‘दैनिक १० जना भ्रष्टचारीले आत्महत्या गरेको सुन्न पाइयोस्’

 

साउन १४, काठमाडौं । सत्तारुढ दल नेकपाका सांसद झपट रावलले कसैलाई विना प्रमाण भ्रष्टाचारको आरोप लगाउन नहुने बताएका छन् । 

मंगलबार संघीय संसदको राज्य तथा सुशासन समितिमा नेता रावलले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व नायब सुब्बा युक्तप्रसाद श्रेष्ठको आत्महत्याबारे निस्किएको प्रसंगमा आफ्नो धारणा राख्दै विना आधार–प्रमाण निर्दोष व्यक्तिलाई भ्रष्टाचारको आरोप लगाउन नहुने बताएका हुन् । 

null

बैठकमा उनले भने, ‘विना आधार–प्रमाण कुनैपनि निर्दोष व्यक्तिमाथि भ्रष्टाचारको आरोप नलगाइयोस् । कोही पनि निर्दोष व्यक्तिले विनाकारण मृत्युवरण गर्नु नपरोस् । तर यदी कसैले भ्रष्टाचार गरेको छ भने त्यस्ता भ्रष्टाचारीहरुले मर्नु पर्छ । दैनिक १० जना भ्रष्टचारीले आत्महत्या गरेको सुन्न पाइयोस् । या अन्य कारणबाट मरेको समाचार बाहिर आओस् ।’ 

पर्वत कांग्रेसका नेता समेत रहेका पूर्व नायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आइतबार (साउन १२ गते) माछापोखरीस्थित सपिङ मलको ८ औँ तलाबाट हाम फालेर आत्महत्या गरेका थिए । 

प्रधानमन्त्री निवासको सरकारी जग्गा सत्ता, शक्ति र पदको दुरुपयोग गरी निजी बनाउने कार्यमा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि छानविन गरिरहेको थियो । श्रेष्ठमाथि मालपोत कार्यालयमा रहँदा भू–माफियासँग मिलेर काम गरेको अख्तियारको आरोप छ । 

बैठकमा सोही प्रसंगमा नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले श्रेष्ठको मृत्यु शंकास्पद रहेको बताए । ९० केजीको मानिस ८ तलाबाट खस्दा रगत किन आएन ? भन्दै उनले समितिमा प्रश्न गरे । 

‘श्रेष्ठको मृत्यु शंकास्पद छ । आत्महत्या हो या हत्या यसबारे छानविन हुनुपर्छ । ललिता निवास प्रकरण लुकाउनका लागि कसैले उनको हत्या गरेको पनि हुन सक्छ । यसको सत्यतथ्य बाहिर ल्याउनुपर्छ’, उनले भने । कंडेलको प्रश्नको जवाफमा बोल्दै रावलले दैनिक १० जना भ्रष्टचारी आत्महत्या गरेको सुन्न पाइयोस् भन्ने धारणा राखेका हुन् । 

त्यस्तै नेमकिपाका सांसद प्रेम सुवालले गम्भीर आपराधिक प्रवृतिका घटनाहरु बढ्दै गएको भन्दै यस्ता अपराधमा दोषी ठहर भएकालाई मृत्युदण्डको सजाय दिने कानुन बनाउनु सांसदहरुको ध्यानाकर्षण गराएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *