शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु, चारजना शिक्षक पक्राउ

 

असार २५, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ । 

गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले जानकारी दिए । 

null

“यसअघि सो घटनाबारे विद्यार्थीका अभिभावकका तर्फबाट चार शिक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी आएको थियो”, प्रहरी निरीक्षक भट्टले भने, “त्यो बेला अभिभावक र शिक्षकबीच पहिले घाइतेको उपचार गराउने सहमति भएको थियो ।” 

प्रहरीले सुरक्षा र घटनाबारे अनुसन्धानका लागि भन्दै विद्यालयका प्रधानाध्यापकसहित चार शिक्षकलाई मङ्गलबार राति नै नियन्त्रणमा लिएको जनाएको छ । 

“शव भारतबाट आइसकेपछि परीक्षण लगायतका प्रक्रिया अघि बढ्छ”, भट्टले भने, “पीडित पक्षको जाहेरीका आधारमा कारवाही अघि बढ्छ ।” प्रहरीले प्रधानाध्यापक यशोदा जोशी तथा शिक्षक लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्रीलाई नियन्त्रणमा लिएको छ । 

मृतक विद्यार्थीका अभिभावकले भने प्रधानाध्यापक सहित चारै शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप लगाएका छन् । कुटपिटबाट विद्यार्थीको छाती, टाउकोमा चोट लाग्नुका साथै दायाँ खुट्टा भाँचिएको थियो । रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *