पितृ देवो भव ! अर्थात् पिता देवता हुन्

मातृ देवो भव । 

पितृ देवो भव । 

गुरु देवो भव । 

अर्थात् माता (आमा), पिता (बुवा), गुरु सबै भगवान हुन् । 

भदाै १३, काठमाडाैं । हिन्दू धर्ममा भगवानका धेरै अवतारलाई पुज्ने गरिन्छ । बारैपिच्छे फरक फरक भगवानलाई पुजिन्छ । धुप, बत्ती, नैवेद आदि इत्यादी चढाएर प्रशन्न पारिन्छ । उनीहरुका नाममा व्रत पनि बसिन्छ । उनीहरुलाई पुज्ने निश्चित बार र दिन छुट्याइएको छ । 

हिन्दु धर्मले माता पितालाई पनि भगवानका रुपमा परिभाषित गरेको छ । जीवित एवम् साक्षात् देवता । सारा दुःख कष्ट झेलेर प्रत्यक्ष रुपमा सन्तानको लालनपालन गरी सक्षम बनाउने भएका कारण नै माता पितालाई साक्षात् देवता भनिएको हो ।   

सबै धर्मले माता पिताको कदर गर्छ नै । यद्यपी हिन्दू धर्मले भने भगवान समानको सम्मान दिएको छ, माता–पितालाई । सम्मान स्वरुप वर्षको एक दिन माता र पिताका लागि छुट्याइएको छ, मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) । कुशे औँसी अर्थात् पिताको मुख हेर्ने दिन ।   

हुन त धन हुनेलाई सधैँ दशैँ (विजया दशमी) भनेझैँ माता–पिता हुनेलाई सधैँ कुशे औँसी, सधैँ मातातीर्थ औँसी । तर माता–पिताबाट टाढा रहेका छोराछोरीका लागि भने यी दिन अझ विशेष हुन्छन् । पितालाई विशेष सम्मान दिइन्छ आज । 

पिता हुनेले आजको दिनलाई उत्सवका रुपमा मनाउँछन् । आफ्नो दक्षताअनुसारका विभिन्न परिकारका मिठाई, फलफुल, लत्ता कपडा लगायका उपहार दिएर पिताको मुख हेर्छन् भने टाढा हुनेले फोनबाटै नमन गर्छन्, सम्झन्छन् ।   

भौतिक रुपमा अस्त भइसकेका पिताहरुलाई भने छोराछोरीहरुले विभिन्न शक्तिपीठ, देवालय (गोकर्णेश्वर महादेव, तनहुँको देवघाट, विष्णुपादुका लगायतका तीर्थस्थल) पुगेर स्नान गरी उनीहरु (पितृ) को नाममा श्राद्ध, तर्पण र सिदा दान गरी अध्यात्मिक चिन्तनबाट सम्झना गर्ने गर्दछन् । साथै पिताको नाममा पितालाई शान्ति मिलोस्, पितृलोकमा सहज वास होस्, विष्णुबैकुण्ठ लोकको गमन होस्, लगायतका कामना पनि गर्ने गर्दछन् । यसो गरेमा पुण्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने धार्मिक मान्यता रहिआएको छ । 

विशेषगरी आजको दिन गोकर्णेश्वर महादेव, तनहुँको देवघाट, विष्णुपादुका लगायतका तीर्थस्थलमा दिवंगत पिताका नाममा तर्पण तथा सिदादान गर्नेहरुको ठुलो घुइँचो लाग्ने गर्छ । 

आजकै दिन हिन्दू धर्मालम्बीहरुले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश पनि घर–घरमा भित्र्याउने गर्दछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणहरुद्वारा पूजा गरी छेदन गरिएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । कुशलाई भगवान विष्णु (लालनपालन कर्ता) को प्रतीक पनि मानिन्छ । आजका दिन उखेलिएको कुश वर्षभरी प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रमा उल्लेख छ ।   

कुशको उत्पत्ति र अर्थलाई शास्त्रमा यसरी परिभाषित गरिएको छः 

कुशको उत्पत्ति ब्रह्माजीको उत्पत्तिसँगै भएको हो। त्यसैले इन्द्रादि देवताहरू पनि कुशको प्रयोग गरेर कुशको पवित्र धारण गरेर मात्र यज्ञ, व्रत, तप आदि गरेको प्रसंग पुराणहरूमा धेरै पाइन्छ। कुश–पवित्र धारण गरेको विप्रादि व्यक्ति इन्द्रको बज्र, नारायणको सुदर्शन चक्र, एवं भगवान् शंकरको त्रिशूलसमान नै शक्तिशाली मानिन्छ।  

भगवानले वराह अवतार लिएर पृथ्वीको उद्धार गर्ने क्रममा हिरण्याक्ष दैत्यलाई वध गर्नुभयो र त्यसपछिको थकाइ मेट्नका लागि समुद्रकिनारमा जानुभयो। त्यहाँ आराम गर्दा झरेका वराह भगवानका रौंहरू नै पछि कुश एवं काश भएर उम्रिए। यसरी भगवान् वराहबाटै कुशको उत्पत्ति भएको प्रसङ्ग शास्त्रमा पाइन्छ।  

तस्विरः मकालु खबर 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *