साउदी महिला अब एक्लै विदेश जान पाउने

एजेन्सी । साउदी अरबका महिलाहरू अब पुरूष अभिभावकबिना नै विदेश यात्रा गर्न पाउने भएका छन् । शुक्रबार जारी गरिएको शाही आदेशनुसार २१ वर्ष पुगेका युवतीहरूले पुरुष अभिभावकको सहमतिबिना नै राहदानीका लागि आवेदन दिन पाउने भएका छन् । शाही आदेशपछि साउदी महिलाले जन्म, विवाह र सम्बन्धविच्छेदसमेत स्वतन्त्र रूपमा दर्ता गर्न पाउने जनाइएको छ । राहदानी लिन आवेदन दिन पाउने तथा अभिभावकबिना विदेश घुम्न सक्ने व्यवस्थाको घोषणासँगै साउदी अरबले महिलालाई पुरुषसरहको अधिकारी सुनिश्चित गरिएको बताएको छ । 

यसअघि साउदी अरबका महिलाहरूले राहदानी लिन, विदेश भ्रमण गर्न तथा जन्म, विवाह र सम्बन्धविच्छेदजस्ता व्यक्तिगत घटना दर्ता गर्न पति, पिता वा पुरुष नातेदारको अनुमति आवश्यक पर्थ्यो ।शुक्रबारको शाही घोषणामा रोजगारीसम्बन्धी नियममा समेत परिवर्तन गरिएको उल्लेख छ । पछिल्लो घोषणामा उमेर, लिंग, अशक्तताका आधारमा भेदभावनगरी कामको अधिकारसमेत सुनिश्चित गरिएको अधिकारीहरूले जनाएका छन् । पछिल्लो घोषणाको साउदी महिला तथा अधिकारकर्मीले स्वागत गरेका छन् ।सामाजिक सञ्जाल टीटरमा उनीहरूले शाही घोषणाले आगामी पुस्ता विभेदको छातामुनि बस्नु नपर्ने प्रतिक्रिया जनाएका छन् । पछिल्ला वर्षहरूमा साउदी महिलाहरूले लैंगिक उत्पीडन हुने गरेको दाबी गर्दै पश्चिमा देशमा शरण लिने क्रम बढेसँगै सरकार समाज सुधारका पक्षमा देखिएको छ । गत वर्षको जनवरीमा १८ वर्षीय रहफ मोहम्मद अल–कुनुन साउदीबाट भागेर अस्ट्रेलिया जाने प्रयास गरेको घटनाले अन्तर्राष्ट्रिय चर्चा पाएको थियो । थाइल्यान्डस्थित विमानस्थलको एक होटलबाट समाजिक सञ्जाल टीटरबाटै अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेकी थिइन् ।इस्लाम धर्म परित्याग गरेको घोषणा गरेकी कुनुनले साउदी फर्किए आफ्नो ज्यान जोखिममा पर्ने बताएपछि क्यानडाले शरण दिएको थियो । त्यसैगरी, गत मार्चमा हङकङमा लुकेर मानवीय सहयोगको अपिल गरेका दुई साउदी दिदीबहिनीलाई पनि तस्रो मुलकमा पुनःस्थापित गरिएको थियो । साउदी युवराज मोहम्मद बिन सलमानले आफ्नो मुलुकमा रहेका महिला लक्षित प्रतिबन्धलाई फुकुवा गर्दै गएका छन् । यद्यपि धार्मिक गुरु तथा कट्टरपन्थीहरूले सलमानको समाज सुधार योजनाको कडा विरोध गर्दै आएका छन् ।यसअघि महिलालाई सवारीसाधन चलाउने अनुमतिपत्र प्रदान गर्नका लागि उनले विद्यमान नियम खुकुलो पारेका थिए । त्यसैगरी उनको समाज सुधार योजनाअन्तर्गत महिलालाई रंगशालामा फुटबल हेर्न गत वर्ष अनुमति दिइएको थियो । सलमानले सन् २०१६ मा मुलुकको अर्थतन्त्र रूपान्तरण गर्ने घोषणा गरेका थिए । त्यसयता साउदीमा महिला रोजगारी दर बढेको छ । सलमानले हाल २२ प्रतिशत रहेको महिलाको रोजगारी २०३० सम्ममा ३० प्रतिशत पुर्‍याउने बताइसकेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *