कलाकारको व्यंग्य– देशले बुढो, रोगी प्रधानमन्त्री मात्रै पायो
साउन ३१, काठमाडौं । गाईजात्रा पर्वको अवसरमा आयोजित कार्यक्रममा ख्यातिप्राप्त हाँस्य कलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भलाई लिएर झटोरो हानेका छन् । रिपोर्टर्स क्लब नेपालमा आज (शुक्रबार) आयोजित गाइजात्रा विशेष साक्षात्कारमा सहभागी भएका उनीहरुले नेतादेखि कर्मचारीसम्मलाई व्यङ्ग्यमार्फत् झटारो हानेका हुन् ।
हाँस्य कलाकारहरुले नेताका व्यवहार, शैली र प्रवृतिलाई आफ्नो व्यङग्यका निशाना बनाएका छन् । उनीहरुले देशमा व्याप्त भ्रष्टाचार, बलात्कार, ठगी र समाजिक सञ्जालमाथिका विसंगतीहरुलाई समेट्दै नेताहरुकै आवाजमा व्यङ्ग्य प्रस्तुत गरे । सरकारको नेतृत्व गरिहेका नेताहरु लक्षित गरेर गाईजात्रा विशेष व्यङ्ग्य प्रस्तुत गरेका हुन् ।
कार्यक्रममा हाँस्यकलाकार श्रीकृष्ण सिमखडाले समाजमा घटिरहेका विभिन्न प्रकारका घटनाको बारेमा व्यङ्ग्य गरे । देशमा गणतन्त्रको नाममा लुटतन्त्र मच्चिरहेको भन्दै उनले नेताका आसेपासेहरुले देश लुटिरहेको गहिरो व्यङग्य प्रस्तुत गरे । ‘गाँउको हजारौ विघा जमिन बाँझै छोडेर नेतालाई भोट हाल्ने युवाजति सबै विदेशमा रहेका र नेताले आफ्ना सात पुस्तालाई पुग्ने सम्पती कमाउने धन्दामा रहेकाले देश विकासमा ध्यान नदिएको हो,’ उनले व्यङग्य गरे ।
प्रधानमन्त्री केपी शर्मा ओली तथा कांग्रेस सभापती शेरबहादुर देउवाको शैलीलाई बोलीमा उतार्दै उनले समय र परिवेश अनुरुप देश अगाडी नबढेको धारणा पनि राखे । नेपाललाई सुधार्न जनता जान्न चाहान्छन् होइन अब नेता जान्न चाहान्छन् कि चाहाँदैनन् भन्ने कार्यक्रम चलाउन पनि पत्रकार ऋषि धमलालाई उनले आग्रह गरे ।
त्यस्तै अर्का हाँस्य कलाकार दमन रुपाखेतीले आजको दिनलाई नेताहरुको पुण्य तिथिको संज्ञा दिँदै वर्तमान सरकार मुलुकको अवस्था प्रति संवेदनशिल नभएको आरोप लगाए । अहिले हरेक घरमा नेता, पत्रकार, बलत्कारीहरु व्याप्त हुँदै गएको भन्दै उनले उखान टुक्काले मात्र देशमा रहेका विसंगतिको अन्त्य नहुने धारणा राखे ।
उनले भने, ‘वर्तमान सरकार जनताका जनजीविकाप्रति संवेदनशील छैन । हत्याहिंसा, बलात्कारका घटना दिनानुदिन बढीरहेका छन् । गणतन्त्रको नाममा जनता करको मारमा छन्, करले जनतालाई थिचिरहेको छ ।’
देशले बुढो तथा रोगी प्रधानमन्त्री पाएको भन्दै उनले रगत सुकेको तथा नसाले काम नगर्ने प्रधानमन्त्रीको अवस्था जस्तै देशको पनि त्यस्तै अवस्था रहेको धारणा राखे ।
युवालाई देशको बागडोर दिनुपर्ने जनाउँदै उनले युवामा जस्तो भिजन तथा आत्मविश्वास रोगी तथा वृद्ध नेताहरुमा नरहेको अभिव्यत्ति राखे । युवा नेतृत्वलाई देशको प्रमुखको जिम्मेवारी दिनुपर्ने उनको धारणा छ ।
त्यस्तै कार्यत्रममा बोल्दै अर्का कलाकार जोगेन्दर पानवालाले विकसित तथा विकासोन्मुख देशमा राजनैतिक व्यङ्ग्य नहुने जनाउँदै हाम्रो देशमा पनि राजनितीमाथिको व्यङ्ग्यको अन्त्य हुुनुपर्ने दिनको पर्खाईमा जनता रहेको बताए ।
दुई तिहाईको शक्ति रहेको सरकारले विकासका काममा ध्यान दिन आवश्यक रहेको बताउँदै उनले देशमा व्याप्त भ्रष्ट्राचार, विषाधि युक्त भान्सा, जनतामाथि सरकारको हैकम, करको दायर बढाउँदा जनताको दैनिकीमाथि प्रभाव, लुटेरा भ्रष्टलाई दिने तक्मा तथा सम्मान र नेताको विकास सम्बन्धी योजनाहरुका बारेमा व्यङ्ग्य प्रस्तुत गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै कलाकार राजाराम पौडेलले पछिल्लो समय राजतन्त्र फर्कने हल्ला चलिरहँदा नेताको व्यवहारबाट वाक्क भएको भन्दै राजाले देश बेच्न नसक्ने जनाए । ‘राजाले बरु अंगुरको वाइन खालान् तर होली वाईन खाँदैनन् ।’ उनले भने ‘ऋषि जीले नेपाली कागज ल्याउनु भएको भए म हस्ताक्षर गरेर दिन सक्छु, राजाले देश बेचेको इतिहास छैन ।’
अहिलेको संघीयताले पनि देशलाई कंगाल बनाउँदै लगेको उनको आरोप रहेको छ । जनताले सोचे जस्तो देशमा परिवर्तन नआएको भन्दै उनले अहिलेका प्रदेश सांसद तथा माननियहरुले करोडाैँका गाडी खरिद गरी राजाभन्दा पनि माथिको शैली देखाएको धारणा राखे ।
‘अहिलेका सामाजिक सञ्जाल के भएका ? दिसा पिसाब गरेकोे समाचारलाई प्राथमिकता दिएर प्रसारण प्रकाशन गरिरहेका छन’, उनले भने, ‘वास्तविक पत्रकार को हो भन्ने छुट्टयाउन गाह्रो, जता पनि जात्रा नै जात्रा ।’
सामाजिक सञ्जालमा भाइरल भईरहने सेलिब्रेटिका वान पिस लुगाको मात्र यो देशमा चर्चा भईरहेको बताउँदै उनले कुनै विकास प्रेमि नेताको चर्चाको सधैँ अभाव हुँदै गएको पनि बताए ।
अहिलेको शासन व्यवस्था प्रतिको व्यङ्गमा उनले के–के नै पाउँछौँ भनेर लागियो तर अहिले त केहि पाउन त परै जाओस् देख्न समेत नपाएको उनले सुनाए ।
कार्यक्रमकै क्रममा आफूले प्रधानमन्त्रीको जिम्मेवारी पाए अहिलेको मन्त्री मण्डलमा भएका कुनैपनि नेतालाई आफ्नो मन्त्रीमण्डलमा नराख्ने बताए । अहिलेका नेताहरुले कानुन हेरेर नभई अनुहार हेरेर न्याय दिने खेल भईरहेको पनि उनले सुनाए ।
त्यस्तै कार्यक्रममा बोल्दै डा. घनश्याम खतिवडाले देशमा व्याप्त समस्याको बारेमा भित्र सम्मै समस्या रहेको जनाउँदै हरेक क्षेत्रमा भ्रष्ट्राचार अनियमियताले प्रसय पाएको जनाए ।
स्कुलदेखि विश्व विद्यालयसम्मै समस्याले पीडित रहेको उल्लेख गर्दै उनले सबै पक्षलाई सफल बनाउन अहिलेका नेताको क्षमता नरहेको पनि प्रष्ट पारे । उनले भने, ‘सामाजिक सञ्जालको दुरुपयोग दिन दुई गुना रात चार गुनाले वृद्धि भइरहेको छ । श्रीमान विदेशमा हुनेहरुका श्रीमती ब्वाइफ्रेन्ड बनाउँदै हिँडेका छन् । अनुसन्धानको दायरमा आउनुपर्ने भिडियोहरु युट्युबबाट हेर्न मिलिरहेको छ । मेसिनरीसँगको सम्बन्धले हाम्रो धर्म, संस्कृतिमाथि हस्तक्षेप भईरहेको छ ।’
अहिलेको सरकारले आर्थिक वर्षलाई चैतमा बनाइदिँदा पनि असार देखि असोज सम्म हुने अपराधहरुमा कमि आउने पनि उनको धारणा रहेको छ ।