‘संगीतकारहरु पर्दा पछाडीका रोलमोडल हुन्’
विगत १६ वर्षदेखि निरन्तर संगीतको सुर ताल मिलाइरहेका छन्, संगीतकार धनु ग्याङ्मी । आफ्नो जीवनलाई यही संगीतको धुनमा नचाइरहेका छन् । पाँचथर प्राङबुङको फालेलुङ गाउँपालिका वडा नम्बर ५ मा सामान्य परिवारमा जन्मिएका उनले १५ सय भन्दा बढी गीतमा संगीत भरिसकेका छन् । उनको ‘बाडुली’ ‘खाउँला मिलि सिन्की अचार’ लगायतका चर्चित गीतहरू छन् ।
उनले गीत ‘जबसम्म’ बाट हिट्स एफएम म्युजिक अवार्ड र ‘यानी माया’ बाट म्युजिक अवार्ड पाइसकेका छन् । उनी गायक पनि हुन् । उनका गीतहरु मौलिक छन् । क्रान्ति र देशभक्तिका गीत पनि उनले गाएका छन् । यी नै गीत संगीतबारे गायक तथा संगीतकार धनु ग्याङ्मीसँग मकालु खबरले गरेको कुराकानीः
तपाईलाई संगीतको भोक चाहीँ कहिलेदेखि जाग्यो ?
मेरो हजुरबुवा गाउँघरतिरको जल्दोबल्दो गायक संगीतकार हुनुहुन्थ्यो । प्रत्यक्ष रुपमा गीत संगीतमा नजोडिए पनि उहाँ मारुनी, सोरुठी नाचको लिडर हुनुहुन्थ्यो । म पनि हजुरबुवाको अनुयायी थिएँ । उहाँले गाउनुभएको, उहाँको मादल बजाउने शैलीबाट म प्रभावित छु, उहाँले गाउने गीतहरु अहिले पनि म गाउँछु । गाउँतिरको मेला, विवाह, भोजतिर पनि म नाँच्ने, गाउनेमा सरिक हुन्थेँ । त्यस्ता प्रतिस्पर्धामा म दोस्रो कहिले पनि भइनँ ।
पाँच कक्षा पढ्दादेखि नै म मा संगीतको भोक जागेको थियो । त्यतिबेला देखि नै संगीत क्षेत्रमा नै भविष्य बनाउँछु भन्ने सपना बुन्न थालेको थिएँ । म स्कुलको सांगितिक कार्यक्रमहरुमा पनि भाग लिने गर्थेँ । यस्तो कार्यक्रममा शिक्षकहरुले मलाई नै रोज्नुहुन्थ्यो ।
यो क्षेत्रमा कहिलेबाट प्रवेश गर्नुभयो ?
औपचारिक रुपमा संगीतको शिक्षा लिन थालेको २०५६ सालदेखि हो । अन्य पेशा त्यागेर, पेशागत हिसाबले भन्नुपर्दा चाहीँ २०६० सालदेखि यो क्षेत्रमा लागेको हुँ । संगीतमा लाग्नुभन्दा पहिले म फोटोग्राफरको रुपमा काम गर्थेँ । क्यामेरा मेकानिक पनि थिएँ त्यो बेला ।
यो क्षेत्रमा भविष्य खोज्दै गर्दा दुःख त निकै भोग्नुपर्यो होला है !
सुरुवाती चरणमा दुःख त हुन्छ नै । यस क्षेत्रमा मात्रै होइन, जुनसुकै क्षेत्रमा पनि चुनौति छन् । सफल हुनका लागि दुःख, चुनौतीको सामना गर्नैपर्छ ।
सांगितिक क्षेत्रको सिँढी चढ्दै गर्दा दुःख र समस्याका त चाङ नै थिए मेरो जीवनमा । झन् त्यसमाथि गाउँबाट आएका हामीलाई काठमाडौं सहज हुने त कुरै भएन । निकै नै कठिनपूर्ण समय गुजारेँ । आर्थिक अभाव उत्तिकै थियो । दुःख त कति भनिसाध्ये छैन । म संगीतको भोक, प्यास मेटाउन नै काठमाडौं आएकोले आफ्नो सपना र लक्ष्यका अगाडी मलाई ती दुःखहरु सामान्य नै लाग्थे ।
शब्दमा संगीत भरेरै मात्र जिन्दगी गुजार्न कतिको सहज रहेछ त ?
जुनसुकै क्षेत्रमा लागेका सबैलाई त्यही क्षेत्रमा काम गरेरै जिविका चलाउन सहज छैन पक्कै । अभिनेता अभिनेत्रीहरु सबैको अवस्था पनि उस्तै छैन नि । यो क्षेत्रमा पनि त्यस्तै हो । यसमा वर्गिकृत छ ।
संगीतकार होस् या गीतकार, गायक होस् या अभिनेता जो संघर्षरत छन्, उनीहरुलाई सहज छैन । धेरैले विकल्पका रुपमा पनि यसलाई राखेका छन् । अझ बढी गीतकारहरु यो चपेटामा हुनुहुन्छ । थोरै गीतकारहरु हुनुहुन्छ, जो गीत लेखेरै जिविकोपार्जन गरिरहनु भएको छ ।
रह्यो संगीतकारको कुरा । संगीतकारहरु अवस्था पनि त्यस्तै नै छ । एउटा लेभलका संगीतकारहरु घर जग्गा जोडेर गाडी चढेर पनि हिँडिसकेको अवस्था छ । अर्को लेभलका संगीतकारहरु सामान्य घर चलाउने सम्मका छन् । अझ अर्को लेभलका संगीतकारहरुलाई घर चलाउन पनि गाह्रो छ । राम्रो सिर्जना गर्न सकेमा एक दिन पक्कै सफल भइन्छ । गर्न सक्ने हो भने संगीतमा पहिलेको तुलनामा व्यापक स्कोप छ ।
पछिल्लो समय चर्चित संगीतकारहरुलाई पनि चोरीको आरोप लाग्ने गरेको छ । यस्तो किन भइरहेको छ ? नेपालीमा सिर्जनशिलता कम भएको हो ?
यो क्षेत्र नियाल्ने हो भने पछिल्लो समय गर्व गर्नुपर्ने ठाउँ पनि छन् । पहिले बसहरुमा, रेष्टुरेन्टहरुतिर हिन्दी गीतहरु मात्रै बज्थे, अहिले हिन्दी गीतलाई नेपाली गीतले डोमिनेट गरेको छ । नेपाली गीतको बजार बढेको छ । नेपाली गीतको बजार विस्तार हुँदै गर्दा चोरि पनि अलि बढेकै हो ।
हाम्रो समाजमा अरुको नक्कल गर्ने परम्परा कायमै छ । राम्रो भएमा त्यसैको नक्कल गरिन्छ । अर्को कुरा अहिले नेपाली लोकगीतहरु चलिरहेका छन् । लोकगीत भनेपछि त्यही बेसमा बनाउनुपर्ने हुन्छ । लोकभाका कै शैलीमा ढाल्दा कतिपय संगीत पनि मेल खान जान्छन् । त्यसैमा अलिकति बढी मेल खायो भने त्यसलाई चोरी भन्ने गरिन्छ । त्यसैले पनि चोरी बढेको होला । कति त नियतवश नै चोरी भयो भनेर आरोप लगाइएको अवस्था पनि छ ।
त्यतिकै आरोप लगाउन पाइन्छ र ? कानुनी प्रक्रियामा गयो भने त ?
मैँले भन्न खोजेको सेटिङको विषय हो । गीत हिट गर्नका लागि जानीजानी यस्तो गर्छन् कतिपयले । आरोप लगाउने र आरोप खेप्ने नै एक भएपछि हुने भनेको चर्चा मात्रै हो । कारवाही हुने त कुरै आउँदैन ।
कतिपय अवस्थामा प्रभावित पनि भन्ने गरिन्छ । यो प्रभावित हुनु र चोर्नुमा के भिन्नता छ ?
प्रभावित हुनु र चोर्नुमा धेरै फरक हुन्छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार अर्काको गीतसँग ४ विटसम्म हुबहु मिल्यो भने चोरी भनिन्छ । त्यो जस्तै बनाउन खोज्नुलाई प्रभावित भन्न सकिन्छ ।
तपाईँले पनि यस्तो भोग्नुभएको छ ?
एक पटक मेरो संगीत अर्कैले चोरेको फेला पारेको थिएँ । तर मैँले कुनै कारवाही अगाडी बढाइनँ । यस्ता अनावश्यक विवादमा फसेर अर्को नयाँ सिर्जना गर्ने समय किन बर्वाद गर्नु जस्तो लाग्छ ।
तपाईँ गीत पनि गाउनुहुन्छ । संगीतको काम पनि गर्नुहुन्छ । गीत र संगीतको कस्तो सम्बन्ध पाउनुहुन्छ ?
गीत र संगीत एक अर्काका परिपुरक हुन् । एकविना अर्को अधुरो हुन्छ । गीत भनेको एउटा शब्द संगालो (संग्रह) भयो । ती शब्दहरुलाई लयबद्ध गर्ने कुरा संगीत भयो ।
एउटा गीत उत्कृष्ट हुनुमा संगीतकारको कस्तो भूमिका रहन्छ ?
जुनसुकै गीत उत्कृष्ट हुनुमा संगीतकारको महत्वपूर्ण भूमिका रहन्छ । संगीतकार नै गीतसंगीतको मुख्य मेरुदण्ड हो । संगीतकारले नै सबै कुराको निर्धारण गर्दछन् । सामान्य शब्द चयन भएका गीतलाई पनि उत्कृष्ट बनाउने क्षमता हुन्छ संगीतकारसँग । संगीतकारको निर्देशन अनुसार नै गायक गायिकाले गीत गाउने हो ।
‘मायाको बारीमा कुसुमे रुमाल’ गीतकै कुरा गरौँ न । शब्द कति सामान्य छन् । तर संगीतकार रञ्जित गजमेरको लय, सुर ताल (संगीत) ले कति मिठो बनाएको छ । यदि गीत राम्रा छन्, शब्द चयन पनि उत्कृष्ट छ तर, संगीत मिलेन भने त्यो गीतमा कुनै मिठास नै हुन्न ।
आजभोलि टेबल ठोक्नुलाई पनि संगीत भनिन्छ । वास्तवमा उनीहरुलाई संगीतको बारेमा केही थाहै हुँदैन । कुन बाजा, कति बेला, कसरी बजाउने भन्नेबारेमा ज्ञान नै हुँदैन । टेबल बजायो, मेलोडी निस्कियो, यही हो संगीत भन्नेलाई संगीतकार भन्न मिल्दैन । संगीतकार भनिसकेपछि संगीतको बारेमा कम्तीमा सामान्य ज्ञान त हुनैपर्छ ।
एउटा गीतलाई सुपरहिट बनाउन गायक–गायिका, गीतकार, संगीतकारको मिहेनत बराबर हुन्छ । तर नाम चाहीँ गायक गायिकाको मात्रै चल्छ । यसले संगीतकारलाई निराश बनाउँदैन ?
नेपाली सांगितिक बजारमा संगीतकारहरु अलि पछाडी परेजस्तो जस्तो देखिन्छ । हुन त पर्दा अगाडी जो आयो, त्यही हिरो हुने हो । पर्दा पछाडिकालाई कसले चिन्छ र ? जस्तो चलचित्रकै कुरा गरौँ न, निर्देशकको कति ठुलो भूमिका हुन्छ । तर चर्चा हिरो हिरोइनकै बढी हुन्छ । गीत संगीतमा पनि यस्तै हो ।
संगीतकारहरु पर्दा पछाडीका रोलमोडल हुन् । बजारमा उनीहरुको चर्चा कम भएपनि सांगितिक सर्कलभित्र संगीतकार र गीतकारकै चर्चा बढी हुने गर्छ । उनीहरुको सिर्जनाको कदर पनि हुन्छ । यसले गर्दा पनि निराश हुने मौका मिल्दैन जस्तो लाग्छ ।
तपाईँ यो क्षेत्रमा लाग्नुभएको झण्डैँ २० वर्ष भयो । सुरुवाती समय र अहिलेको गीतसंगीतमा के भिन्नता पाउनुहुन्छ ?
त्यो समयमा आधुनिक गीतहरु बढी सुनिन्थ्यो । त्यो पनि इण्डियन बेसको । त्यही अनुसारको संगीत हुन्थ्यो । नारायण गोपालले गाएका प्रायः गीत इण्डियन क्लासिकल बेसका हुन् । अहिले नेपाली बेसका गीतहरु चलिरहेका छन् । यसलाई नियाल्दा चाहीँ अहिले सप्रेकै छन् ।
पहिले लोकगीत भनेको गाउँतिर (पहाडी भेग) का मानिसहरुले मात्रै सुन्थे । सहरी तथा अलि विकसित क्षेत्रमा लोकगीत कमै बज्थे । अझ युवापुस्ताले त झनै इग्नोर गर्थे नेपाली लोक, आधुनिक गीतलाई । अहिले भने लोकगीतमा पनि सुधार आएको छ । युवापुस्तामा नै लोकगीतको बेग्लै क्रेज छ अहिले ।
तर पूर्ण नेपालको कुना कन्दरामा छिरेर शुद्ध नेपाली गीतसंगीत चाहीँ बजारमा निकाल्न नसकेको अवस्था छ । पहिले हिरण्य, भोजपुरेहरुले निकाल्ने शुद्ध नेपालीपन भएको, मौलिक सँस्कृतिसँग प्रत्यक्ष जोडिएका गीतहरु बजारमा निस्केको छैन । पहिलेको तुलनामा मौलिक गीतहरु आउनै छोडिसकेका छन् । कौडा, घाटु, सालैजु, टप्पा, यस्ता मौलिक गीत लोप हुँदै गइरहेका छन् । दोहोरीहरु चाहीँ धेरै नै निस्केपनि मौलिकता कमै भेटिन्छ ।
धेरैजसो नेपाली चलचित्रहरु विदेशीबाट प्रभावित, कपि पेष्ट हुन्छन् । गीत संगीतमा चाहीँ यसको अवस्था कस्तो छ ?
गीतसंगीतको अवस्था पनि त्यस्तै नै हो । सबै विदेशीबाटै प्रभावित छन् । कतिपय गीतसंगीत कपि पेष्ट नै हुन्छन् । विदेशी संस्कृति नै पछ्याइरहेका छन् । त्यतैबाट अलिकति लियो अनि बनायो, मिहेनत पनि कम लाग्ने । समय पनि बचत हुने ।
नेपाली मौलिकता झल्कने आफ्नै सिर्जना दिनु राम्रो हो नि । जस्तो ‘दर्पणछायाँ’, ‘लहनाले जुरायो’ कति राम्रो छ । शुद्ध नेपाली गीत हो नि यो । कति मिठो छ । अरुको जस्तो देखिन्छ त यो ? हेर्नुस् त अहिलेसम्म हिट छ । यसबाट नेपाली मौलिक गीतसंगीत नै जीवन्त रहन्छन्, कालजयी हुन्छन् भन्ने बुझ्नुपर्छ ।
एउटा कुशल–सफल संगीतकार बन्नका लागि के कस्ता गुणहरु आवश्यक पर्छन् ? तपाईँलाई सफल–कुशल संगीतकार मान्ने कि नमान्ने ?
आफैँले स्वमूल्यांकन गर्ने हो भने कसैले पनि आफूलाई नराम्रो, असफल भन्दैनन् । सबैलाई आफू राम्रो छु, उत्कृष्ट छु भन्ने लाग्छ । त्यसैले यस्ता कुरा श्रोता तथा दर्शकले नियाल्ने हो । एउटा संगीतकार सफल हुनुमा उहाँहरुको पनि महत्वपूर्ण हात हुन्छ ।
कुशल संगीतकारमा सबै बाजा (हृदमिक सेक्सन, मेलोडिक सेक्सन, हार्मोनिक सेक्सन) को ज्ञान हुनुपर्छ । तर टेबल सेक्सनका संगीतकार पनि छन् बजारमा अहिले । उहाँहरुले धेरै नै सिक्नुपर्छ । आफैँलाई नियाल्नुपर्दा म सिक्दै छु । पूर्ण कुशल भइसकेको छैन ।
यो क्षेत्रका समस्या, चुनौति र अवसरको अवस्था कस्तो छ ?
नेपाली गीत संगीत क्षेत्रमा मिहेनती, सिर्जनशीलका लागि अवसर प्रशस्तै छ । यो क्षेत्रको संरक्षण तथा कलाकारहरुको हक हितका निम्ति विभिन्न संघ संस्थाहरु पनि खुलिरहेका छन् ।
समस्याहरु पनि धेरै छन् । गीतहरु रेकर्ड गर्यो तर त्यसको रिटर्न ब्याकमा समस्या छ । रोयल्टी नपाउने समस्या छ । व्यापारमा सिन्डिकेट छ । योसँग सम्बन्धित संघ संस्थाहरुले प्रयास गर्दैछन् । तर समस्या छ भन्दैमा यसबाट भाग्ने कुरा आउँदैन । अब फेरि पनि अन्तर्राष्ट्रिय गीत संगीतले नेपाली बजारलाई कब्जा गर्ने हो कि भन्ने चुनौति छ । सम्भावना पनि छन् । हाम्रो नेपाली गीतसंगीतलाई हामी अन्तर्राष्ट्रियकरण गर्न सक्छौँ । र गर्नुपर्छ । नेपाली गीत संगीत अन्तर्राष्ट्रिय लेभलको बनाउने र अन्तर्राष्ट्रियकरण गर्ने ।
यो यस क्षेत्रको सम्भावना हो । जस्तो कोरियन गीत गगनम स्टाइल राम्रोसँग बुझ्दैनौँ तर पनि धेरै सुनिएको छ नेपालमा । नेपाली गीत रेशम फिरिरी नबुझे पनि विदेशीहरुले सुनेको पाइन्छ । रेशम फिरिरी नेपाली मौलिक गीत भएका कारण सम्भव भएको हो । यसरी नै अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनुपर्छ नेपाली गीत संगीतलाई ।
नेपाली लोक संगीत पछाडी पर्नुमा कसलाई जिम्मेवार मान्ने ? यसको संरक्षणमा राज्यले के– कस्ता कदम चाल्नुपर्ला ?
सुरुमा त यसको संरक्षणमा जोड दिनुपर्यो । मौलिक गीत संगीतको खोजी गरी त्यसलाई मुर्तिकृत गर्नेलाई प्रोत्साहन गर्नुपर्यो । पुरस्कृत गर्नुपर्यो । मौलिक गीतको खोजीका लागि विभिन्न ठाउँमा पुग्नुपर्ने हुन्छ, त्यहाँको रहनसहन परम्परालाई बुझ्नुपर्ने हुन्छ । त्यहाँसम्म पुग्नका लागि खर्च धेरै लाग्छ । यसको आर्थिक व्यवस्थापनमा राज्यले सहयोग गर्ने हो भने नेपाली मौलिक गीत संगीत धेरै माथि उठ्थ्यो ।
हुन त राज्यलाई मात्रै दोष थुपार्नु हुँदैन । भर्खरै देश बन्दैछ । विस्तारै सुधार आउँछ । प्रक्रिया मिलाएर गर्ने हो भने राज्यले पनि गीतसंगीतबाट धेरै लाभ लिन सक्छ ।
गीतसंगीतमा सफल हुन के गर्नुपर्छ ?
संगीत कस्तो चीज हो भने नाम नहुन्जेल दाम पनि हुँदैन । दाम नभए नाम पनि हुँदैन । मुख्य कुरा गीत चल्नुपर्यो । गीत चलिसकेपछि नाम त्यसै चल्छ । नाम चलेपछि दाम पनि राम्रै हुन्छ । सफल हुनका लागि आवश्यक भनेको मेहेनत र सिर्जना हो । अन्य पेशामा मिहेनत गरे मात्रै पनि पुग्छ । तर यस क्षेत्रमा मिहेनतले मात्रै पुग्दैन । नयाँ नयाँ सिर्जना गर्न सक्नुपर्छ । अरुको भन्दा फरक दिन सक्नुपर्छ । फेरि ज्ञान भएर मात्रै पनि पुग्दैन । सम्बन्ध स्थापित गर्न, कायम राख्न पनि सक्नुपर्छ ।
गीतसंगीत जगतमा आफ्नो भविष्य खोजिरहेकालाई के सुझाव दिनुहुन्छ ?
सुरुमा त संगीतको बारेमा जानकार भएर, अलिकति निपूर्ण भएर मात्रै यस क्षेत्रमा आउन अनुरोध गर्दछु । संगीतबारे अध्ययन नै नगरी, नबुझी एकैचोटी गर्छु भनेर हामफाल्नु हुँदैन ।
हामीले इण्डियन क्लासिकल सिकेर मात्रै संगीतको पूर्ण ज्ञाता भइँदैन । नेपाली बाजाहरु, नेपाली मौलिक संस्कृतिहरु पनि हामीले अध्ययन गर्नुपर्छ । साथै अन्तर्राष्ट्रिय स्तरका गीतसंगीतहरुको पनि धेर थोर ज्ञान भयो भने नयाँ नयाँ सिर्जना दिन सकिन्छ । नेपाली मौलिक गीत संगीतहरुलाई अनुसन्धान, अनुसरण गर्नुस् । खोज्नुस् । ल्याउनुस् । र अन्तर्राष्ट्रिय गीत संगीतको मेरुदण्ड के हो ? त्यो पनि बुझ्नुस् । ती सबै बुझ्दै गइसकेपछि म्युजिक आफैँ बुझ्नुहुन्छ ।
अबको योजना के छ ? संगीत जगतले तपाईँबाट के अपेक्षा राख्ने ?
नेपाली मौलिक गीत संगीतलाई देशका कुना कन्दरा पुगेर खोज्ने, बटुल्ने र त्यसलाई मूर्तिकृत गर्ने मेरो अबको योजना छ । अर्को हामी नेपाली कलाकारहरु अन्तर्राष्ट्रिय संगीतको ज्ञानबाट पछाडी छौं । त्यसबारे बुझ्ने, जान्ने र आफूभन्दा जुनियरहरुलाई ती चीज दिने । गीतसंगीतमा निरन्तरता त रहिनै रहनेछ ।
संगीत जगतले भविष्यमा म मार्फत् नेपालको मौलिक गीत संगीतलाई अगाडी आउँछ भन्ने खालको अपेक्षा गर्नुपर्यो । अब नयाँ अलिकति देशभक्ति, देशप्रेमी, देश बनाउनुपर्छ भन्ने खालका गीतहरु निकाल्ने छु । युवाहरुलाई सकारात्मक उर्जा दिने खालका गीतसंगीतलाई प्राथमिकता दिनेछु ।