कांग्रेस बैठकः पार्टीको आन्तरिक र राष्ट्रिय कार्यभारमा केन्द्रित

 

                                                                                 फाइल तस्विर  

असार २३, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु भएको छ । हिजोको बैठकमा महामन्त्री डा. शशांक कोइरालाले बैठकका एजेण्डा पेश गरेका छन् । 

null

अर्काे बैठक २७ गते बस्नेछ । बैठक विशेष गरी दुई वटा विषयवस्तुमा केन्द्रीत रहने पार्टी प्रवक्ता शर्माले जानकारी दिए । 

कांग्रेसको जारी बैठकबारे पार्टी प्रवक्ता शर्माको धारणा 

नेपाली कांग्रेस पार्टीको आफ्नै दुई वटा कार्यभार छ । एउटा राष्ट्रिय कार्यभार र अर्को पार्टीको आफ्नै घरेलु कार्यभार । घरेलु अन्तर्गत पार्टीका संरचनालाई पूर्णता दिने, विभागहरु गठन गर्ने, भातृ संगठन सुदृढ गर्ने, जागरण अभियानको पहिलो चरणको समीक्षा गर्ने र दोस्रो चरण अभियानको तयारी गर्ने विषयहरु बैठकमा छलफल हुन्छन् । 

डेढ महिनापछि बसेको बैठकमा यसबीचमा राष्ट्रिय राजनीतिमा के–कस्ता घटनाक्रम भए प्रमुख प्रतिपक्षी दलको नाताले त्यो विषय स्वभाविक रुपमा हाम्रो मुद्दा हुन्छ । २७ गतेको बैठकको पहिलो एजेण्डा भनेको कांग्रेसको नियमावलीको विषय हुन्छ । 

कांग्रेस केन्द्रीय सदस्य एवं नियमावली संशोधनको मस्यौदा समितिका संयोजक रमेश लेखकले नियमावली बैठकमा नियमावली पढेर सुनाउनु हुन्छ । उहाँले बैठकमा मस्यौदा पेश गरेपछि आवश्यक छलफल हुन्छ । त्यसमा साथीहरुको भावना गाँसेर पारित गर्ने काम हुन्छ । 

नियमावली पारित भएपछि नेपाली कांग्रेसले संघीय संरचनाअनुसार निर्माण गर्नुपर्ने संरचनाहरुलाई पूर्णता दिने बाटो खुला हुन्छ । विधानले निर्दिष्ट गरेको व्यवस्था अनुसार नै संरचनाको निर्माण हुन्छ । ती संरचनाहरुलाई पूर्णता दिन नेपाली कांग्रेसको विधानमा जे व्यवस्था छ, त्योभन्दा बाहिर गएर निर्णय हुन सक्दैन । 

सरकारको प्रतिरोध रणनीति बनाउने 

एउटा प्रमुख प्रतिपक्षी दलको रुपमा सरकारको प्रतिरोध रणनीतिका विषय प्राथमिकतामा पर्छन् नै । अहिले खासगरी सत्तारुढ दलमा नेपालको संविधानले भन्दा पनि कम्युनिष्ट दर्शनको शास्त्रीय भड्कावले बढी काम गरेको छ । 

सरकार अलोकतान्त्रिक बन्दै गएको, निषेधको राजनीति गर्दै गरेको र सरकारले दर्जनजति विधेयकहरु लोकतान्त्रिक मूल्य र मान्यताभन्दा बाहिर गएर ल्याउँदै गरेको अवस्था छ । यी विषयहरुमा आम नागरिकको अपेक्षा प्रमुख प्रतिपक्षी दलले सरकारका कमजोरीमाथि खरो ढंगले प्रहार गरोस् भन्ने छ । यही कार्यभारमा रहेर छलफल हुन्छ । योसँगै बैठकमा झण्डै एक दर्जन एजेण्डामा छलफल हुन्छ । 

तदर्थ समिति बन्दैन 

कतिपयले यसलाई कांग्रेसले तदर्थ समिति बनाउन लाग्यो अथवा सभापतिले तदर्थ समिति बनाउन लाग्यो भन्ने रुपमा बुझेका छन् । यो विल्कुल गलत कुरा हो, निराधार हो । अन्तरिम व्यवस्था अनुसार धारा उपधारामा जे छ, त्यही प्रक्रिया अनुसार अघि बढ्ने भन्ने हो । 

मनोनयनको कहीँ कतै कुरै हुँदैन । कुनै ठाउँमा कुनै क्षेत्रमा सहमति हुन सक्ला । तर त्यसलाई केन्द्रले हस्तक्षेप गरेर तोकेर गर्दैन । सर्वसम्मति त हाम्रो पहिलो प्रक्रिया हो । केन्द्रले काठमाडौमा बसेर टिका लगाइदिन लाग्यो भन्ने खालका बाहिर आएका कुराहरु विल्कुल गलत हो । त्यस्तो हुँदैन । 

दोस्रो चरणको अभियानअघि सबै संरचना 

हामीले आगामी भदौदेखि सुरु हुने जागरण अभियानको दोस्रो चरणको कार्यक्रमअघि नै पार्टीका सबै संरचनालाई अन्तरिम स्वरुप दिनेछौँ । ती संरचनालाई निर्वाचनकै माध्यमबाट पूर्णता दिन परे पनि हामीसँग समय अभाव हुँदैन । झण्डैँ ६० दिन अझै बाँकी छ । 

हामीले एक महिनाको बीचमा केन्द्रीय प्रतिनिधि पठाउने, निर्वाचन समितिमार्फत प्रतिनिधि जाने, त्यसपछि पक्रिया प्रारम्भ गर्ने र नेतृत्व चयन गर्ने कुराहरु गर्न सक्छौँ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *