने भ्रष्टाचारीलाई यही सरकारले संरक्षण गरेको छ ।’ 

सरकारका गलत कामकारबाहीबारे कांग्रेसले राजपा नेपालसँग सहकार्य गर्ने पनि उनले विश्वास दिलाए । ‘हामीले सरकारका गलत कामहरुको खवरदारी गरिरहेका छौँ’, उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *