यौन उत्पीडनको शिकार छोरालाई एक आमाले यसरी दिलाइन् न्याय
सोना रोय, बच्चाकी आमा / बीबीसी हिन्दी । भाद्र १०, भारत । १६ अगस्ट २०१९, भारतले स्वतन्त्रता दिवसको उत्सव मनाइरहेकै थियो र त्यही दिन मेरो जीवनकै अविष्मरणीय दिन बन्न गयो ।
मलाई पुणे पुलिस स्टेशनबाट फोन आयो ।
‘म्याम, अभियुक्तलाई दोषी ठहराइएको छ ।’
म केही बेरका लागि स्तब्ध भएँ । सबैकुरा बुझ्न मलाई केही सेकेन्डको समय लाग्यो । यो मेरो छोरालाई न्याय दिलाउने चार वर्षको लामो लडाईंको जीत थियो । मेरो छोरालाई उसको स्कूलका एक पियनले यौन उत्पीडन गरेका थिए ।
यो अप्रिल २०१५ को कुरा हो । मेरो छोरा केही हप्ता अघि मात्रै १३ वर्ष पुगेको थियो । हामीले उसको भर्ना पुणेको एक प्रतिष्ठित बोर्डिङ स्कूलमा गराएका थियौं ।
मलाई आज पनि त्यो पहिलो दिन याद छ जब म उसलाई छोडेर घर फर्किरहेकी थिएँ । सबैकुरा सामान्य नै भइरहेको थियो तर एकदिन मलाई मेरो छोराको एउटा इमेल आउँछ जसमा उसले उसलाई स्कूलका एक पियनले यौन उत्पीडन गर्ने कोसिस गरेको बताउँछ ।
‘मम्मा… यो स्कूलका पियन निकै अचम्मका छन् । तीमध्ये एकले मलाई पछाडिबाट समात्ने कोसिस गरे र आफ्नो हात मेरो पाइन्टभित्र हाले ।’
न्यायको लडाईंः
बोर्डिङ स्कूलमा उसलाई छोडेको चार दिनमात्रै भएको थियो । उसको यस्तो मेसेजले म शिथिल भएँ । अब के गर्ने, मैले सोच्नै सकिनँ ।
त्यति नै बेला उसका पिताले मलाई फोन गरे । छोराले पठाएको त्यो इमेल उनले पनि पढेका थिए । हामीले तुरुन्त आफ्नो घर नवी मुम्बईबाट उसको बोर्डिङ स्कूल जाने निर्णय गर्यौं ।
मैले आफ्नो छोराको स्कूलको इलाकामा भएको पुलिस स्टेशनलाई फोन गरेँ र घटनाबारे जानकारी दिएँ । पुलिस अधिकारी निकै सहयोगी लाग्यो जसले मेरो कुरा निकै धैर्यताका साथ मात्रै सुनेनन्, तुरुन्त विद्यालयमा पनि गए ।
१५ मिनेटभित्र मलाई तिनै पुलिस अधिकारीले फोन गरेर मेरो छोरा आफूहरुसँग सुरक्षित भएको बताए । यो सुनेर मलाई केही राहत महसुस भयो ।
यहाँसम्म कि उनीहरुले मलाई छोरासँग कुरा पनि गराए, तब मैले आनन्दको सास फेरेँ ।
बोर्डिङ स्कूल पुगेपछि हामीले त्यहाँका प्रधानाध्यापकलाई भेट्यौं र उनले मलाई ती व्यक्तिलाई सजायँ दिने बचन दिए । उनी मेरो कुराले रिसाए ।
प्रधानाध्यापकले पहिले नै ती पियनलाई जागिरबाट निकालिसकेका थिए र उनलाई आफ्नो परिवारसहित स्कूल परिसरबाट टाढै बस्न निर्देशन दिइसकेका थिए । सायद उनीहरुले सोचेका थिए कि यो नै सजायको रुपमा पर्याप्त छ तर मभित्रकी आमा सन्तुष्ट थिइनन् ।
म एक यौन अपराधीलाई कसरी छोड्न सक्थेँ ।
स्कूलका प्रधानाध्यापकसँग आफ्नै बाध्यता थियो । उनको स्कूलको प्रतिष्ठा दाउमा लाग्थ्यो र आज म उनको यो दुविधालाई पूर्ण रुपमा बुझ्न सक्छु । मैले स्थानीय पुलिस स्टेशनमा ऊजुरी दर्ता गरेँ । पियनलाई पक्राउ गरियो र त्यहाँबाटै मेरो छोरालाई न्याय दिलाउने लडाईं सुरु भयो जसको अन्त्य चार वर्षपछि भयो ।
आफ्नो छोरासँग कुरा गरेपछि मलाई थाहा भयो कि ती पियनले अन्य केही बच्चामाथि पनि दुर्व्यवहार गरेका थिए । उनीहरुमध्ये केही मेरा छोराका साथी पनि थिए ।
जब मैले छोरालाई उनका साथीहरुले आमाबुवालाई यसबारे किन जानकारी दिएनन् र जानकारी दिइएका आमाबुवाले यसबारे उनीहरुलाई के भन्थे भनेर सोधेँ तब उसको जवाफले म जिल खाएँ । उनीहरुका अभिभावकले यसबारे प्रधानाध्यापकलाई जानकारी दिए लगाए । बच्चाहरुले प्रधानाध्यापकलाई यसबारे जानकारी पनि दिए । तर प्रधानाध्यापकले त्यही गरे जुन उनको लागि उचित हुन्छ । आखिर कोही अभिभावक कसरी चुप लाग्न सक्छन् भनेर म सोचमग्न भएँ । कि मैले नै घटनालाई ठूलो बनाइरहेको त होइन भनेर पनि घोत्लिन थालेँ ।
बच्चाको इमेल पढेपछि जब म उसको विद्यालय गइरहेको थिएँ तब मभित्रको मन उद्वेलित थियो । एकातिर मलाई रिस उठिरहेको थियो अर्कोतिर म असाहय महसुस गरिरहेको थिएँ ।
मलाई लाग्यो कि मैले आफ्नो बच्चालाई रक्षा गर्न सकिनँ । मेरो आँखाबाट आँसु बगिरहेको थियो र त्यो आँसु रिसको थियो ।
छोरा नै त हो….
म यो लडाईंमा नितान्त एक्ली थिएँ । मेरा श्रीमानले अदालतको झण्झटमा किन फस्ने ? बच्चाको पढाई प्रभावित हुनेछ र हामीलाई छुट्टै तनाव हुनेछ भनेर यसबाट पन्छिए । मेरा आफन्तले यौन उत्पीडन छोरा माथि त भएको हो नि छोरीमाथि भएको त होइन, त्यसकारण किन यसलाई ठूलो मुद्दा बनाउछौ भनेर प्रश्न गर्थे ।
तर मलाई थाहा छ कि एउटी आमाको सन्तानप्रति जुन भावना हुन्छ त्यो उनका श्रीमान् वा आफन्तले बुझ्न सक्दैनन् ।
यो घटना अदालतसम्म पुग्न करिब दुई वर्ष लाग्यो र हाम्रो केस सरकारी वकिलले लडिरहेका थिए । अदालतको कारवाही, तारिख र अन्य कानूनी प्रक्रियाबारे बुझ्नका लागि हामीले उनलाई भेट्न जानु पर्दथ्यो ।
चार घण्टाको थकानयुक्त ड्राइभपछि म उनलाई भेट्न पुग्थेँ । म आफूसँगै कान्छो छोरालाई पनि सँगै लिएर जान्थेँ किनभने ऊ निकै सानो थियो र उसलाई म घरमा एक्लै छोड्न सक्दिनथेँ । अत्यधिक गर्मीमा अदालत परिसरमा दिनभरी उभिनु पर्दथ्यो । यो मेरो कान्छो छोराको लागि कुनै यातनाभन्दा कम थिएन, तर हामी दुबैले मिलेर यसलाई व्यवस्थित गर्यौं ।
यो पूरा घटनामा एउटा राम्रो कुरा के थियो भने जुन पुलिस अधिकारीले मेरो छोराको केस हेरिरहेका थिए ती निकै सहयोगी थिए । उनी हरेक सुनुवाईमा हामी भएठाउँ आउँथे नै दिनभरी हामीसँगै बस्थे । ती सज्जनका कारण पुलिस विभागप्रति मेरो विश्वास बढेको छ ।
डिसेम्बर सन् २०१८ मा मेरो छोरालाई बयानका लागि अदालतको कठघरामा बोलाइयो । मलाई यो कस्तो होला भनेर थाहा थिएन किनभने जीवनमा पहिलो पटक म अदालतको कोठामा गएकी थिएँ ।
मेरा लागि यो सबैभन्दा भयानक अनुभव थियो । त्यतिबेला मेरो छोरो १६ वर्षको भइसकेको थियो र दोषी, अपराधी र अभियुक्तले भरिएको अदालतको कोठाभित्रको कठघरामा ऊ उभिनु परेको थियो ।
जब मेरो छोरा अदालतको कोठाभित्र थियो, मलाई बाहिर जान भनियो किनभने न्यायाधीसलाई यो लाग्थ्यो कि आमाको उपस्थितीमा बच्चाको जवाफ प्रभावित हुनेछ । अदालतको कोठाबाहिर उभिएर म भित्र चियाउने कोसिस गरिरहेको थिएँ । मैले भित्र के चलिरहेको छ भनेर खासै सुन्न सकिरहेको थिइनँ तर आफ्नो छोरालाई भित्र शान्त र शालीनताका साथ उभिएको देखेँ ।
म आफ्नो छोराको त्यो अनुहारलाई कहिले पनि बिर्सन सक्दिनँ । ऊ न त डराएको थियो न नै भयभीत दखिन्थ्यो तर उसको अनुहारमा पीडा थियो ।
हामीले बन्द कोठामा पनि सुनुवाईका लागि आवेदन दिन सक्ने रहेछौं तर यसबारे मलाई हाम्रो वकिलले केही बताएनन् ।
दुई घण्टासम्म छोरासँग सोधपुछ भयो र पछि मलाई थाहा भयो कि उसलाई असहज हुने विभिन्न प्रश्न सोधिएका थिए ।
मैले आफ्नो आँसुलाई रोक्न सकिनँ र पहिलो पटक म सबैको अगाडि निकै नराम्रोसँग रोएँ । मैले आफ्नो छोरालाई अँगालो हालेँ र भनेँ, ‘तिमीले यतिधेरै कुरा झेल्नुपर्छ भने अब म यो लडाईं लड्न चाहन्नँ ।’
छोराले मलाई अँगालो हालेर भन्यो, ‘तपाईं फाइटर हो । लडाईं नै नलडी तपाईं कसरी हार मान्न सक्नुहुन्छ ? के हामी यो लडाईंलाई बीचमा नै छोड्न यत्ति टाढा आएका हौ ?’
मलाई मेरी आमाको याद आयो जसले मलाई सधैं महसुस गराउँथिन्, ‘शक्तिशाली आमाले नै शक्तिशाली परिवार बनाउँछिन् ।’
कमजोर आमा बन्नु कुनै विकल्प थिएन । मैले आफैंलाई साहस दिनुपर्यो र लडाईं लड्नका लागि पुनः मैदानमा उत्रिनुपर्यो ।
अब मेरो पालो थियो । मैले बचाउ पक्षका वकिलको प्रश्नको जवाफ दिनु थियो । मैले पनि केही यस्ता प्रश्नबाट गुज्रिुनपर्यो जसले मलाई रिस उठायो । तर आँसुले भरिएको आँखाले मेरो छोराले मलाई हेर्यो र एक मुस्कानसहित मलाई गुड लक भनेर इशारा गर्यो ।
बचाउ पक्षका वकिलले मेरो छोरो पहिलो पटक आफ्नी आमासँग टाढा भएकोले घर फिर्ता हुनका लागि झुटो कहानी बनाइरहेको भनेर पुष्टि गर्न चाहन्थे । उनीहरुले मेरो छोरालाई पनि यस्तै प्रश्न सोधे ।
तर उनले निकै आरामपूर्वक यसको जवाफ दिए, ‘१३ वर्षको उमेरमा धेरैजसो बच्चा ‘यौन शोषण’ भन्ने शब्दबाट अपरिचित हुन्छ र यदि मलाई कुनै बहानाको आवश्यकता परेको भए बिरामी भएको बहाना सबैभन्दा सजिलो हुन्थ्यो ।’
यहाँ मैले भन्नै पर्छ कि हाम्रो मुद्दाको सुनुवाई एक दयालु न्यायाधीसले गरिरहेका थिए जसले हाम्रो कुरा निकै धैर्यतापूर्वक सुने नै बचाउ पक्षका वकिलका नराम्रा प्रश्नमाथि पनि आपत्ति जनाए ।
अन्ततः यो अग्नी परीक्षा यो वर्ष मार्चको अन्त्यमा समाप्त भयो र हामीलाई अन्तिम निर्णयको प्रतिक्षा गर्न भनियो । तर मलाई राम्रोसँग थाहा थियो कि मेरो मुद्दा कमजोर छैन तर मेरो पक्षमा नै निर्णय हुनेछ भनेर म आशावादी थिइनँ त्यसकारण माथिल्लो अदालत जाने बारे पनि योजना बनाइरहेको थिएँ ।
अगस्ट १६ मा अदालतले ती यौन अपराधीलाई तीन वर्षको कठोर कारावासको सजाय सुनायो र पोक्सो एक्ट अनुसार जरिवाना पनि लगाइयो ।
म यो निर्णयले खुसी छु तर मलाई अफसोस छ कि मैले ती थुप्रै बच्चाहरुको मद्दत गर्न सकिनँ जसले यौन दुर्व्यवहार झेलेका छन् । उनीहरुलाई कसैले समर्थन गरेनन्, यहाँसम्म कि उनीहरुका आफ्नै आमा पनि यस्ता मामलाबाट पन्छिए । एजेन्सी