राष्ट्रिय वाणिज्य बैंकलाई अर्थमन्त्रीको सुझावः बचतकर्तालाई अन्याय नगराैँ

भदौ ११, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बचतकर्तालाई मारमा नपार्न बैंकहरुलाई सुझाव दिएका छन् ।   

बुधबार राष्ट्रिय वाणिज्य बैंकको डिजिटल प्रविधिबाट एकै पटक १४ शाखा कार्यालयहरुको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले बचतकर्ताहरुलाई अन्याय नगर्न बैंकलाई सुझाव दिएका हुन् । बचतकर्तालाई मारमा पारे एक दिन बैंकहरु एकदमै पीडामा पुग्ने उनको भनाइ छ ।   

‘साढे ५ प्रतिशत बेस रेट तपाईँहरुले राखेपछि त बिचरा हाम्रा निक्षेपकर्ताहरुको त के बेहाल भएको होला भन्ने अनुमान गर्न सकिन्छ । जुनबेला अरु बैंकको औषत ब्याजदर ९, १०, ११ प्रतिशत छ । बेस रेट नै अहिले १० भन्दा अलि तल आएको होला । तपाईँहरु ५ मा हुनुहुन्छ भनेपछि मैँले खुशी मनाउने कि दुःख मनाउने’, कार्यक्रममा उनले भने, ‘नेपाल सरकारको खाता सञ्चालन, दातृ निकायको खाता सञ्चालन, चल्ती खाताको मात्रै कम्पोजिसनको कुरा म केही हदसम्म बुझ्न सक्छु । तर बचत खातालाई अन्याय नगर्नुस् ।’ 

Image result for अर्थमन्त्री युवराज खतिवडा

पहिलेको तुलनामा राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरेको चर्चा गर्दै अर्थमन्त्री खतिवडाले विकट ठाउँमा पनि सेवा दिनु बैंकको सकारात्मक पक्ष रहेको बताए । प्राथमिकता क्षेत्र तोकेर लगानी गर्नुपर्ने तथा वित्तिय पहुँचका लागि वित्तिय साक्षरता अभियानलाई बैंकले अगाडी बढाउनुपर्नेमा उनको जोड थियो ।   

मुद्रा स्फिीर्ति दर ५ प्रतिशत भन्दा कम भएको अहिलेको अवस्थामा बचतकर्तालाई त्यसको वरिपरिको ब्याज दिन बैंकहरु तयार हुनुपर्ने उनले स्पष्ट पारे । ‘नेपालको पुँजी त्यति सस्तो पनि छैन कि यति कम ब्याजमा पैसा बचत पनि होस्, र एकै अंकमा कर्जा लगानी पनि होस् । बैंकहरुले आफ्नो स्वायत्तताभित्रको जवाफदेहिता र जिम्मेवारी पालना गरेर अघि बढ्नुपर्छ’, मन्त्री खतिवडाले भने ।  

अहिले मुलुकमा आर्थिक क्रियाकलापहरु शिथिल हुन लाग्यो, व्यवासायीमा उत्साह छैनन् भन्ने टिप्पणीहरु आइरहेको उल्लेख गर्दै उनले भने, ‘व्यवसायीमा उत्साह छैन भन्ने टिप्पणीहरु आइरहेका छन् । उहाँहरुलाई म भन्न चाहन्छु । बैंकहरुमा ऋणको यति धेरै माग छ कि, खुरुखुरु लगानी गर्न पाउने र स्रोत भइरहने हो भने दुई वर्षको माग त अहिले नै सिर्जना भइसकेको छ । यतिधेरै उद्योगहरु दर्ता भएका छन्, देश विदेशबाट कम्पनीहरु आउन खोजिरहेका छन् ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *