गेर्खुखोलामा राखिएको डाइभर्सन बाढीले बगायो, पासाङल्हामु राजमार्ग अवरुद्ध
भदौ ५, नुवाकोट । पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती सडकखण्डको गेर्खुखोलामा राखिएको डाइभर्सन बगाएको छ । बुधबार राति आएको वर्षाका कारण खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ ।
विदुर नगरपालिका वडा नं १ र १० को सीमामा रहेको गेर्खुखोलाले गत वर्षको वर्षामा पुल भत्काएपछि अस्थायीरूपमा बनाइएको डाइभर्सन बुधबार राति बगाएको हो । डाइभर्सन बगाएपछि यातायात ठप्प भएको विदुर नगरपालिका– १० का वडाध्यक्ष गणेशकुमार नेपालले बताए ।
एक वर्षअघि नै पुल निर्माण थालिए पनि अहिलेसम्म पूरा नहुँदा समस्या आएको जानकार बताउँछन् । गत वर्ष खोलाले पुरानो पुल भत्काएपछि डाइभर्सन राखेर यातायात सञ्चालन हुँदै आएको थियो ।
null
डाइभर्सन बगाएका कारण नुवाकोट, रसुवाको यातायात ठप्प भएको छ । रसुवाबाट काठमाडौँ आउनेजाने सवारीसाधान रोकिएका छन् । रसुवा जानका लागि वैकल्पिक सडक त्रिशूली, तुप्चे, मनकामना पहिरेबेँसी सडक पनि पहिरोले ठाउँठाउँमा अवरुद्ध भएको छ ।