‘स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न एक कर नीति ल्याउनु पर्छ’ कृष्ण प्रसाद दुलाल
मुलुकले सोचे अनुरुप आर्थिक बृद्दिदर हासिल गर्न नसक्नुमा धेरै कारणहरु छन् । अस्थिर राजनीति, ठूला क्षेत्रमा स्वदेशी लगानीको अभाव, ब्यवसायीक असुरक्षाका कारण खुलेका उद्योग कलकारखाना समेत धरासायी भइरहँदा मोरङको विराटचोकमा स्थापीत पूर्वाञ्चल ल्युव आयल प्रा.लि.ले भने ब्यवसायीक सफलता हासिल गर्दै आइरहेको छ । उत्कृष्ट ब्यवस्थापन, मेहनती कर्मचारी, दक्ष तथा अनुभवी कामदारले पिएलओ लुब्रिकेन्टलाई मुलुककै नम्बर १ लुब्रिकेन्ट बनाएको छ ।
नेपाली लुब्रिकेन्ट उद्योगमा स्थापनाको छोटो समयमै गुणस्तरीय र सफल ब्राण्ड बन्न सफल पिएलओ लुब्रिकेन्ट २०५८ सालमा स्थापना भएको उद्योग हो ।
नेपाली बजारमा ८५ प्रतिशत विदेशी लुब्रिकेन्टको ब्यापकता भइरहेको अवस्थामा स्थापित पिएलओ लुब्रिकेन्टले आफ्ना तीन प्रोडक्ट मार्फत उपभोक्ताको मन जित्दै आइरहेको छ । ISO 9001: 2000 / ISO 9001:2008 मान्यता प्राप्त कम्पनीले पिएलओ, स्टार र मेघा नाम गरेर तीन प्रकारका लुब्रिकेन्ट उत्पादन गर्दै आइरहेको छ । पिएलओको बर्तमान अवस्था, नेपाली बजारमा स्वदेशी लुब्रिकेन्टको अवस्था लगायतका बारेमा कम्पनीका डाइरेक्टर तथा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नपालका उपाध्यक्ष समेत रहेका कृष्ण प्रसाद दुलालसँग गरिएको कुराकानीको संक्षेपः
अन्तराष्ट्रिय बजारबाट आएका कम्पनीको बाहुल्यता भएपनि अहिले भने स्वदेशी लुब्रिकेन्ट उद्योगहरुले विस्तारै बजार लिइरहेको अवस्था छ । पिएलओ लुब्रिकेन्ट नेपाली उत्पादनहरु मध्ये सेल्स र क्वालिटीको हिसाबले नं. १ छ । सरकारले हामी स्वदेशी लुब्रिकेन्ट उत्पादकहरुलाई केहि सहज बनाइदिए हामी ५० प्रतिशत बजार ओगट्न सफल हुन्छौं ।
मुख्य कुरा राज्यले स्वदेशी उद्योगहरुलाई हेर्ने दृष्टिकोण र नीति निर्माणमा समस्या छ । अर्को समस्या भनेको हामीमा विदेशी भन्ने वित्तिकै जुनसुकै क्वालिटिका सामान पनि राम्रो हुन्छ भन्ने सोच छ । सरकारले पनि क्वालिटि नहेरी क्वान्टिटीका हिसाबले जुनसुकै लुब्रिकेन्ट ल्याउन दिइरहेकोले हाम्रो उत्पादन अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्ने क्षमताका भएपनि पछि परीरहेका छौं ।
भारतबाट आएका धेरै लुब्रिकेन्टहरु गुणस्तरहिन छन् । हामीले ती गुणस्तरहिन उत्पादनसँग प्रतिष्पर्धा गर्न नसक्दा लुब्रिकेन्टको बजार विस्तार गर्न नसकेको हौं । सरकारले क्वालिटी नियन्त्रणमा सहयोग गरे हामी बजार बढाउन सक्षम छौं ।
हामीले उत्पादन गरेका लुब्रिकेन्टहरु अन्तराष्ट्रिय स्तरकै छन् । क्वालिटी मेन्टेन गरेरै क्वान्टिटी बढाउन पनी सक्छौं । अन्तराष्ट्रिय बजारबाट आएका धेरै लुब्रिकेन्टहरु क्वालिटीका भएपनि भारतीय बजारबाट आएका कमजोर लुब्रिकेन्टका कारण हामीलाई असर परेको हो । बाटोबाटोमै प्याकिङ भएका लुब्रिकेन्टले हामीलाई धेरै असर गरेको छ । मल्टिनेशन कम्पनीबाट आएका प्रोडक्टहरु क्वालिटीका छन् ।
नेपालमा उत्पादन भएका लुब्रिकेन्ट १ नं. नै छ । चाउचाउ, पश्मिनाहरु अन्तराष्ट्रिय बजारसम्म गइरहेका छन् । लुब्रिकेन्टकै कुरा गर्दा हामीले बनाएको ग्रिज नेपालमा सबैभन्दा बढि विक्रि हुन्छ । अहिले ग्रिज आयात पुरै घटेको छ । नेपालमा १० वटा उद्योगले उत्पादन गरेको ग्रिजले ९० प्रतिशत बजार ओगटेको छ ।
लुब्रिकेन्ट भन्ने वित्तिकै त्यहाँ १ सय भन्दा बढि प्रकारका वस्तुहरु उत्पादन हुन्छ । तपाईले भनेजस्तै लेवर, प्लास्टिक बट्टा, कार्टुनहरु स्वदेशमा उत्पादन भएपनि अन्य कच्चा पदार्थ त विदेशबाटै ल्याउनु पर्छ । तथापि, हामीले अन्तराष्ट्रिय बजारबाट आएका लुब्रिकेन्ट अनुसार नै मुल्य समायोजन गरेका छौं । सकेसम्म उपभोक्तालाई सर्वसुलभ मुल्यमा लुब्रिकेन्ट दिने हाम्रो उद्देश्य हुन्छ ।
पहिले स्वदेशको मागलाई पुर्याउनु पर्छ । अझैपनि हामीले स्वदेशी मागलाई पुरा गर्न सकिरहेका छैनौं । हाम्रो उत्पादन ३५ प्रतिशत मात्र हुँदा ६५ प्रतिशत त विदेशी उत्पादनमा भर पर्नुपरेको छ । देशको परिस्थिति पनि ब्यवसाय गर्ने खालको छैन । पूर्वाधार बनेको छैन । ब्यवसाय गर्ने वातावरण नभइकन भिसिटिएस लागू भएको छ । जब मान्छे करमै दर्ता छैन भने भिसिटिएस कसरी लागू हुन्छ ? सामाजिक सुरक्षा, नागरिकता, प्यानमा पनी समस्या छ । यस्तो अवस्थामा हामी नेपाली उत्पादनलाई अन्तराष्ट्रियकरण गर्छौ भनेर दावि गर्न सक्दैनौं । तथापि, राज्यले त्यहि अनुसारको नीति बनाएर ब्यवसायीलाई सहजता प्रदान गरे जान नसकिने भन्ने हैन ।
राज्यले गर्न खोज्या हो तर, नजानेर समस्या आयो । प्रशासनिक क्षेत्रमा दक्ष कामदार छैनन् । पूर्वाधार तयार पारेर कानुन बनाउनु पर्दथ्यो । यहाँ पहिला कानुन बनाएर कार्यान्वयन गर्ने काम भयो । अहिले त सरकारले बनाएको कानुन पनि लागू नहुने अवस्था छ । बैकको ब्याजदर बढेको बढै छ । अटो मोवाइल्सको क्षेत्रमा झन असर गरेको छ । मैले भनिहाले नी, स्वदेशी मागलाई पुरा गर्न सकेपछि हामी विदेश जाने हो, त्यसका लागि राज्यले ब्यवसायीमुखी नीति निर्माण गर्नुपर्छ । पूर्वाधार, प्रविधि छैन यसलाई राज्यले बनाउनु पर्छ ।
यो पनि गलत काम हो । आफुलाई सवारी चाहियो भने दुई तीन करोड पनि खर्च गर्ने, सर्वसाधारणले सामान्य सवारी खरिद गर्दा विलाशिता भन्ने नै ठिक भएन । आज जनताले थोरै पैसा बचत गरेर बैंकबाट ऋण लिएर सवारी किन्छन् र प्रयोग गर्छन् भने त्यसले आम्दानीको ग्रोथ पनि बढ्छ । सवारी साधनले प्रोडक्ट बढाउँछ, मान्छेले त्यत्तिकै बाटोमा गाडी चलाएर हिँड्दैन नी । अहिले सवारी भनेको आम मानिसको आधारभूत आवश्यक्ता हो । र, गाडीहरु बैंकबाट लोन लिएर नै किन्ने हो । बरु राज्यले अझ सहजता बनाइदिनुपर्छ । नेपाल सरकारको नीतिगत समस्याले मुलुकमा उद्योगधन्धा गर्ने वातावरण छैन ।
मैले अघि नै भनेनी, पहिला आफुलाई पुग्नु पर्यो । आफैंलाई धान्न नसकिरहेको अवस्थामा हामीले विदेशी बजारमा लान्छौं भनेर कुरा गर्नुको अर्थ छैन । आयातलाई प्रतिष्थापन गर्ने हो भने मुलुकको उत्पादन बढाउनुपर्छ । हामी तरकारीमा समेत आत्मनिर्भर छैनौं भने अन्य कुरामा विदेशी बजारमा जान सक्ने अवस्था छैन । लुब्रिकेन्टमा पनि त्यहि हो । चुनौतिको कुरा गर्दा दक्ष जनशिक्तको अभाव, कतिपय कानुनी अड्चन पनि छ । लगानीको वातावरण छैन । राज्यले उद्योगबाट कर लिनु वाहेक केहि दिन सकेको छैन । कच्चा पदार्थको अभाव छ ।
स्वदेशी उद्योग कलकारखानालाई प्रोत्साहन गर्न राज्यले सबै भन्दा पहिला एक कर नीति ल्याउनु पर्छ । भारतमा जस्तै एक देश एक कर नीति ल्याए उद्योगी ब्यवसायीलाई सहज हुन्छ । अहिले वडा कार्यालय, नगरपालिका, मन्त्रालय, कम्पनी रजिष्ट्रार, कर कार्यालय, श्रम कार्यालय, ब्राण्ड कार्यालय, एउटा उद्योग दर्ता गर्दा १२, १३ ठाउँमा दर्ता गर्नुपर्ने बाध्यता छ । यसलाई एक द्वार प्रणालीमा लानु पर्दछ ।
हामी मुलुकको लुब्रिकेन्ट उद्योगहरुमा नं. १ हौं । नेपाली बजारमा ८ प्रतिशत हिस्सा ओगटेका छौं । हामीसँग करिब १५० जना कामदारले रोजगारी पाइरहेका छन् । लगभग देशका अधिकांश भागमा हामी पुगेका छौं । सबै प्रकारका सवारीमा प्रयोग भएको छ ।
यो वर्ष पिएलओलाई नेपाली बजारमा १० प्रतिशत हिस्सा ओगट्ने प्लान गरेका छौं । क्वालिटिको हैन कि मुल्यको हिसाबले विदेशी बजारमा जाने योजना छैन । स्वदेशी मागलाई पुरा गर्ने, नयाँ प्रोडक्ट ल्याउने तथा उत्पादन क्षमता बढाउने सोच छ । आक्रमक बजार रणनीति बनाइरहेका छौं । उपभोक्तालाई स्वदेशी वस्तुको उपभोगमा आकर्षित गर्ने योजना बनाएका छौं ।