संसदमा सांसद पोखरेलले भने– गोन्द्राङ ढाट हटाऔँ
असार २२, चितवन । चितवन गोन्द्राङ स्थित सडक प्रयोग संकलन दस्तुर केन्द्र (ढाट) को विषयले संसदमा प्रवेश पाएको छ । ढाटकै कारण पूर्वी चितवनलाई विभाजन गरेको भन्दै यसलाई त्यस ठाँउबाट स्थानान्तरण गर्नुपर्ने संसदमा आवाज उठेको हो ।
प्रतिनिधी सभाको आइतबार बसेको बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका सांसद एवंम् संसदको कानुन, न्याय तथा मानव अधिकार समितिको सभापति कृष्णभक्त पोखरेलले गोन्द्राङमा रहेको ढाट सार्नुपर्ने बताए ।
null
गोन्द्राङमा रहेको ढाट चितवन र मकवानपुरको सिमाना लोथरमा सार्नुपर्ने सांसद पोखरेलले माग गरे ।
एउटै जिल्ला भएर पनि पूर्वी चितवनवासीले भरतपुर आवतजावत गर्दा कर तिर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै चितवनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पोखरेलले जिल्लाको बीच भागमा रहेको सो ढाट हटाउनु पर्नेमा जोड दिए ।
राजमार्गमा ढाट राख्नुको साटो अन्य विकल्प ल्याउनुपर्ने उनको भनाइ छ ।
स्थानीय स्तरमा गोन्द्राङ ढाट हटाउने भनेर सर्वपक्षिय बैठकले पटक पटक निर्णय गरिसकेको छ । तर औपचारिक रुपमा पहिलो पटक यो विषय केन्द्रीय तहमा पुगेको हो ।
गोन्द्राङ ढाटकै विषयलाई लिएर जेठ ३ गते भएको आगजनीमा परि प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भएकी थिईन् । उनी केही दिनअघि मात्रै उपचार पछि फर्किएकी छिन् । तर सो घटनाका मुख्य अभियुक्तलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।
असार १७ गतेदेखि सडक प्रयोग वापत गोन्द्राङ ढाटमा बस, ट्रक लगायत ठुला गाडीले रु १००, जीप, भ्यान लगायत हलुका सवारीले रु ४० र तीन पाङ्ग्रे सवारी, मोटरसाईकलले रु १० तिर्दै आएका छन् ।
यसअघि सडक प्रयोग गरेवापत ठुला सवारीले ४० रुपैयाँ, सानाले ३० र मोटरसाईकलले ५ रुपैयाँ तिर्दै आएका थिए ।