१४ औं नाडा अटो शो सुरुः यस्ता छन् नाडा अटो शोका आकर्षण

भाद्र १०, काठमाडौं । इमान्दार भएर उद्योग व्यापार चलाउन अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायीहरुलाई आग्रह गरेका छन् । नाडा अटो शो–२०१९ को उद्घाटन गर्दै अर्थमन्त्री डा. खतिवडाले घाटाको व्यापार सरकारले पनि नगर्ने भन्दै ब्यापारीलाई कर छलीको प्रयास नगर्न समेत बताए । 

‘सरकारलाई छल्ने कामचाहिँ नगर्दिनुस् । सरकार पनि इमान्दारीपूर्वक तपाईंहरुसामू पेश हुन चाहन्छ, इमान्दारीपूर्वक पेश भइदिनुस् ।’ डा. खतिवडाले भने । 

उनले सरकारले विद्युतीय ऊर्जाबाट चल्ने गाडीमा भन्सार र अन्तशुल्क छुट दिएको तर कतिपयले ब्याट्रीबाट स्टार्टमात्र हुने गाडीहरु आयात गर्न खोजेको गुनासो गर्दै भने,‘ब्याट्रीले स्टार्टमात्र हुने, चल्दा चाहिँ डिजेल पेट्रोल नै चाहिने गाडी ल्याएर भन्सारमा राखिदिनुभयो, हामीले दिने विद्युतीय सवारी साधनको छुट त्यस्तो होइन ।’ 

उनले त्यस्ता गाडीमा सरकारले भन्सार छुट नदिने भन्दै ब्यवसायीलाई आयात नगर्न समेत अनुरोध गरे । कतिपयले नक्कली पार्टपूर्जासमेत आयात गर्ने गरेको गुनासो गरेको भन्दै उनले भने, ‘त्यो सरकारले ल्याएको होला र ? तपाईंहरुकै साथीहरुले ल्याएको त होला । सरकारले हेर्ला, हेरेन भने सरकारको कमजोरी हो, तर ल्याउनेले पनि त्यसको पहिलो दोष त भोग्नु र्पयो  नि ।’ अटोमोवाइल्स ब्यापारीलाई संवोधन गर्दै उनले भने ।   

अर्थमन्त्रीले व्यवसायीका लागि कर लगायतका छुट दिन सरकार तयार रहेपनि घाटाको व्यापार भने नगर्ने बताउँदै व्यवसायीले १० प्रतिशत पनि मूल्य अभिवृद्धि नहुने सामान ल्याएर उत्पादन गर्ने अनि सरकारले २८० प्रतिशत राजश्व गुमाउनुपर्ने अवस्था हुन नहुने जिकिर गरे । 

‘घाटाको व्यापार यो सरकारले पनि गर्दैन, निश्चित संरक्षण दिने हो । आउनुस् उद्योग खोल्नुस् र त्यो संरक्षण दिन चाहिने जति अन्तशुल्क होस, भन्सार होस, कर छुटहरु दिनको लागि सरकार तयार छ ।’ मन्त्रीले भने ।   

आजबाट ६ दिन सम्म चल्ने नाडा अटो शोमा करिब १६० स्टलहरु रहेका छन् जहाँ उपभोक्ताले दुई पाङ्ग्रेदेखि चार पाङ्ग्रे हुँदै हेभी गाडी समेत खरिद गर्न सक्नेछन् ।   

नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालको आयोजनामा सुरु भएको यसपटकको नाडा अटो शो १४औं संस्करण हो । आउँदो दशैं तिहार र छठ जस्ता ठूला पर्वलाई लक्षित गर्दै सुरु भएको अटो शोमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरुको रहेका छन् ।   

अटो शोमा २३ वटा ब्राण्डका चार पाङग्रे, १९ वटा ब्राण्डका दुई पाङग्रे, १२ वटा ब्राण्डका लुब्रिकेन्ट, ९ वटा ब्राण्डका टायर, ५ वटा ब्राण्डका ब्याट्री, १४ वटा पार्ट–पुर्जा एवम् ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तिय संस्थाहरुको उपस्थिति रहेको छ ।   

६ दिन सम्म चल्ने उक्त नाडा अटो–शोमा लगभग ७५ हजारले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रदर्शनीमा आउने अवलोकनकर्तालाई आयोजकले  ओमेगा अटोमोबाइल्सको प्रायोजनमा जिपिएक्स जेन्टलमेन २०० सीसी क्षमताको मोटरसाइकल टिकटको लक्की ड्र गरी भाग्यसाली एक जना आगन्तुकलाई उपहार दिने व्यवस्था समेत गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *