गैंडाज आर गैंडाज, नट राइनोज’ प्रधानमन्त्री ओली

भाद्र २, काठमाडौं । एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गैंडालाई गैंडा नै भन्नु पर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले गैंडालाई अंग्रेजीमा ‘राइनो’ भनिएको प्रति असन्तुष्टि जनाउँदै उक्त कुरा बताएका हुन् । 

सम्मेलनमा सहभागी करिब चार सय विदेशी पाहुना अगाडि प्रधानमन्त्री ओलीले भने, ‘गैंडाज आर गैंडाज, नट राइनोज ।’ राष्ट्रियता प्रति ओतप्रोत भएका ओलीले सगरमाथालाई पनि ‘माउन्ट एभरेष्ट’ भन्नुको साटो ‘सगरमाथा’ नै उच्चारण गरिदिनसमेत आग्रह गरे । 

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पर्यटन नेपालको मुख्य क्षेत्र रहेको भन्दै त्यसको विकासका लागि कनेक्टिभिटीको ठूलो महत्त्व रहेको बताए । नेपालमा दुई नयाँ विमानस्थल बन्दै गरेको उल्लेख गर्दै उनले काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्न लागिएकोसमेत जिकिर गरे । 

सोमबारदेखि सुरु सम्मेलनमा ४३ देशका ४ सयभन्दा धेरै प्रतिनिधि सहभागी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।होटल सोल्टीमा सुरु भएको सम्मेलनमा विश्वका ठूला जहाज निर्माता कम्पनीहरु बोइङ र एयरबसका प्रतिनिधि समेत सहभागी छन् । अमेरिकी जहाज निर्माता बोइङ तथा युरोपेली जहाज निर्माता एयरबसका प्रतिनिधिहरु उड्डयन सुरक्षा तथा प्रविधि विषयमा प्रस्तुति दिन सम्मेलनमा सहभागी भएको बताइएको छ । 

एशिया प्रशान्त क्षेत्र भनिए पनि सम्मेलनमा युरोपेली संघका नियमाक निकाय प्रमुख, अमेरिका, वेलायत र फ्रान्सका नियामक निकायका प्रमुखहरु समेत सहभागीता रहेको छ ।   

सम्मेलनमा आईकाओ काउन्सिलका अध्यक्ष डा. अलुमुयिवा बनार्ड अलियु, आईकाओका विभिन्न विभागका निर्देशकहरु, ४३ मुलुकका २ सय ९१ प्रतिनिधि, २६ वटा प्रवर्धदक संस्था तथा अन्य सहभागी गरी करिब ४ सय जना विदेशीको सहभागिता छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *