रवि लामिछानेका समर्थकको आन्दोलन: ‘धमिलो पानीमा माछा मार्ने’ चलखेल नेकपाकाे आरोप
भाद्र २, चितवन । नेपाल कम्युनिष्ट पार्टी चितवनले रवि लामिछानेका समर्थकहरुले गरेको आन्दोलनलाई ‘धमिलो पानीमा माछा मार्ने’ चलखेलको आरोप लगाएको छ ।
नेतृत्व विरुद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीहरुलाई बढवा दिने गरी भएको ‘धमिलो पानीमा माछा मार्ने’ चलखेल भएको भन्दै नेकपा चितवनले यो स्वीकार्य हुन नसक्ने उल्लेख गरेको छ ।
नेकपाका अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलद्धारा जारी विज्ञप्तीमा पार्टी चितवनलाई शान्ति र अमनचयन कायम राख्न प्रशासनलगायत आमजनसमुदायमा अपील गरिएको छ । जिल्ला नेतृत्वले कुनै पनि बहानामा भएका अराजक गतिविधिमा संलग्न नहुन पनि सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकहरुलाई निर्देशन दिएको छ ।
पत्रकार पुडासैनी मृत्यु प्रकरणको निष्पक्ष छानविन गरी सत्यतथ्य बाहिर ल्याउन नेकपाले माग गरेको छ । निर्दाेष नपरुन्, दोषी नउम्किउन भन्ने चाहना पार्टीको रहेको भन्दै अनुसन्धानको क्रममा न्यायिक हिरासतमा लिइएको व्यक्तिको सन्दर्भमा न्यायिक ढंगले नै निरुपण गर्न दिइनुपर्ने विज्ञप्तीमा जनाइएको छ ।
सामान्य परिस्थितिलाई असामान्य बनाउने र अनुसन्धान तथा न्यायालयको निर्णयलाई समेत प्रभाव पार्ने गरी भइरहेको हुलहुज्जत, अराजक गतिविधि तथा लगाइएका नाराहरु परिवर्तनविरोधी रहेको भन्दै नेकपाले नेपाली जनताले लामो बलिदानीपूर्ण संघर्षपछि प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रकै विरुद्ध नारा लगाउनु नेपाली जनताप्रतिको अपमान भएको टिप्पणी गरेको छ ।