चितवनमा ५६ जनामा डेंगू, भरतपुरमा लामखुट्टे लार्भा नष्ट अभियान सुरु
भदौ १, चितवन। कुनै समय डेंगूको प्रकोप देखिएको चितवनमा १ महिनामा ५६ जनामा डेंगूको सक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा ५६ जनामा यसो संक्रमण देखिएको हो । जसमध्ये ३३ जना विरामी भरतपुर महानगरपालिका भित्रकै छन् ।
एक महिनाको अवधिमा रगत परिक्षण गराएका मध्ये ५६ जनामा डेंगूको पोजिटिभ देखिएको छ । जसमध्ये चितवनका ३९ जना, नवलपरासीका ५ जना, मकवनापुरका २ जना छन् । अन्य जिल्लाका १० जना छन् । २०७३/७४ मा २ हजार ५ सय ६२ जनाको रगत परीक्षणमा ६ सय ८७ जनामा संक्रमण फेला परेको थियो ।
त्यो वर्ष १ जनाको मृत्यु भएको थियो । ०७४/७५ मा १ हजार २ सय ९१ जनाको परीक्षण गर्दा ५९ जनामा पोजिटिभ देखिएको थियो । त्यो वर्ष पनि १ जनाले डेंगूकै कारण ज्यान गुमाएका थिए । गत वर्ष १ हजार ९ सय ५१ जनामा परीक्षण गर्दा ३१ जनामा डेंगू पोजिटिभ देखिएको थियो । २०६७/६८ मा देशभरि ९ सय बढी संक्रमित फेला परेका बेला चितवनमा मात्रै ७ सय ३९ जनामा पोजिटिभ देखिएको थियो । संक्रमित एडिस एजिप्टाई जातको लामखुट्टेले टोकेपछि यो रोग एकबाट अर्कोमा सर्छ ।
यसैबीच भरतपुर महानगरले डेंगूको जोखिम देखिन थालेपछि आइतबारदेखि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । लामखुट्टेको जोखिम बढ्न नदिन लार्भा नष्ट गर्नुपर्ने भएकाले अभियान चलाउन लागिएको हो । भरतपुर वडा नमवर १, २, ३, ४, १०, ११ र १२ मा लार्भा नष्ट अभियान संचालन हुनेछ ।