पत्रकार शालिकरामको मृत्यु प्रकरण: प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ भन्छन्– मर्दामर्दै खोलेको पोल यसरी सार्वजनिक गर्यौँ

भदौ १, काठमाडौँ । टेलिभिजन पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणले मुलुकमा नयाँ तरंग पैदा गरेको छ । पुडासैनीको हत्या हो कि आत्महत्या भन्ने विषयमा अनुसन्धान भइरहेका बेला प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठसमेत घटनामा जोडिएका छन् । उनी सम्पादक रहेको साप्ताहिक पत्रिका जनआस्थामा पत्रकार पुडासैनीको आत्महत्या प्रकरणको विषयमा पहिलोपटक समाचार प्रकाशन गरेपछि काव अध्यक्ष श्रेष्ठ घटनामा मुछिएका हुन् ।   

पत्रकार रवि लामिछानेलाई फसाउने सुनियोजित रुपमा श्रेष्ठ आफै लागेको भन्ने खालका सामाजिक सञ्जालहरुमा आरोप लागेपछि उनले सो कुराको प्रष्टिकरण सामाजिक सञ्जाल फेसबुकमार्फत नै दिएका छन् ।   

केही महिना अगाडि टेलिभिजन कार्यक्रमका प्रस्तोता रवि लामिछाने अमेरिकन नागरिक भएर नेपालमा विना अनुमति बसेर पत्रकारिता गरिरहेको भन्दै प्रेस काउन्सिल नेपालले अमेरिकी नागरिकता त्याग्नु पर्ने बताएपछि काव अध्यक्ष श्रेष्ठ र लामिछानेबीच व्यक्तिगत द्वन्द्व सिर्जना भएको थियो ।   

रवि लामिछाने पक्राउ परेसँगै सोही घट्नाक्रमलाई जोडेर रवि लामिछानेका समर्थकले  पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा रवि लामिछानेलाई फसाउन खोजेको भन्दै सामाजिक सञ्जालमा श्रेष्ठको विरोध जनाइरहेका छन् ।   

यस्तो छ किशोर श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेको प्रष्टिकरणसहितको स्ट्याटस 

‘शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरी अनुसन्धान सुस्त देखिएजस्तो लागेपछि परिवारका सदस्यहरु घटनाको सातौं दिन आइतबार साँझ मेरो कार्यालयमा आएर शालिकरामको मरणअघिका दुई Video Clip Share it मार्फत मेरो मोबाइलमा ट्रान्स्फर गर्दै भन्नुभयो-“दाइ,तपाईं संकटकालमा पनि नडग्मगाएको मान्छे, यसको आधारमा समाचार बनाएर खबरदारी गरिदिन पर्यो”, हामीले त्यसरी प्राप्त 8:27 र 4:57 मिनेटका छुट्टाछुट्टै ती क्लिप्सका केही अंश उल्लेख गर्दै बुधबारको दिन “पत्रकारले मर्दामर्दै खोलेको पोल” शीर्षकअन्तर्गत जनआस्थामा समाचार प्रकाशन गर्यौ, मेरा स्तम्भकार मित्र संकेत कोइराला “नेपाल आज”मा पनि सम्लग्न भएको र उहाँहरुसमेतले पत्रिकाबाट उक्त खबर धेरै वटा अनलाइनले साभार गरिसकेको हुँदा हामीले पनि पोस्ट गर्न पाँउ न भनी आग्रह गर्नुभएबमोजिम ती Video सार्वजनिक रूपमा उपलब्ध गराइएको हो l 

सँसारभरका पत्रकारको पहिलो कर्तव्य प्राप्त प्रमाणित सामग्री अरु कसैले भन्दा पहिले आफ्ना दर्शक र श्रोतासामु प्रस्तुत गर्नु हुने गर्दछ,त्यही कर्तव्य पालना हामीबाट पनि भएको हो, तर यसबीच केही मित्रले वास्तविकतै नबुझी, आफूखुसी काल्पनिक कथा छापी स्वार्थसिध्द गर्न र परिस्थितिलाई अर्कै दिशातर्फ मोड्न चाहेको देखियो l  

उक्त Video को कन्टेन्टबारे हाम्रो भन्नु केही छैन,सरोकारवाला निकायले नै अनुसन्धानबाट खुट्याउलान्,हाम्रो भनाइ त यति मात्रै हो कि यस प्रकरणमा बिश्वभरका एक से एक IT बिज्ञहरुलाई झिकाएर त्यति समयभन्दा बढीको video clip छ भने रिकभर या प्रमाणित गरेर देखाए हुन्छ,जब त्यसभन्दा लामो video नै खिचिएको छैन भने Edit गरेको या कसैलाई हुने, कसैलाई नहुने गरी प्रकाशन या प्रशारण गरिएको प्रश्नै उठ्दैन ! घामजस्तै छर्लङ्ग वास्तविकता यही हो र यही मात्रै हो, यस प्रकरणमा कोही कसैलाई अनावश्यक मुच्छ्ने या विषयान्तर गर्ने जरुरतै छैन l 

हामी जसरी यस मामिलामा टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेलको निर्दोषिता प्रमाणित होस् भन्ने चाहन्छौं त्यसरी नै शालिकराम पुडासैनीले समेत अकाल मरेर पनि अन्याय भोग्न नपरोस् भन्ने ठान्दछौँ ! हामीले अफिसियल रुपमै रविजीलाई पोहोर पनि बिदेशी नागरिकता र राहदानी त्यागेर नेपाली बनी,आफ्नै देशको एक असल Tax Payer का हैसियतले कानूनी रुपमै पत्रकारिता थाल्न बिनम्र आग्रह गरेका video clip हरु youtube मा सर्च गर्दा पाउन सक्नुहुन्छ, न हाम्रो पुरानो चिनाजानी, न बिट एउटै, न एकार्काको प्रतिस्पर्धी, न त कुनै दुश्मनी नै,सम्बन्ध शत्रुतापूर्ण हुनेले कहिल्यै पनि आउनोस्,मिलिजुली देश र जनताको हित अनुकूल पत्रकारिता गरौं भन्दै यसखाले सुझाव दिँदैन l 

३३ बर्षको पत्रकारिता जीवनमा हामीले थुप्रै आरोह-अवरोह झेलेका छौँ र सबै सबै देशबासीप्रति पुनः यो पनि विनम्र आग्रह गर्दछौं कि अनाहक कोही,कसैमाथि,कहिल्यै पुस्ट्याइँ बिनाका आरोप नलगाऊँ l हाम्रो पेशागत कर्म र धर्मबारे केही भ्रम भए या लेख्न मन लागे सीधै सम्पर्क गर्दा हुन्छ,सक्दो जानकारी दिन हर्दम तयार छौँ l 

हाम्रा कुनै पनि गतिविधि अपारदर्शी छैनन्,अनि हामीले झेलेको बिगत र लगाइएका झूठ आरोपहरु तथ्यको कसीमा लल्याकलुलुक गलेका उदाहरण निकट विगतमै छन् ! गल्ती नगर्दासम्म कसैले आत्तिनु पर्दैन भन्ने कुराका हामी आफै भुक्तभोगी हौं l र,हामीले कानूनी प्रक्रियाबाटै आफूमाथिका समुच्च आरोपको न्यायिक निरुपण गरेका छौँ l 

पुनश्च: video प्रकरणको वास्तविकतालाई आफ्नो निहित स्वार्थबस् तोडमरोड नगर्न र हाम्रो पेशागत आचरण तथा तपाईं हामी आफ्नै लेखनप्रति जनबिश्वासको असामयिक अवसान हुन नदिन हार्दिक अनुरोध गर्दछौँ ! वस्तुनिष्ठ आलोचना र सिर्जनात्मक सुझावको सधैं सम्मान गर्ने नै भन्नुहुन्छ’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *