‘रामचन्द्रले पार्टीको नेतृत्वमा जाने आकांक्षाले सभापति देउवामाथि आरोप लगाए’

 

काठमाडौं, १६ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार सबै कुरामा असफल भएको आरोप लगाएका छन् । आज रिपोर्टर्स क्लबमा बोल्दै महतले सरकारले गरेका सबै कामहरु असफल भएको बताए । 

‘आफूले गरेका गलत कामको बारेमा जनस्तरबाटै विरोध भएपछि सरकार जनतासँग झुक्ने परिस्थिति बनेको छ । सरकार तमाम काममा असफल भएको छ ।’ महतले भने । उनले सरकारले सुरु–सुरुमा राष्ट्रियताको बारेमा ठूला–ठूला कुरा गर्ने गरेको र सत्तामा पुगेपछि लम्पसार पर्ने गरेको पनि आरोप लगाए । ‘सुरुमा ओली सरकारले राष्ट्रियताको बारेमा ठूलो कुरा गर्यो, हाम्रै काँधमा राष्ट्रियता अडेकोजस्तो गर्नुभयो । तर, अहिले लम्पसार हुनुभयो । उहाँहरुको राष्ट्रियताको चर्को नारा भनेको त सत्तामा जाने भ¥याङमात्रै हो ।’ उनले भने । 

null

सरकारले जनतासामू झुठो आश्वासनमात्रै दिएको तर बोलेका कुरा पूरा नगरेको महतको दावि छ । उनले भने,‘सुशासन, रोजगारी, समृद्धिलगायतका कुरामा खोस्रा कुरा गरेको छ ।’ कांग्रेसले अर्को निर्वाचनमा एक्लै बहुमत ल्याउनेगरि जित्नेपनि उनको दाबी छ । उनले भने,‘हामी अब जनताको पीर, मर्कालाई आत्मसात् गर्दै अघि बढ्छौं ।’ पार्टीले अब संसद र सडक दुवै ठाउँमा आफ्नो गतिशिलतालाई तिव्रता दिने र जनताका आवाज उठाउने महतको भनाई छ । 

वर्तमान सरकार नेपाल–भारत सम्बन्ध, नेपाल–चीन सम्बन्धमा मात्रै नभएर पूरै विदेश सम्बन्धमा असफल भएको उनको आरोप छ । ‘सरकारले जनतातिर फर्केर राष्ट्रियताको कुरा गर्छ, तर जुन देशसँग आफ्नो कुरा राख्नुपर्ने हो त्यो देशसँग कुरै गर्न सक्दैन । यो सरकार विदेश नीतिमा पुरै असफल भएको छ ।’ 

सर्लाहीमा हत्या भएकोले त्यसको सत्य, तथ्य पत्ता लगाउनको लागि संसदीय समिति बनाउनुपर्ने कांग्रेसले माग गरिरहेको पनि उनले जिकिर गरे । ‘हामी मुलुकमा हत्या, हिंसा दोहोर्याउन दिँदैनौं । माओवादीलाई गिरिजाप्रसाद कोइरालाले वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा ल्याउनुभयो ।’ उनले भने । 

महतले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई हिंसाको बाटो त्याग्नको लागि आग्रह गरे । उनले भने,‘विप्लव समूहले हिंसाको कदम रोक्नुपर्छ ।’ महतले सरकारपनि ‘एक्स्ट्रा–जुडिसियल’ बाटोमा जान नहुने तर्क गरे । ‘सरकारले पनि वार्ताको ढोका खोल्नुपर्छ । कानुनको परिधिभित्र रहेर विप्लवसँग सरकारले वार्ता गर्नुपर्छ । हामी वार्ताको पक्षमा छौं । विप्लवले पनि हिंसाको बाटो बन्द गर्नुपर्छ । हामी हिंसाको खिलाफमा छौं ।’ 

उनले पार्टीको जारी केन्द्रिय कार्यसमिति बैठकमा नेताहरुबीच जुहारी नचलेको बरु सकारात्मक छलफल जारी रहेको स्पष्ट पारे । ‘महाधिवेशनको सन्दर्भमा हामी छलफलमा जुटेका छौं । महासमितिको बैठकले नयाँ विधान बनायो । अब नयाँ नियामावलीको टुँगो लगाउँछौं ।’ पार्टी यतिवेला पूर्ण रुपमा महाधिवेशन केन्द्रित रहेर संगठन विस्तारको काममा जुटेको पनि उनले विश्वास दिलाए । यद्धपी उनले पार्टीभित्रबाट भोलि नै महाधिवेशन गर्नुपर्यो लौ चाहियो भनेर कसैलेपनि नभनेको जिकिर गरे । उनले केन्द्रिय कार्य समितिले बैठकले छिटोभन्दा छिटो अन्तरिम संरचना टुँगो लगाउने स्पष्ट पारे । 

‘अन्तरिम संरचनाले क्रियाशिल सदस्यता वितरण गर्छ । क्रियाशिल सदस्यताको टुँगो लागेर प्रारम्भिक मतदाताको सुचि तयार भएपछिमात्रै महाधिवेशनको मिति, कार्यतालिका तय हुन्छ ।’ महाधिवेशन गर्ने विषयमा पार्टीभित्र खासै विवाद नरहेको उनले जिकिर गरे । 

उनले अन्तरिम संरचना पूरानैलाई समायोजन गर्ने वा नयाँ निर्वाचन गर्ने भन्नेबारे आफूहरु अहिले छलफलमै रहेको सुनाए । तर, पूरानैलाई समायोजन गर्दा राम्रो हुने उनको भनाई छ । उनले भने,‘अन्तरिम संरचनाबारे भोलि वा पर्सीभित्रमा निर्णय हुन्छ ।’ सभापति देउवालगायत आफूहरुलाई एक दिनपनि बढि पदमा बस्न रहर र रणनीति नभएको स्पष्ट पारे । 

बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको नेतृत्वमा जाने आकांक्षाले सभापति देउवामाथि आरोप लगाएपनि पार्टीभित्र तर्कपूर्ण बहस तथा छलफल गर्न नसकेको महतको टिप्पणी छ । ‘देउवाजीको स्वभाव नै सबैलाई मिलाएर लैजाने हो, सहमतिमा निर्णय गर्नुहुन्छ ।’उनले पार्टीको सभापति अहिलेदेखि नै बाजा बजाएर नहुने भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेलको विरोधप्रति व्यंग्य गरे । ‘महाधिवेशनको कार्यतालिका आएपछिमात्रै नेतृत्वमा जाने चाहना व्यक्त गर्दा हुन्छ । अहिले नै बाजा बजाएर हुँदैन ।’ अझैपनि पार्टीले गर्नुपर्ने धेरै काम बाँकी रहेको उनले सुनाए । ‘पहिलो जागरण कार्यक्रम सम्पन्न भयो, दोस्रो र तेस्रो बाँकी छ । संगठन विस्तारमा हामी केन्द्रित हुन्छौं ।’ 

फरक प्रसँगमा उनले कांग्रेस प्रतिपक्षमा भएरपनि प्रतिपक्षीजस्तो भूमिका खेलेन भनेर गरिएकोप्रति आपत्ति जनाए । ‘प्रतिपक्षमा हुँदैमा कुटपिट नै गर्नुपर्छ । मारपिट नै गर्नुपर्छ । रत्नपार्कमा गएर रेलिङ भाँच्नुपर्छ भन्ने छैन । हामी त मर्यादाभित्र रहेर र प्रक्रियालाई आत्मासात गर्दै अब सदन र सडक दुवै ठाउँबाट सशक्त र मर्यादित अनि सक्रिय भूमिका निर्वाह गर्छौं ।’ उनले भने । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *