बैंककमा बम बिस्फोट
साउन १७, बैंकक । दक्षिण पूर्वी एसियाली संगठन (आसियान) को मन्त्री स्तरीय बैठक जारी रहेकै बखत थाइल्यान्डको राजधानी बैंककमा शुक्रबार शृङ्खलाबद्ध बम बिस्फोट भएका छन् ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ समेत सहभागी यस बैठकमा आसियानका सदस्य राष्ट्रका मन्त्रीहरु सहभागी रहेका छन् । कम क्षमताका पछिल्ला बिस्फोटहरुबाट तीन जना घाइते भएका प्रहरीले जनाएको छ ।
null
राजनीतिक हिंसाको इतिहासबाट चर्चामा रहेको थाइल्यान्डमा गत मार्चमा सम्पन्न विवादास्पद आम चुनावबाट थाइल्यान्डको जनजीवन अझै नराम्रोसँग विभाजित भएको छ । प्रधानमन्त्री प्रयुत चान–ओ–चाले बम बिस्फोटका घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न आदेश दिएका छन् । प्रधानमन्त्रीकी प्रवक्ता नारुमोन पिन्योसिनवातले मुलुकको सुरक्षा व्यवस्थालाई कडा बनाइएको र आम जनतालाई भयभित नहुन आग्रह गरेका छन् ।
टेबल टेनिस बल आकारका साना बिस्फोटक वस्तु राजधानीका विभिन्न स्थानमा एकै साथ बिस्फोट गराइएका थिए । यी बिस्फोटहरु ठूलो क्षति पुर्याउन नगरिएको बरु सरकार विरुद्ध सांकेतिक विरोध गर्न चाहेको देखिएको छ । राजधानी बैंककको माहानाकोर्न टावरको वरपर बम निस्कृय तुल्याउने उपकरण सहित सुरक्षाकर्मी परिचालन गरिएको थियो । स्थानीय सुरक्षा निकायका अनुसार कम्तीमा यस टावरको वरपर तीनवटा बिस्फोट भएका थिए ।
यी बिस्फोटहरु अमेरिकी विदेशमन्त्री पोम्पेओले आफ्नो मुख्य सम्बोधन गर्नुअघि भएका थिए । विदेशमन्त्री पोम्पेओले थाइल्यान्डले आफूलाई लोकतान्त्रिक पद्धतिमा पुनः स्थापित गरेकामा थाई सरकारको प्रशंसा गरेका थिए । थाइल्यान्ड सरकारले बम आक्रमणको उद्देश्यमाथि जथाभावी अनुमान नगर्न आग्रह गरेको छ । उपप्रधानमन्त्री प्रवित वोङसुवोनले संवाददाताहरुसँग कुरा गर्दै यस कार्यमा के कति व्यक्ति संलग्न थिए भन्ने अझै थाहा भइनसकेको जानकारी दिए ।
थाइल्यान्डले यसअघि अन्तिम पटक सन् २००९ मा आयोजना गरेको आसियानको शिखर बैठक पनि हिंसात्मक विरोध प्रदर्शनका कारण ओझेलमा परेको थियो । त्यसबखत लोकतन्त्र पक्षधर राता कपडा लगाएका प्रदर्शनकारीले स्वतन्त्र चुनावमा माग गर्दै शिखर बैठक आयोजना स्थलका ढोका तोडफोड गरी सभाहलभित्र प्रवेश गरेका थिए । उक्त घटनामा सदस्य मुलुकका नेताहरुलाई थाई सेनाले हेलिकप्टरबाट उद्धार गरेको थियो । एजेन्सी