खैरहनीमा भित्रियो अर्को दमकल
भदौ ४, चितवन । चार महिना अघि सम्म दमकल विहीन पूर्वी चितवनमा अहिले २ वटा दमकल भएको छ । यहाँका चार वटा नगरपालिकाले एउटा दमकल सयुक्त रुपमा खरिद गरेका थिए ।
पछिल्लो पटक प्रदेश सरकारबाट प्राप्त दमकल खैरहनी नगरपालिकामा भित्रिएको छ । प्रदेशले पठाएको दमकल बुधवार खैरहनी आईपुगेको हो । ४ हजार लिटर क्षमताको सो दमकल खैरहनी नगरपालिकाको नाममा पठाएको मेयर लालमणी चौधरीले वताए ।
सयुक्त रुपमा संचालित दमकल र खैरहनीको नाममा आएको दुवै दमकल तत्काललाई खैरहनीमा राखिने मेयर चौधरीले वताए । दुवै दमकल साझेदारीमा संचालन गर्न सकिने उनको भनाई छ । चारै नगरपालिकालाई पायक पर्ने भएकाले पहिले ल्याईएको दमकल खैरहनीमै राखिएको छ ।
अहिले आएको दमकल पनि यहाँका चारै नगरपालिका मिलेर संचालन गर्न चार नगरपालिकाबीच केही दिनमै छलफल हुने खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । शर्माका अनुसार सयुक्त रुपमा खरिद गरिएको दमकल कार्यविधि वनाएर संचालन गरिएको छ । अव के गर्ने भन्ने विषयमा चारै नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सम्मिलित समिति पनि छ सोही समितिको वैठकले निर्णय गर्ने वताईएको छ । पूर्वी चितवनमा आगलागीका घटना हुँदा भरतपुर र हेटौडाबाट दमकल ल्याउनु पर्ने वाध्यता थियो ।