रत्ननगरमा बन्न नसकेको नमुना फोर लेन सडकः लगानी ठुलो, काम कमजोर

 

साउन १०, चितवन । चितवनकै नमुनाको रुपमा सडक विस्तार गर्ने योजनासहित पूर्व पश्चिम राजमार्ग अन्र्तगत रत्ननगरमा सडक निर्माणको कार्य सुरु भयो । श्रेष्ठ कन्ट्रक्सन प्रालिसँग २०७२ माघमा सडक निर्माणका लागि सम्झौता भएको थियो । 

१९ करोड ७० लाखमा रत्ननगरको लौरीघोलदेखि निपनीसम्म २ किलोमिटर, ३०० मिटर सडक फोर लेन बनाउने सम्झौता भएको हो । सम्झौता त भयो तर अझैसम्म निर्माण कार्य सकिएको त छैन नै निर्माण भएको मुख्य पिच पनि एक वर्ष नबित्दै भत्किएर ठुला–ठुला खाल्डाखुल्डी परेको छ । 

null

पछिल्लो समय पटक पटक म्याद थप गरे पनि निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्ट्रक्सन प्रालि र सडक डिभिजन कार्यालयको चरम लापरवाहीका कारण समस्या उत्पन्न भएको छ । सडक डिभिजन कार्यालयले दिएको डिजाईन अनुसार नै सडक निर्माण गरेको प्रालिले दाबी गर्दै आएको छ । 

काम चित्त बुझ्दो नहुनु, समयमै काम नसक्ने लगायतको कारण देखाउँदै सडक डिभिजन कार्यालयले श्रेष्ठ कम्पनीको ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाइसकेको छ । श्रेष्ठ कम्पनीले मुख्य बाटो पिच गर्ने, बीचमा डिभाईडर बनाउने र टाँडी क्षेत्र र सौराहा चोक क्षेत्र सर्भिसलेन र फुटपाथको काम गरेपनि काम अपुरो छ । 

सडकको उत्तरतर्फ भने लौरीघोलदेखि निपनीसम्मै सर्भिस लेन बनाइएको छ । तर दक्षिणतर्फ एक मिटर पनि छोएको छैन । पीच भएको प्रमुख सडकको हालत एक वर्ष नबित्दै २ किलोमिटर क्षेत्रको धेरै ठाउँमा साना गाडीहरु डुब्ने खाल्डो नै परेको छ । सडकको दयनिय अवस्थाले अहिले स्थानीय जनप्रतिनिधीहरु आलोचनाको पात्र बन्न पुगेका छन् । 

 

मेयर नारायण वनले रत्ननगर नगरपालिकाको मुल गेट अगाडीसहित धेरै ठाउँमा सडक बिग्रिँदा आफुहरुले बदनाम खेप्नु परेको बताएका छन् । सडक डिभिजन कार्यालयले निर्माण कम्पनीसँग एक्सन लिन नसक्दा यो सडक एक वर्षमै बिग्रिएको उल्लेख गर्दै कार्यालयसँग मेयर वनले आक्रोश समेत पोखे । 

सडक मर्मतका लागि रत्ननगर नगरपालिकाले सडक डिभिजन कार्यालयलाई बिहीबार पत्राचार गरेको थियो । शुक्रबार सडक डिभिजन कार्यालयको प्राविधिक टोलीले सडकको अनुगमन गरेको छ । अनुगमनका क्रममा मेयर वनले सडकका कारण जनप्रतिनिधिले बदनामी खेप्नु परेको भन्दै प्राविधिकलाई एक साताभित्र बिग्रिएको सडक मर्मत गरिसक्न निर्देशन दिए । 

‘सडक हाम्रो क्षेत्रभित्र पर्दैन, क्षेत्राधिकारभित्र हात हाले मुद्दा खेप्नुपर्छ । यो सामान्य नागरिकले बुझेका छन् आफ्नै अगाडीको बाटो बिग्रिएको हेर्न सक्दैनौँ । मर्मतका लागि पहल गरेका छौँ । सडकले अटेर गर्दा दुर्घटनाबाट बचाउन नगरले मर्मत गर्न बाध्य छ । पानी परेका बेला हिलो हुने गरेको छ भने घाम लाग्दा भत्किएको सडकमा धुलो उड्दा यात्रु, यस क्षेत्रका नगरवासीमा समस्या उत्पन्न हुन थालेको छ । सडककै कारण प्रत्येक दिन दुर्घटना बढिरहेका छन्’, मेयर वनले भने । 

 

रत्ननगर उद्योग वाणिज्य संघले पूर्वपश्चिम राजमार्गको रत्ननगर क्षेत्रमा सडकको अवस्था दयनिय भएको प्रति सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराएको छ । तत्काल सडक मर्मतका लागि संघले डिभिजन कार्यालयको ध्यानाकर्षण गराएको हो । 

संघका अध्यक्ष राजाराम रेग्मी नेतृत्वको टोलीले सडक डिभिजन कार्यालयमा पुगि कार्यवहाक कार्यालय प्रमुख गीताञ्जली कोईरालालाई ध्यानाकर्षण पत्र बुझाएको छ । सडक बिग्रदा ठुलो दुर्घटना हुने खतरा बढ्नुका साथै धुलाको कारण व्यवसायलाई प्रत्यक्ष असर गरेको भन्दै तत्काल मर्मत गर्न पत्र बुझाएको हो । 

ध्यानाकर्षण पत्र बुझ्दै इन्जिनियर कोईरालाले मर्मतको काम सुरु भइसकेको बताइन् । पूर्व–पश्चिम राजमार्ग सडक मर्मतको काम भरतपुरबाट सुरु भएकाले रत्ननगर, पर्सा हुँदै लोथरसम्म मर्मत गरिने बताइन् । 

संघका अध्यक्ष राजाराम रेग्मीसहित उपाध्यक्षरु भीमनारायण श्रेष्ठ, शंकर गिरी, सदस्यहरु उपेन्द्र आचार्य र पुरु खनाल डिभिजन कार्यालय पुगेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *