पाकिस्तानमा आत्मघाती आक्रमणमा परी सात जनाको मृत्यु

 

साउन ५, पेशावर ।  पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको मृत्यु भएको छ । 

स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँच चौकीमा तालिवानी बन्दुकधारीले आइतबार बिहान ७.४५ बजे आक्रमण गर्दा दुई प्रहरीको ज्यान गएको थियो । सोही आक्रमणका क्रममा केही प्रहरी र सर्वसाधारण समेत घाइते भएका थिए । 

null

मृतक र घाइतेको उपचारका लागि स्थानीय अस्पतालमा राखिएकोमा त्यहाँ तालिबान समूहमा आबद्ध एक आत्मघाती महिलाले बम बिस्फोट गराउँदा अरु दुई जना प्रहरी र तीन सर्वसाधारणको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुबै आक्रमणको जिम्मेवारी पाकिस्तानमा सक्रिय तालिबान समूहले लिएको छ । 

जिल्ला प्रहरी प्रमुख सलिम रियाजले तालिबानको आक्रमणमा ज्यान गुमाएका दुई प्रहरीको शव अस्पतालबाट बाहिर निकाल्ने क्रममा अस्पतालको प्रवेशद्वारमा अर्को आत्मघाती बिस्फोट गराइएको बताए । उनले भने– करिब २८ वर्षकी आत्मघाती महिला खाली खुट्टामा अस्पताल परिसरमा आएकी थिइन् । 

घाइतेहरुमा आठ जना प्रहरी र पाँच जना सर्वसाधारण रहेका छन् । तेहरिक–ए–तालिबान पाकिस्तानका प्रवक्ता मुहम्मद खुरासानीले स्थानीय सञ्चारमाध्यममा एक वक्तव्य पठाई घटनाको जिम्मेवारी लिएका छन् । प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ । 

पछिल्ला वर्षमा पाकिस्तानको सुरक्षा व्यवस्थामा उल्लेखनीय सुधार आएको छ, तर साना स्तरका आक्रमणहरु भने जारी छन् । यी आक्रमणहरु प्रायः उत्तरपश्चिमी तथा अफगानिस्तानसँग सीमा जोडिएका आदिवासी इलाकाहरुमा हुने गरेका छन्  । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *