गणतन्त्रमा राणा शासनको झल्कोः किर्ते कागज बनाई करोडौं ऋण लिएको देखाइयो, पिडितहरु सडकमा

भाद्र १०, काठमाडौं । श्याम परदेशी पीडित संघर्ष समिति, सर्लाहीले सर्लाही मलंगवा नगरपालिका वडा नम्बर ४ बस्ने श्याम परदेशी भनिने श्यामकृष्ण साह कलवारले गरिब, निमुखाहरुलाई ऋण लगानी गर्ने नाममा एउटै ऋणमा परिवारका विभिन्न व्यक्तिहरुसँग फरक–फरक कागज गराएर ऋण लिएको रकमभन्दा दशौं गुणा बढिको कागज गर्दै शोषण गरेको भन्दै भोलीबाट माईतीघर मण्डलामा धर्नामा बस्ने घोषणा गरेको छ ।   

मंगलबार पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले यस्तो घोषणा गरेको हो । पीडितहरुलाई न्याय दिलाउनको लागि संघर्ष समितिले प्रमुख दलका प्रमुख नेताहरु, गृहमन्त्री, कानूनमन्त्री, महान्यायाधिवक्ता, सभामुख र प्रमुख पार्टीका संसदीय दलका कार्यालयहरुमा पत्र बुझाउने पनि जनाएको छ ।   

सोझासाझा गरिबहरुले कयौंले कति रकमको कागज गरियो थाहा पाउनुपर्ने कानुनी प्रावधानको विपरित तमसुक गराउने, लिएको ऋण तिरेपछि सबै कागज च्यातिदिई हाल्छु भनेपनि कागजै नच्याती साहु शाम परदेशीले झुक्याएर गरेका सबै कागजको एकमुष्ट साँवा ब्याज दाबी गरेपछि ऋणीहरु आपतमा परेको बताइएको छ । साहु श्याम परदेशीले घरका जवान महिलाहरुलाई साँझ पठाईदिए ब्याज मिनाह गर्नेलगायतका प्रस्ताव राख्ने, कतिपय ऋणीलाई ऋण–ब्याज बुझाउन घरमा जाँदा हातपातको प्रयाससमेत गर्ने गरेको, उसले भनेको कुरा नमान्दा अदालतमा लेनदेनको मुद्दा हालि केहीलाई अहिले थुनामा राखेको समेत दावि गरीएको छ । पिडितका अनुसार श्याम परदेशीको ज्याजतीका कारण केही मान्छेहरु भागेका छन् । कैयौं माथि अदालतमा मुद्दा चलिरहेको छ । कतिपय मान्छेहरुको श्रीसम्पत्ति निजले हडपेको छ । 

समितिका अनुसार हालसम्म आफूहरुसँग जोडिएका १५० जना व्यक्तिले लिएको बास्तविक ऋण एक करोड ९ लाख ५१ हजार साँवा हो । जस मध्ये विभिन्न पटक १ करोड ४७ लाख ४ हजार तिरिसकिएको छ । तर, निज कलवारले अझैपनि ७ करोड तिर्नुपर्ने भन्दै दाबी गर्ने गरेका छन् । 

निज कलवारको केही वर्षअघि सम्म मात्रै सामान्य आर्थिक हैसियत रहेपनि अहिले सोझा जनतालाई शोषण गरी आफ्नो, श्रीमती, छोराछोरी, ज्वाँई आदिको नाममा करोडौंको जायजेथा जोडेको समितिको दाबी छ । समितिले भनेको छ,‘यतिका श्रीसम्पत्ति थोरै समयमा कसरी आर्जन गर्न सम्भव छ ? यसलाई समेत छानबिनको दायरामा ल्याई हामी शोषित पीडितलाई न्याय दिलाई दिनु हार्दिक अनुरोध छ ।’ 

पीडितहरुले आफूहरुले लिएको बास्तविक ऋणको साँवा र ब्याज तिर्न भने अहिलेपनि तयार रहेको बताए । तर, झुक्याएर गराएको लिखित रकम तिर्न सक्ने अवस्था नभएको उनीहरुको स्पष्टोक्ति थियो । पीडितहरुले आफूहरु यतिवेला ठूलो मारमा परेको दुःखेसो पोखेका छन् । विगत दुई वर्षदेखि आफूहरु डर, त्रास र चिन्तामा बस्न बाध्य हुँदै आएको उनीहरुको गुनासो छ ।   

‘सर्लाही गएर यथार्थ बुझि हामीले लिएको ऋणको नियमानुसारको साँवा, ब्याज निजलाई हस्तान्तरण गरि गराई अनावश्यक हामी माथि थोपारिएको ठूलो धनराशी र कानुनी झनझटबाट मुक्ति दिलाउन अपिल गर्दछौं ।’ उनीहरु भन्छन् । 

समितिले संघर्षका कार्यक्रमहरुसमेत घोषणा गरेको छ । जस अनुसार भदौ ११ गते पीडितहरु माईतीघर मण्डलामा धर्नामा बस्ने, प्रमुख दलका प्रमुख नेताहरुसँग भेटवार्ता गरेर ज्ञापनपत्र बुझाउने, गृहमन्त्री, कानूनमन्त्री, सभामुख, महान्यायाधिवक्ता, प्रमुख पार्टीका संसदीय दलको कार्यालयमा पत्र बुझाउनेलगायत छन् ।   

कार्यक्रममा पीडितहरु रुक्मिणि चौधरी, फत्मा खातुन, रीना साह, उर्मिला चौधरी र सुमित्रा चौधरीलगायतले आ–आफ्नो पीडा सुनाएका थिए । उनीहरुले राज्यले आफूहरुलाई न्याय दिलाउनुपर्ने माग गरेका छन् । 

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला ईन्चार्ज डाचाराज वाग्लेले राज्यले गरिब, निमुखाहरुमाथि भएको यस्तो शोषणबाट उनीहरुलाई मुक्ति दिलाउनुपर्ने बताए । आफूहरुले दुई वर्षदेखि जिल्लाबाट न्याय दिलाउन पहल गरेको पनि उनले सुनाए ।   

नेकपाका प्रदेश कमिटी सदस्य कमल बुढाथोकीले भारतको हरियाणा र दिल्लीका किसानहरु ऋण तिर्न नसकेर झुण्डिएर मर्न बाध्य भएको सुनाउँदै त्यस्तो अवस्था नेपालमा पनी आउन सक्ने भन्दै सरकारलाई न्याय दिन आग्रह गरे ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *