बैंकहरूले साढे ६५ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाए

साउन ३१, काठमाडौँ । २८ वाणिज्य बैंकले आव ०७५/७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। ०७४/७५ को तुलनामा बैंकहरूको खुद नाफा २४.५८ प्रतिशत बढेको हो।०७४/७५ मा बैंकहरूले साढे ५२ अर्ब रुपैयाँ नाफा कमाएका थिए। ०७४/७५ को तुलनामा तीन बैंकको नाफा घटेको छ भने बाँकी २५ बैंकले नाफा बढाएका छन्। 

कर्जा लगानी गर्न रकम अभाव हुँदाहुँदै पनि नाफामा उल्लेख्य वृद्धि भएको छ। आव ०७५/७६ मा वाणिज्य बैंकको औसत निक्षेप दर ६.५८ प्रतिशत र कर्जामा ब्याजदर १२.३१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। गत वर्ष राष्ट्र बैंकले निक्षेप र कर्जामा औसत भारित ब्याजदर अन्तर (स्प्रेड दर) ४.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको भए पनि वाणिज्य बैंकले गत आवमा उच्च स्प्रेडदर (५.७ प्रतिशत) राखेर नाफा बढाएको देखिन्छ। वाणिज्य बैंकहरू र राष्ट्र बैंकबीच स्प्रेडदर गणना विधिमा मतभिन्नताका कारण राष्ट्र बैंकले गत आवमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ल्याएको स्प्रेड दर गणनाको व्यवस्था कार्यान्वयन गर्न सकेन। 

बैंकहरूले स्प्रेडदर गणनामा निक्षेपको कुल लागतलाई ऋण र लगानी (सरकारी ऋणपत्रमा गरिने लगानी) को प्रतिफलबाट घटाएर स्प्रेड गणना गर्दै आएका छन्। बैंकहरूले सरकारी ऋणपत्रमा पाउने ब्याजदर न्यून हुने हुँदा कर्जा र लगानीतर्फको भारित औसत कम हुन जान्छ। भारित औसत भन्नाले निश्चित अवधिभित्रको सबै कर्जा र लगानीको ‘प्रडक्ट’ मा कायम ब्याजको औसतमा निक्षेपका सबैखाले स्किममा दिइएको ब्याजको औसत गणना गर्ने विधि हो। 

null

यद्यपी राष्ट्र बैंकले चालू वर्षको अन्त्यबाट कर्जातर्फको औसत ब्याजदर र निक्षेपको औसत ब्याजदर घटाएर स्प्रेडदर गणना गर्नुपर्ने व्यवस्था गरेको छ। स्प्रेडदर पनि ४.४ प्रतिशतमा सीमित गर्नुपर्ने व्यवस्था छ। यो व्यवस्थाले बैंकहरूको नाफामा उल्लेख्य ह्रास आउने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल बताउँछन्। ‘बैंकहरूले ऋण र लगानीबाट आर्जन गर्छन् भने निक्षेप उनीहरुको लागत हो,’ दाहालले भने, ‘वास्तविक मध्यस्थता शुल्क गणना गर्दा कर्जा लगानीजस्तै बैंकले सरकारी सुरक्षणमा गर्ने लगानीलाई समेत हेरेर निक्षेपमा उनीहरूको लागत घटाउनुपर्छ।’ 

गत आवमा सबैभन्दा बढी नाफा गर्ने पहिलो पाँच बैंकमा राष्ट्रिय वाणिज्य बैंक (पाँच अर्ब ३३ करोड रुपैयाँ), कृषि विकास बैंक (चार अर्ब ३५ करोड), नबिल बैंक (चार अर्ब २९ करोड), नेपाल इन्भेस्टमेन्ट बैंक (तीन अर्ब ४२ करोड) र एनआईसी एसिया बैंक (तीन अर्ब ५ करोड) छन्। 

सबैभन्दा कम नाफा कमाउनेमा सिभिल बैंक (७६ करोड चार लाख रुपैयाँ), सेन्चुरी बैंक (८६ करोड ८ लाख), कुमारी बैंक (एक अर्ब ३३ करोड), जनता बैंक (एक अर्ब ३४ करोड) र सिटिजन्स बैंक (एक अर्ब ४९ करोड) छन्। 

आव ०७४/७५ तुलनामा गत आवमा नेपाल बैंकको नाफा १८.७७ प्रतिशतले घटेर दुई अर्ब ६१ करोडमा सीमित भएको छ। त्यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको खराब कर्जा बढेपछि नाफा ६.६६ प्रतिशतले घटेर चालू आवमा तीन अर्ब ४२ करोड खुद नाफा आर्जन भएको छ। सेन्चुरी कमर्सियल बैंकको नाफा पनि आव ०७४/७५ को तुलनामा ५.६४ प्रतिशतले घटेर ८६ करोड ८ लाख रहेको छ। 

यो समाचार आजको अन्नपूर्ण पोष्टले २८ बैंकको नाफा ६५ अर्ब ३९ करोड शीर्षकमा समाचार पेश गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *