हङकङमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप, अश्रु ग्यास तथा रबरका गोली प्रहार

एजेन्सी । हङकङमा प्रहरी र प्रजातन्त्र समर्थक प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको छ । आन्दोलनकारीहरु चिनियाँ सरकारी कार्यालय नजिकै पुग्‍न थालेपछि प्रहरीले अश्रु ग्यास तथा रबरका गोली प्रहार गरेको थियो । साइ वान र कजवे बे अफ हङकङ आइल्यान्डका दशौं हजार प्रदर्शनकारीहरु सडकमा उर्लिएका थिए । आइतबार प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले सुरक्षाका लागि हेल्मेट लगाएका थिए भने स्वतन्त्र हङकङ (फ्रि हङकङ) को नारा लगाउँदै अघि बढेका थिए । 

प्रहरी अधिकारीहरु जम्मा भएको मध्य व्यापारिक केन्द्रबाट सुरु भएको प्रदर्शन  प्रहरीलाई बेवास्ता गर्दै पश्मिम क्षेत्र साइवानमा रहेको चिनियाँ लियाजो कार्यालय र पूर्वतिर कजवे बेस्थित व्यापारिक केन्द्रतिर अघि बढेको थियो । सयौंको संख्यामा रहेका प्रहरीले प्रदर्शनकारीलाई रोकेका थिए ।  हङकङमा विगत आठ सातादेखि निरन्तर प्रजातन्त्र समर्थकहरुले सरकारविरुद्ध विरोध प्रदर्शन गरिरहेका छन् ।प्रदर्शनकारीहरुले चिनियाँ लियाजो कार्यालयका भित्तामा चित्र कोर्ने र पेन्ट फ्याँक्ने योजना बनाएका थिए । चिनियाँ अधिकारीले भने उनीहरुले यस्तो गर्नु बेइजिङलाई नै चुनौती दिनु सरह हो र जुन बेइजिङलाई सैह्य हुँदैन भनेका छन् । साइवान विश्वकै सुरक्षित सहरको रुपमा सूचीकृत थियो । तर, पछिल्ला आन्दोलनका क्रममा यहाँ हिंसात्मक झडप हुने, प्रहरीद्वारा दमन, केही भूमिगत समूहले अन्धाधुन्द आक्रमण गर्ने क्रम बढेको छ । पहिलो पटक अप्रित ३ देखि सुरु भएको प्रदर्शन आठौं सातासम्म पनि जारी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *