तीज मान्न निशुल्क नौनी घ्यू वितरण

भदौ १४,चितवन ।  चितवनको खैरहनी नगरपालिका १० शान्तिवजार स्थित नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाले आफ्ना शेयर सदस्य तथा कर्मचारीलाई निशुल्क नौनी घ्यू वितरण गरेको छ ।  

नेपाली महिलाहरुको महान चार्ड हरितालिका तीजलाई लक्षित गर्दै प्रति शेयर सदस्य एक किलोका दरले नौनी घ्यू वितरण गरेको संस्थाका अध्यक्ष कमलराज थपलियाले जानकारी दिए । नन्दिनी सहकारीको ४ सय २७ जना शेयर सदस्य तथा १० जना कर्मचारी छन् । अव केही शेयर सदस्यलाई मात्र वितरण गर्न वाँकी छ । प्रति किलो नौनीलाई ७ सय २० रुपैया पर्दछ ।  

संस्थाले ३ लाख १४ हजार ६ सय ४० रुपैयामा खरिद गरेर नौनी घ्यू वितरण गरेको अध्यक्ष थपलियाले वताए । 

नन्दिनी दुग्ध उत्पादक सहकारीले विगत तीन वर्षदेखी तीजको अवसर पारेर नौनी घ्यू वितरण गर्दै आएको छ । चार्डवार्डलाई लक्षित गर्दै किसानहरुलाई वडादशैमा प्रति लिटर ३ रुपैयाका दरले वोनस समेत वितरण गर्दै आएको संस्थाका व्यवस्थापक लिलावहादुर थपलियाले जानकारी दिए । 

त्यस वाहेक सो सहकारीले गाईभैसीलाई सुत्केरी भत्ता,घाँसमा अनुदान,शेयर सदस्यको निधन भएमा भेटी स्वरुप ५ हजार रुपैया प्रदान गर्दै आएको छ । सो सहकारीको ३ वटा सेवा केन्द्र छ भने यही भदौ १६ गते खैरहनी १० कठारमा अर्को सेवा केन्द्र विस्तार गर्दैछ । यसअघि राप्ती ६ को पुरवारी,खैरहनी ९ को वैरहनी र खैरहनी ७ को गौचरनमा सेवा केन्द्र स्थापना गरिसकेको छ ।  

दैनिक ४ हजार लिटर दुग्ध संकलन गर्दै आएको सो सहकारीले विगत एक वर्षदेखी आफैले पनिर र दही उत्पादन गरेर विक्री वितरण गरिरहेको संस्थाका निवर्तमान अध्यक्ष एवंम् दुग्ध उत्पादक सहकारी संघका केन्द्रिय सदस्य वालकृष्ण उप्रेतीले जानकारी दिए । सो सहकारीले डेरी उद्योग संचालन गर्ने समेत तयारी गरिरहेको छ । प्रत्यक्ष किसानको समेत लगानीमा उद्योग स्थापना गर्न लागिएको निवर्तमान अध्यक्ष उप्रेतीले वताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *