‘काला जादु’ले गर्दा सुष्मा स्वराज, अरुण जेट्लीको मृत्यु भएको हो भनेपछि…

भाद्र १३, भारत । भारतीय जनता पार्टी (भाजपा)ले भोपालकी विवादास्पद सांसद प्रज्ञा ठाकुरलाई अब उप्रान्त सार्वजनिक रुपमा नबोल्न निर्देशन दिएको पार्टीका दुई नेताले जानकारी दिएका छन् ।  

उनलाई पार्टीका नेताहरुले एक्ल्याएको पनि बताइएको छ । उनले विगत केही महिनादेखि आफ्नो बयानका कारण पार्टीलाई लज्जित बनाएका कारण यस्तो निर्णय लिइएको यी दुईले बताएका छन् । 

भाजपा मध्य प्रदेशका अध्यक्ष राकेश सिंहले ४९ वर्षे ठाकुरलाई यदि अर्को विवादास्पद बयान सार्वजनिक भएको खण्डमा उनीविरुद्ध गम्भीर कारवाही हुने चेतावनीसमेत दिएको ती दुई नेताले नाम नबताउने शर्तमा हिन्दुस्तान टाइम्सलाई बताएका छन् । 

उनको पछिल्लो बयानमा ठाकुरले सोमबार भोपालमा आयोजित शोकसभामा विपक्षीले ‘काला जादु’ गरेका कारण भाजपाका शीर्ष नेता – अरुण जेट्ली, सुष्मा स्वराज र बाबुलाल गौर – को मृत्यु भएको बयान दिएपछि उनी विवादमा तानिएकी हुन् । 

‘लोकसभा चुनावका बेला एक सन्तले मलाई विपक्षीले भाजपाविरुद्ध ‘काला जादु’ प्रयोग गर्नसक्ने जसले समग्र पार्टीमा र पार्टीभित्र दत्तचित्त भएर लाग्ने नेताहरुलाई क्षती पुर्याउने बताएका थिए,’ ठाकुरले भनिन् । 

‘भीडमा ती सन्तले भनेको कुरा मैले बिर्सिरहेको थिएँ तर जब मैले पार्टीका शीर्ष नेता सुष्मा जी, जेट्ली जी र बाबुलाल जीको मृत्यु भएको देखेँ तब उनको भविष्यवाणी मिलेको हो कि भन्ने लाग्यो,’ उनले थपिन् । 

‘तपाईंले विश्वास गर्नु हुन्न होला तर सत्य कहिले पनि परिवर्तन हुँदैन,’ उनले भनिन् । 

‘केही हप्ता अघि स्वराजको शोक सभामा ठाकुरले सुष्माको सम्मानमा केही शब्द बोल्नका लागि स्थानीय भाजपा नेतृत्वलाई लेखेर प्रस्ताव दिँदा समेत उनको अनुरोधलाई बेवास्ता गरिएको थियो,’ स्थानीय नेताले भने । 

‘हामीले उनको कुरालाई सोमबारको शोक सभामा पनि बेवास्ता गर्न सकेनौं किनभने बाबुलाल गौर भोपालका नेता हुन् र भापालकै सांसदलाई बोल्न नदिनु सम्भव नै थिएन । उनले प्रत्येक पल्ट बोल्दा केही न केही विवादास्पद बयान दिने गरेको कुरा पार्टीले चाल पाइसकेको थियो,’ एक नेताले भने । 

उनका सहयोगी जेपी शर्माले भने, ‘कसैले साध्वीजीलाई बोल्न रोक्न सक्ला जस्तो लाग्छ तपाईंलाई ?’ 

उनलाई विभिन्न कार्यक्रमको निम्तोसमेत नदिएको भन्ने प्रश्नमा उनले भने, ‘उहाँ बिरामी हुनु भएकोले विभिन्न कार्यक्रममा उपस्थित नहुनु भएको हो । उहाँ निकै छिटो बिरामी पर्नुहुन्छ । कहिलेकाँही कतै बसिराख्दा पनि बिरामी पर्नुहुन्छ । त्यसकारण उहाँ धेरैजसो बाहिर जानुहुँदै,’ शर्माले भने । एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *