भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन, यस्ती थिइन सुस्मा स्वराज

एजेन्सी । भारतीय जनता पार्टीकी नेतृ तथा पूर्व विदेशमन्त्री सुष्मा स्वराजको मंगलबार हृदयघातका कारण निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उपचारको क्रममा अल इण्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्समा स्वराजको मंगलबार राति ६७ वर्षको उमेरमा निधन भएको हो। 

मंगलबार साँझ एक्कासी हृदयघात भएपछि उनलाई अस्पताल लगिएको थियो। अस्पतालमा स्वराजका श्रीमान तथा परिवारका सदस्यहरु तथा भाजपाका नेताहरु उपस्थित छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै स्वराजको निधनले भारतीय राजनितीको प्रख्यात च्याप्टरको अन्त्य भएको बताएका छन्। 

 

null

सुष्मा अघिल्लो मोदी सरकारमा विदेश मन्त्री थिइन्। त्यसबेला विदेशमा रहेका भारतीयहरुका लागि उनले गरेका कामहरुको प्रशंशा भएको थियो। 

सुष्माको जन्म १४ फेब्रुअरी १९५२ मा हरियाणामा भएको हो। उनका बुबा हरदेव शर्मा आरएसएसका प्रमुख सदस्य थिए। उनले पञ्जाब विश्वविद्यालयबाट कानुन विषयमा डिग्री हासिल गरेकी थिइन्। १९६३ मा उनले सर्वोच्च अदालतमा वकिलको रुपमा काम थालिन्। त्यही क्रममा २ वर्षपछि उनले साथी वकिल स्वराज कौशलसँग बिहे गरिन्। 

भारतको संकटकालका बेला उनी जनता पार्टीकी सदस्य बनिन्। सन् १९७७ देखि १९८२ सम्म उनी हरियाणा विधानसभाकी सदस्य समेत रहिन्। २५ वर्षमै उनले अंबालामा जित हासिल गरेकी थिइन्। 

१९८०मा भारतीय जनता पार्टी गठन भएसँगै उनी पार्टीसँग आवद्ध भइन्। सन् १९८७ देखि १९९० सम्मका कुनैपनि विधानसभामा उनी छुटिनन्। १९९० मा उनलाई राज्यसभाको सदस्य बनाइयो। 

१९९६ मा उनले दिल्ली संसदीय क्षेत्रबाट चुनाव जितिन्। त्यसले उनलाई १३ दिनको वाजपेयी सरकारमा सुचना तथा प्रसारण मन्त्री बनायो। 

१९९८ मा पुन: दिल्ली संसदीय क्षेत्रबाट चुनाव जितेकी उनी फेरि वाजपेयी सरकारमा दूरसंञ्चार मन्त्रीका साथसाथै सूचना तथा प्रसारणमन्त्रीको पनि जिम्मेवारी पाइन्। यसैबेला उनले भारतीय चलचित्र बजारलाई उद्योगका रुपमा विकास गरिन्। 

अक्टोबर १९९८ मा सुष्मा दिल्लीकी पहिलो मुख्यमन्त्री बनिन्। अर्को महिना विधानसभाबाट राजिनामा दिदैँ उनी राष्ट्रिय राजनितीमा होमिइन्। 

सन् १९९९ मा उनले तत्कालिन कंग्रेसकी अध्यक्ष सोनिया गांधीविरुद्ध कर्नाटक के बेल्लारी निर्वाचन क्षेत्रबाट चुनाव लडिन्। उनले पराजय भोग्नुपर्यो। 

तर २००० मा उनी उत्तरप्रदेशबाट राज्यसभामा पुगिन्। उनलाई सुचना तथा प्रशारण मन्त्रीको जिम्मेवारी दिइयो। यस्तै २००३ मा उनी स्वास्थ्य परिवार कल्याण तथा संसदीय मामिला मन्त्री बनेकी थिइन्। 

२००९ मा उनले विदिशा लोकसभा क्षेत्रबाट चुनाव जितिन्। १५औं लोकसभामा उनी लालकृष्ण आडवानीको स्थानमा विपक्षको नेता चुनिइन्।२०१४ मा मोदी सरकारको जितपछि उनी भारतको पहिलो महिला विदेशमन्त्री बनिन्। 

२०१९ मा भएको आम निर्वाचनमा भाजपाले बहुमतका साथ जितेपनि स्वास्थ्य स्थिति ठिक नभएका कारण उनले कुनैपनि पदमा नबस्ने घोषणा गरेकी थिइन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *