प्रधानमन्त्रीलाई नेविसंघले पठायो विषाक्त तरकारी उपहार

 

असार २४, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषादीयुक्त तरकारी र फलफुल उपहार पठाएको छ । 

मंगलबार नेविसंघले काठमाडौं जिल्ला प्रशासन कार्यालय मार्फत प्रम ओलीलाई भारतबाट आयातित विषादी परीक्षण नगरिएको तरकारी र फलफुल उपहार ज्ञापनपत्र बुझाएकाे हाे । 

null

भारतबाट नेपालमा आयातित तरकारी तथा फलफूलमा अत्यधिक मात्रामा बिषादी मिसाइएको पाइएपछि नेपाल सरकारले सीमा नाकामा विषादी परिक्षण गर्ने निर्णय गरेको थियो । 

 

सरकारले २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति समेत ल्याएको थियो । 

तर, भारतले गम्भीर चासो व्यक्त गर्दै नेपाल सरकारलाई निर्णय फिर्ता लिन दबाब दिएपछि यो निर्णयबाट सरकार पछि हटेको थियो । 

भारतसामु झुकेर जनतालाई विष खुवाएको भन्दै यसको विरोधमा नेविसंघले यसअघि पनि तरकारी र फलफुलको माला लगाएर प्रदर्शन गरेको थियो । 

 

यसविरुद्ध नेविसंघले चरणबद्ध आन्दोलनको घोषणा समेत गरिसकेको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत नेविसंघले सोमबार देशभरका क्याम्पस अगाडि विषाक्त तरकारी तथा फलफूल प्रदर्शन गरेको थियो भने आज प्रम ओलीलाई विषाक्त तरकारी उपहार पठाएको हो । 

त्यस्तै असार २५ गते विषाक्त तरकारी, फलफूल बहिष्कार कार्यक्रम तथा प्रचार–प्रसार र पर्चा वितरण गर्ने, २६ गते मसाल जुलुस र असार २७ गते माइतीघरमा बृहत प्रदर्शन तथा सभाको आयोजना गर्ने विज्ञप्तिमा उल्लेख छ। 

यद्यपी सरकारले भने भारतसामु झुकेको नभइ पूर्वाधार नपुगेका कारण विषादी परीक्षण रोक्नुपरेको दाबी गर्दै आएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *