काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दै
भाद्र ११, काठमाडौँ । बुधबार दिउँसो २ बजे काँग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक बस्ने भएको छ ।
असार २२ गतेदेखि जारी काँग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक बुधबार पुनः पार्टी कार्यालय सानेपामा बस्न लागिएको हो ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार साउन २९ मा स्थगित बैठकलाई निरन्तरता दिन बैठक पुनः बस्ने भएको हो ।
उनका अनुसार आज बस्ने बैठकमा विघटित भ्रातृ संस्थाको पुनर्गठन, नियमावली संशोधन, काँग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी समायोजन, भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधान संशोधन, विधानअनुसार अवधि समाप्त भएका भ्रातृ संस्था र जनसम्पर्क समितिबारे आवश्यक निर्णय लिने विषयमा छलफल हुनुको साथै भाद्र २४ का लागि पूर्व निर्धारित दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका विषयमा पनि छलफल हुनेछ ।
करिब ८ महिनादेखि विघठित नेविसंघको विषय पेचिलो बनेको छ । ठोस सहमति हुन नसकेको कारण आज पनि बैठक बस्नु अगाडी नै नै शीर्ष नेताहरुबीच समझदारी जुटाउन अनौपचारिक छलफल हुने यस बैठकमा सहभागी हुने एक नेताले जनाएको छ ।