गृहमन्त्रीले हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरे
श्रवण २, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री थापाले १५६ हजयात्रीलाई बिदाइ गरेका हुन् ।
बिहीबार पहिलो चरणमा उनीहरु हज गर्नका लागि त्यसतर्फ जान लागेका हुन् । सो अवसरमा मन्त्री थापाले धर्मनिरपेक्ष मुलुक नेपालले सबै धर्मलाई सम्मान गर्ने भएकाले मुस्लिम समुदायलाई पनि हज गर्नका लागि मक्कामदिना पठाइएको बताए । उनले मक्कामदिनामा गएर हजयात्रीले नेपालको समृद्धिका लागि प्रार्थना गर्ने समेत बताए ।
null
हज गर्न जानेले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि बिस्तार गर्ने उनको भनाई छ । हजयात्रीलाई बिदाइ गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईसमेत पुगेका थिए ।
नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले सरकारको व्यवस्थापनमा विगत आठ वर्षदेखि हज गर्नका लागि मक्कामदिना पठाउने गरेको बताए ।
उनका अनुसार यस वर्ष करिब एक हजार २६० जना हज गर्नका लागि मक्कामदिना जानेछन् । मुस्लिम समुदायको पवित्र तिर्थस्थलको रूपमा रहेको मक्कामदिनामा विश्वभरका लाखौँ मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्दछन् । रासस