‘डान्सबारमा काम गर्ने कतिपय नेपाली नै मानव बेचबिखनका एजेन्ट छन्’

भदौ ११, काठमाडौं । मानव अधिकारकर्मीहरुले महिला तथा बालबालिका बेचबिखनका घटनामा राज्यले चासो नदिएको टिप्पणी गरेका छन् ।   

आज (बुधबार) राष्ट्रिय मानव अधिकार आयोगद्वारा आयोजित ‘मानव बेचबिखन सम्बन्धि समसामयिक विषयहरुमा सरोकारवाला निकायहरुसँग परामर्श तथा छलफल’ कार्यक्रममा मानव अधिकारकर्मीहरुले मानव बेचबिखनका घटना बढ्दै गइरहेका बेला पनि राज्यले कुनै चासो नदिएको टिप्पणी गरेका हुन् ।   

कार्यक्रममा विश्वास नेपालकी प्रतिनिधि बालकुमारी आलेमगरले देशभित्रै मानव बेचबिखनका घटना बढिरहेको बताइन् । घटना बढेपनि राज्य संयन्त्रले चासो नदिएको उनले गुनासो पोखिन् । राज्यको बेवास्ताका कारण मानव बेचबिखनमा परेका पीडितहरुलाई न्याय दिलाउन नसकिएको उनले बताइन् ।   

‘मानव बेचबिखन नियन्त्रणका लागि राज्य संयन्त्रबाट पहल भएको देखिँदैन । स्वदेशमै डान्सबारतिर काम गरी विदेशमा पनि सोही काममा गएका कतिपय नै मानव बेचबिखनका एजेन्ट छन् । कतिपय महिलाहरु भने घरेलु हिंसाका कारण पनि विदेशमा बेचिनुपरेको छ’, बालकुमारीले भनिन्, ‘हिंसामा बाँच्नुभन्दा विदेशमा स्वतन्त्र भएर जिउनु बेस भन्दै त्यसबारे केही नबुझी जाँदा उनीहरु बेचिनु परेको हो । यदी सरकारले यस विषयमा चासो दिने तथा यसलाई व्यवस्थापन गर्ने हो भने मानव बेचबिखन कम हुन सक्छ ।’   

त्यस्तै माइती नेपालकी प्रतिनिधि उमा तामाङले विदेशमा भन्दा स्वदेशमा बढी मानव बेचबिखन भइरहेको बताइन् । उनले भनिन्, ‘स्वदेशमै पनि  महिला तथा बालबालिकाहरूले श्रम शोषण सँगसँगै यौन शोषण भोगिरहेका छन् । काठमाडौंका, कोटेश्वर, जडिबुटी, ठमेल, नयाँ बसपार्क लगायतका विभिन्न स्थानहरुमा बाहिर खाजा घर भनेर होडिङ बोर्ड राखेर भित्र खुलेआम यौन धन्दा चलाइएको छ । युवती तथा बालबालिकालाई जबरजस्ती, ललाइ फकाइमा पारेर यौनधन्दामा लगाइने गरेको पाइएको छ ।’ 

वैदेशिक रोजगार विभागका निर्देशक हरिप्रसाद ज्ञवालीले वैदेशिक रोजगारीका नाममा मानव बेचबिखनका घटना बढ्दै गएको स्पष्ट पार्दै विभागले सम्बन्धित सबै निकायहरुसँग समन्वय गरिरहेको बताए ।   

अपराध अनुसन्धान ब्युरोका प्रमुख एसएसपी ईश्वरबाबु कार्कीले देश मानव बेचबिखन मुक्त हुनुपर्छ भन्ने सबैको उद्देश्य रहेको स्पष्ट पार्दै यसको न्यूनिकरणमा सबैले हातेमालो गरी अघि बढ्नुपर्ने बताए । यस्ता केही घटनामा पीडितलाई न्याय दिन कठिन हुने उनको भनाइ छ ।   

‘कतिपय पीडितलाई मानव बेचबिखनको मुद्दाको चिन्तै हुन्न । न्याय भन्दा पनि उनीहरु रकम फिर्ता चाहन्छन् । आफ्नो पैसा कसरी असुल गर्ने भन्नेमै पीडितको ध्यान हुन्छ । यसकारण पनि यस्ता मुद्दाका प्रमाण जुटाउन मुश्किल हुन्छ । हामी सबै मिलेर यस्ता मुद्दामा सचेत गराउनुपर्छ,’ उनले भने ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *