मूल्य आकासिएपछि सुस्तायो सुन पसल

 

साउन २३, चितवन । लगातार सुनको मूल्य उकालो लाग्न थालेपछि चितवनका सुनचाँदी पसलहरु सुनसान देखिएका छन् । जिल्लाका प्राय सबै पसलहरुमा सुनका गरगहना किन्ने ग्राहकको संख्या शून्य जस्तै छ । 

नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष जीवनज्योती सदाशंकरका अनुसार अहिले सुन बिक्री ठप्प भएको छ । ‘मूल्य निरन्तर उकालो लागेको छ, स्थिर नहुँदा लगानी गर्न समेत अप्ठ्यारो छ सदाशंकर भन्छन्, ‘नयाँ किन्न भन्दा पुरानै बेच्न आउने छन् ।’ 

null

चितवनमा करिब ५ सय सुनचाँदी पसल छन् । बिहीबार प्रतितोला छापावाल सुन ७० हजार, तेजावी सुन ६९ हजार ७ सय किनबेच भएको थियो । चाँदी प्रतितोला ८ सय ४० रुपैयाँ पुगेको छ । मूल्य आकासिएपछि सुनको व्यापार ८० प्रतिशतले गिरावट आएको व्यवसायीहरु बताउँछन् । 

‘प्रतितोला ४०–५० हजारमा किनेका सुन बेच्न आउने केही छन् । मूल्य बढेकाले सुन बेच्न उपभोक्ता नै आउँछन् हामीले किन्नुपरेको छ’, अध्यक्ष सदाशंकर भन्छन्, ‘गहनाका डिजाइन धेरैले हेर्छन् मूल्य सुनेपछि पछि किनौला भन्दै धेरै फर्किन्छन् । मुस्किलले ३० प्रतिशत मात्रै नयाँ ग्राहक आउँछन् । 

२ वर्षअघि ५० हजारमा किनेको सुनको मूल्य अहिले ७० हजार पुगेको उनी बताउँछन् । गतवर्षको तुलनामा मुस्किलले २० प्रतिशत व्यापार भएको उनले बताए । 

हिन्दु नारीहरुको महानपर्व हरितालिका जीत नजिकदै जाँदा व्यापारमा गिरावट आएपछि व्यवसायीहरु चिन्तित बनेका छन् । गत तीजको एक महिनामा चितवनमा २०–३० केजी सुन खपत थियो, अहिले १० केजी पनि हुन गाह्रो देखियो । 

नेपाल राष्ट्र बैंकले कोटा निर्धारण गरेर सुन उपलब्ध गराउने गर्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष अर्जुन रसाइलीले कालिगढसमेत अप्ठ्यारोमा परेको बताए । चितवनमा १ हजार कालिगढ छन् । अधिकांश ज्यालादारीमा काम गर्छन् । कामै नपाएपछि कालिगढको आम्दानीको स्रोत नै बन्द हुन पुगेको व्यवसायी बताउँछन् । 

अन्तराष्ट्रिय बजारमा निरन्तर मूल्य बढेपछि त्यसको प्रभाव नेपालमा समेत परेको हो । पछिल्लो हप्तादेखि नै सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *