‘इदका लागि घर जान लागेका हाेइनाैँ, परिवार जिउँदाे छन् या छैनन् त्याे जान्नु छ’
साउन २६, श्रीनगर । सेतो बादलबीच उडिरहेको विमान जब तल झर्छ, तब झ्यालबाट हरियाली मात्रै देखिन्छ । रुखले घेरिएका पहाडी घरहरु । हरिया खेत, खाली सडक । आकाशबाट हेर्दा सबै शान्त लाग्छ । विल्कुल शान्त ।
तर विमानभित्र हेर्ने हो भने बेचैन अनुहार मात्रै देखिन्छ । जसलाई थाहा छैन कि जमिनमा हालत कस्तो छ ।
null
दिल्लीबाट उडेको विमान श्रीनगरको जमीन छुँदैछ । आफ्नासँग भेट्न आतुर रहेका मानिसहरुका लागि सवा घण्टाको यात्रा पनि निकै लामो थियो ।
‘मेरो ह्याण्ड ब्यागमा दाल छ । केही खानेकुरा छ । कुनै गिफ्ट छैन । मैँले खानेकुरा मात्रै लिएर जाँदैछु । मैँले कसैसँग कुरा गर्न सकिरहेको छैन । न आफ्नी पत्नी, न बच्चा, न माता पिता, अंकल । कश्मीर वरिपरिका कोहीसँग पनि कुरा गर्न पाएको छैन’, आशिफले भने ।
आसिफले दिल्लीको इन्दिरा गान्धी हवाई क्षेत्रबाट श्रीनगरका लागि उडान भरेका हुन् । दिल्लीमा एक प्राइभेट बैंकमा काम गर्ने आसिफ पछिल्लो केही दिनदेखि न ठिकसँग सुत्न सकेका छन्, न त खान नै ।
उनी भन्छन्, ‘भन्नुपर्दा म ईद मनाउनका लागि जान लागेको होइन । म यो देख्नका लागि जान लागेको हुँ कि मेरा परिवार ठिक छन् या छैनन् । उनीहरुलाई बताउन जाँदै छु कि म ठिक छु, यहाँको कम्युनिकेशन पुरै खतम भइसकेको छ । यस्तो लाग्दैछ कि हामी आजको संसारमा होइन, अन्धकारमा बाँचिरहेका छौँ ।’
उनी थप्छन्, ‘एक चिन्ताले सताइरहेको छ । त्यहाँ सब ठिक छ कि छैन । यसैकारण म राम्रोसँग काम गर्न सकिरहेको छैन । जब चिन्तामा भइन्छ, दिमागले नराम्रो मात्रै सोच्छ । हुन सक्छ सब ठिक छ तर मलाई केही थाहा छैन कि त्यहाँको हालत कस्तो छ । म आफ्नो परिवारको बारेमा जान्न बेचैन छु ।’
‘मैँले हजारौँ पटक फोन गर्ने प्रयास गरिसकेको छु । जुन नम्बरमा सम्पर्क गर्छु, स्विच अफ । सबैको नम्बर त बन्द हुन सक्दैन नि । केही न केही त गलत भइरहेको छ । यही कुरा दिमागमा खेलिरहेको छ’, आसिफले भने ।
थकान र बेचैनी उनको अनुहारमा प्रष्ट झल्किन्छ । दिल्लीबाट श्रीनगरका लागि उडान भरेका मानिसहरुको अनुहार यदि ध्यान दिएर हेर्ने हो भने सबैमा एक बेचैनी र डर देखिन्छ ।
भारत सरकारले गएको आइतबार संविधानको अनुच्छेद ३७० खारेज गरी भारत प्रशासित कश्मीरको विशेष राज्यको दर्जा खतम गरिसकेको छ । सरकारले यस प्रदेशलाई दुई केन्द्र शासित प्रदेशमा पनि विभाजित गरिसकेको छ ।
तर यसको घोषणा गर्नुपहिले नै त्यस क्षेत्रका सबै किसिमका बाहिरी सम्पर्क काटिएको थियो । इन्टरनेट बन्द गर्नुका साथै मोबाइल र ल्याण्डलाइन फोन सेवा पनि बन्द गरिएको थियो ।
हरियाणका एक मेडिकल कलेजमा पढ्ने ४ कश्मीरी छात्रालाई एक महिनापछि आउँदै गरेको परिक्षाको तयारी गर्नुपर्ने थियो । तर अब उनीहरु हतारमा घर फर्कँदै छन् ।
उनीहरु भन्छन्, ‘कागजातहरु हुनुपर्ने थियो । हामी परीक्षाको तयारी फोकस पनि हुनुपर्ने थियो । तर कम्युनिकेशन नै खतम भयो । परिवारसँग कुरा हुन पाइरहेको थिएन । हामी मानसिक रुपमा डिस्टर्ब भयौँ । निकै चिन्ता भइरहेको थियो हामीलाई । हामी ईद मनाउन जान लागेका होइनौँ । परिवारको हालखबर बुझ्न जाँदैछौँ ।’
‘भारतीय मिडियाले कश्मीरको परिस्थितिबारे हामीलाई कुनै जानकारी दिएको छैन । न सरकारले कुनै जानकारी दिएको छ । हामीले जान्न पाइरहेका थिएनौँ कि आखिर त्यहाँ के भइरहेको छ ?’ उनीहरुले भने ।
दिल्लीको जामिया युनिभर्सिटीमा कानून पढ्दै गरेका शफूराको लगेज र ह्याण्ड ब्यागमा पनि सबै खानेकुरमा मात्रै छन् । उनी भन्छन्, ‘मैँले खानेकुरा र औषधी ल्याएको छु । चार दिन पहिले एकैछि परिवारसँग च्याटमा कुरा भएको थियो । त्यसपछि कुनै सम्पर्क भएको छैन । मलाई थाहा छैन कि उनीहरु जिउँदो छन् या छैनन् ।’
उनी भन्छन्, ‘एक डरको माहोल बनाइएको छ । सरकारले जे गरेको छ, त्यो दोस्रो तरिकाबाट पनि गर्न सकिन्थ्यो । गएको एक वर्षदेखि हामी केन्द्र सरकारको शासनमा रहँदै आएका छौँ । कयौँ अन्य राज्यको पनि विशेष दर्जा छ । यदि त्यहाँबाट शुरु गरेर कश्मीरसम्म पुग्थ्यो त शायद मानिसहरु स्वीकार गर्न सक्थे । तर कश्मीर, जहाँका मानिसहरुलाई पहिलेदेखि नै भरोसा कम छ केन्द्र सरकारमाथि, त्यहाँ यस्तो गरियो । यसले शंका बढाउँछ ।’
शफूरालाई थाहा छैन कि श्रीनगर हवाई क्षेत्रमा उत्रिएपछि घर कसरी जाने । उनी मात्र होइन, बाहिरबाट श्रीनगर जान लागेका कसैले पनि आफ्ना परिवारलाई आफू आउन लागेको सूचना दिन सकेनन् ।
केन्द्रीय रिसर्च इन्सिच्युटमा पढिरहेकी एक छात्रा भन्छिन्, ‘हवाई क्षेत्रबाहिर रुवावासी छ । आँशुले सल भिजिसकेको छ । हामीलाई थाहा छैन । हाम्रा परिवार जिउँदो छन् या छैनन् । हामी सबै छोडेर जसरी हुन्छ उनीहरुको हालखबर जान्न आएका हौँ । उनीहरुको साथमा बस्नुछ । हामीलाई ईद मनाउनु छैन । यस्तो हालतमा कसैले ईद मनाउँछ र ? हाम्रो प्राथमिकता अहिले ईद होइन, घरपरिवारको सुरक्षा हो ।’
पाँचदिनदेखि लकडाउनमा रहेको श्रीनगरमा शनिबार मानिसहरुलाई थोरै छुट दिइएको छ । सडकमा मानिसहरुको चहलपहल पनि देख्न सकिन्छ ।
यहाँको कुनाकुनामा भारतीय सेना हतियारसहित सतर्क छन् । बकर इदका लागि भेडा बेच्न आएका एक युवक भन्छन्, ‘यो ईद होइन । केही दिनका लागि बाहिर निक्लिएका हौँ । हामी ईद पश्चात् आफ्नो ३७० फिर्ता लिनेछौँ । यो कश्मीर हो । हाम्रो जमिन हो । हामी आफ्नो जमिन कसैलाई लिन दिँदैनौँ ।’
युकले भने, ‘जहिल्यै पनि मुसलमानको कुनै ठूलो चाड आउँछ, कुनै न कुनै दंगा, फसाद गरिदिन्छन् । यो त हिन्दुस्तानले सोच्नुपर्ने थियो कि यो यीनीहरुको ठुलो चाड हो । यस्तो गर्नु हुँदैन थियो । त्याग कर्तव्य हो । त्यसैले त्याग गर्छौँ । दुई दिन पश्चात् तपाईँ हेर्नुहोला यहाँ के हुनेछ ।’
अर्का एक कश्मीरी युवा भन्छन्, ‘हाम्रो ईदभन्दा पहिले नै सबै बन्द गरिदिएको छ । जब कसैलाई ईद मुबारक नै भन्न सकिएन भने त्यो कस्तो ईद ?’ अर्का एक जना व्यापारीले भने, ‘यसपटक काम छैन । हामी जनावर बेच्न सक्छौँ भन्ने लागेको छैन । सबै बन्द छ । बिहानदेखि भोकै छौँ ।’
त्यहाँ यस्तो कुनै ठाउँ छैन, जहाँ सय कदमकाबीच हतियारधारी सैनिक जवान नहुन् ।
करिब ३० वर्षीय युवक भन्छन्, ‘कश्मीरलाई एक जेलखाना बनाएर मानिसहरुले यस्तो फैसला लिए । न कश्मीरको पहिले सुनियो न अहिले । अहिले मानिसहरु घरमा बसेका छन् । जब मानिसहरु घरबाट निस्किन्छन्, तब दुनियाँले थाहा पाउनेछ कि कश्मीरी यस फैसलालाई लिएर के सोचिरहेको छ ।’