सुडान काण्डका दोषी शम्भु भारती पक्राउ

भाद्र १३, काठमाडौं । सुडान काण्डका दोषी पक्राउ परेका छन् । नेपाल प्रहरीको सुडानमा खटिने राष्ट्रसंघीय मिसनका लागि आवश्यक सामाग्रीहरु खरिदमा भएको घोटाला प्रकरणका दोषी शम्भु भारती पक्राउ परेका हुन् । भारतीले सुडान मिसनका लागि आवश्यक सामाग्री आपूर्ती गरेका थिए ।   

सर्वोच्च अदालतको फैसला कार्यान्वयन महाशाखाले भारती पक्राऊ परेको खुलाएको छ । सर्वोच्च अदालतले दोषी ठहर गरेपनि भारती फरार रहेका थिए । २०६४ सालमा सुडान घोटाला प्रकरण चर्चामा आएको थियो । सुडान मिसनका लागि सामान किन्दा २८ करोड ४० लाख भ्रष्ट्राचार भएको ठहर गरीएकोमा भारती फरार थिए । भारतीलाई उक्त प्रकरणमा अदालतले एक बर्ष कैद र १४ करोड २० लाख जरीवाना तोकेको थियो ।   

सर्वोच्चले ठेकेदार कम्पनी एस्युर्ड रिस्क कम्पनीका एजेन्टका रुपमा रहेका भारतीलाई दोषी मानेको थियो । उक्त मुद्दामा नेपाल प्रहरीका महानिरिक्षकहरुलाई ठेकेदार कम्पनीको हैसियत विचार नगरेको आरोपमा तत्कालिन महानिरीक्षकहरू ओमविक्रम राणा, हेमबहादुर गुरङ, रमेशचन्द्र ठकुरीलाई दोषी ठहर गरेको थियो । 

सर्वोच्च अदालतका तत्कालिन प्रधान न्यायाधीश सुशीला कार्की र विश्वम्भरप्रसाद श्रेष्ठले सुडान घोटालाको फैसला गरेका थिए । 

काम नलाग्ने सामान फिर्ताको कुनै पहल नभएको, खरिद गरिएका स्पेयर पार्ट्सको कुनै पत्तो नभएको र भुक्तानी लिइसक्दा पनि सामान सम्बन्धित ठाउँमा पुग्न नसकेको भन्दै अदालतले सामान्य मानिसले पनि बुझ्न सक्ने यस्ता विषयवस्तुमा तत्कालीन प्रहरी अधिकारीहरू मौन रहनुलाई मिलेमतोको उपज भनेको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *