डिजिटल वित्तिय सेवा विस्तार गर्न इसेवा र युके एडको सक्षमबीच सम्झाैता

 

साउन २९, काठमाडौं । डिजिटल माध्यमबाट ग्रामीण भेगका नागरिकहरुलाई वित्तिय सेवामा पहुँच पुर्याउन इसेवा र युके एडको सक्षमबीच सम्झौता भएको छ । 

इसेवा क्यास पोइन्टको तर्जुमा, विकास तथा कार्यान्वयन गर्नको लागि तथा वित्तिय सेवामा पहुँच नभएका वा कम पहुँच भएका नागरिकहरुमा नविन डिजिटल वित्तिय सेवाहरुको पहुँच बढाउने उद्देश्यले इसेवा फोन पे प्रालिले युके एडको सक्षम (एक्सेस टु फाइनान्स) सँग सम्झौता गरेको हो । 

null

बुधबार एक कार्यक्रमका बिच इसेवा फोन पेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा तथा युके एडको सक्षमका तर्फबाट टिम लिडर निर्मल दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरे । 

यस सम्झौता मार्फत् स्थापित गरिएका इसेवा क्यास पोइन्टले डिजिटल माध्यम मार्फत् ग्रामीण उपभोक्ताहरुलाई वित्तिय सेवाहरु प्रदान गर्नेछ । 

हस्ताक्षर कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत सापकोटाले डिजिटल माध्यमबाट ग्रामीण भेगका बासिन्दाहरुलाई वित्तिय सेवामा पहुँच पुर्याउनको लागि युके एडको सक्षमसँग साझेदारी गर्न पाउँदा खुशी लागेको बताए । 

उनले भने, ‘हामी इसेवा क्यास पोइन्टको प्रणाली स्थापित गर्नेछौँ, जसले ग्रामीण भेगमा कम सेवा पाइरहेका वा सेवा नै नपाइरहेका उपभोक्तालाई उत्कृष्ट वित्तिय समाधानहरु प्रदान गर्न सक्नेछ । साथै बढी कारोबार लागत भएका सवाहरुको विकल्पमा क्यास पोइन्ट हुन सक्छ । यसले वित्तिय सेवा प्राप्त गर्ने जनसंख्याको हिस्सा पनि वृद्धि गर्नेछ ।’ 

सन् २०२० डिसेम्बरसम्ममा सम्पूर्ण कारोबार डिजिटलमा ल्याउने उद्देश्य रहेको भन्दै उनले आगामी दिनमा सेवा अझै विस्तार गर्दै लैजाने पनि बताए । 

सक्षम एक्सेस टु फाइनान्स नेपाल तथा संयुक्त अधिराज्य सरकारबीच भएको सम्झौता बमोजिम सञ्चालन भइरहेको एक कार्यक्रम हो । यसलाई डीएफआईडी नेपालको तर्फबाट लुइस बर्जरले स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँगको साझेदारीमा कार्यान्वयन गरिरहेको छ । 

इसेवा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको लाइसेन्स प्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । इसेवामा २० लाख ग्राहक, ५५ हजार एजेन्ट नेटवर्क, ५४ वटा सदस्य बैंक तथा ३० हजार मर्चेन्टको सञ्जाल रहेको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *