‘प्रधानमन्त्री बालुवाटारमा असुरक्षित भए भद्रकालीको सैनिक मुख्यालयमा गएर बसे हुन्छ’

 

काठमाडौं, ३ साउन । नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने बेला आइसकेको बताएका छन् । 

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै गजुरेलले यस्तो बताएका हुन् । 

null

उनले सरकार र विप्लबीचको वार्तालाई लिएर नेपाली जनता अहिले असाध्यै द्धिविधमा रहेको पनि टिप्पणी गरे । उनले भने, ‘पछिल्लो समय सरकार र विप्लव समूहबीच वार्ता चलिरहेको हल्ला छ । दुवै पक्षबाट वार्तालाई लिएर वक्तव्यहरु आएका छन् । तर, जनता भने पुरै कन्फ्युजनमा छन् । साँच्चै वार्ता होला त भनेर ?’ 

उनले भीडन्तहरु हुँदै गए देश आन्तरिक गृहयुद्धमा रुपान्तरण हुने खतरा पनि औंल्याए । उनले भने, ‘अहिलेको परिस्थिति ल्याउनको लागि ओलीजीको सरकार जिम्मेवार छ । प्रतिबन्ध लगाउनु नै हुँदैन थियो । संविधानमा पनि यो कुरा निषेध गरिएको छ ।’ 

एनसेलको मुख्यालयमा भएको प्रेसर कुकर बमकाण्डलाई लिएर सरकारले विप्लवमाथि प्रतिबन्ध लगाएको उनले सुनाए । उनले भने, ‘घट्ना हुनु दुःखद् हो । त्यस घट्नामा संलग्न दोषीलाई बरु अदालती कारबाही गरेको भए हुन्थ्यो ।’ 

उनले सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई असुरक्षा भएको भए थप सुरक्षाकर्मी राखे हुन्छ भन्ने अभिव्यक्ति पनि दिए । उनले भने, ‘बालुवाटारको हेडक्वार्टरमा असुरक्षित भए ओलीजी भद्रकालीमा रहेको मिलिटरी हेडक्वार्टरमा गएर बसे भैगयो नि । तर, पार्टीमाथि प्रतिबन्ध लगाउने काम गर्नुहुँदैन । यो गलत छ ।’ 

गजुरेलले सरकारले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण कार्यक्रम गर्न समेत बन्देज लगाएकोमा आक्रोश पोखे । उनले भने, ‘सरकारले शान्तिपूर्ण कार्यक्रम पनि गर्न दिएन । विप्लवजीहरुसँग कि त राजनीति छोड्नुपर्ने विकल्प हुन्छ कि त भूमिगत हुनुपर्ने । होईन भने बादलहरुजस्तै आत्मसमर्पण गर्नुपर्ने थियो । तर, राजनीति गर्नेले त्यसो गर्दैन । भूमिगत भएर पनि राजनीति सञ्चालन गर्नुपर्छ ।’ 

अहिले सरकारले फेक ईन्काउन्टरको नाममा निहथ्था नागरिकको हत्या गर्ने काम गरेको पनि गजुरेलको आरोप छ । 

सरकारले सुरुमै जनतालाई महँगी उपहार दिएको पनि उनले आरोप लगाए । उनले भने, ‘त्यतिमात्रै होइन, तीन तहमा कर बढायो । अब त जन्मिन पनि डर लाग्न थाल्यो । र, मर्नपनि डराउनुपर्ने भयो । जन्मेदेखि मृत्युसम्म कर तिर्नुपर्ने भयो ।’ 

त्यस्तै, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको पनि उनले आरोप लगाए । उनले थपे,‘साँढे तेत्तिस केजी सुन प्रकरणमा पनि यो सरकारले अहिलेसम्म एकजनालाई पनि कारवाही गर्न सकेन । अहिले त जनताले त्यो सुन गृहमन्त्रीसँग छ भन्नेखालको अनुमान गर्न थालिसकेका छन् ।’ 

त्यस्तै, यो सरकार आएपछिमात्रै देशमा भू–माफीयाहरु सलबलाएको र देशका महत्वपूर्ण ठाउँका जग्गाहरु निजीकरण गर्ने काम भएको उनको टिप्पणी छ । 

‘प्रधानमन्त्री बस्ने निवासको जग्गा नै व्यक्तिको नाममा बनाईसकेछन् । पशुपतिनाथको साँढे सत्र सय रोपनी जग्गा पनि व्यक्तिको नाममा बनाउने काम भएको छ । तर, सरकार बेखबर छ । हुँदाहुँदै सिंहदरबार पनि माफीयाहरुले आफ्नो नाममा बनाईसके । यस्तो काम त यसअघि कहिल्यैपनि भएको थिएन् । भूमाफीया गर्ने काममा नेकपाका शक्तिशाली नेताको संलग्नता छ । सम्पूर्ण परिपत्र मिलाउने काम उनले नै गरेको खुल्न आएको छ ।तर, दोषीहरु अहिलेसम्म कोहीपनि कारबाहीमा आएनन्’, उनले भने । 

उनले उक्त प्रकरणमा प्रधानमन्त्री ओलीले कसैको दबाबमा परेर आफूहरुले विषादी परीक्षण स्थगित नगरेको भनेर दाबाका साथ सार्वजनिक रुपमा बोलेपनि त्यसको तीन दिनपछि माफी मागेको सुनाए । उनले थपे,‘प्रधानमन्त्रीले पछि माफी माग्नुभयो । उहाँले मलाई त मन्त्रीले झुक्याए । सचिवले झुक्याए भन्नुभयो । यदि झुक्याएकै भए किन कारबाही गर्नुभएन त ? उहाँलाई झुक्याउने कर्मचारीलाई किन खारेज गर्नुभएन त ?’ 

उनले तीन चौथाई बहुमत भएपनि यो सरकार यही पाराले अब नटिक्ने चेतावनी दिए । उनले थपे,‘किनकी यो सरकार फाँसीवादी चरित्रमा अघि बढिरहेको छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *