विप्लव नेकपाकाे विध्वंशः ५० स्थानमा विस्फोट, सात जनाको मृत्यु

 

साउन १९, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले प्रतिबन्ध लगाएयता मुलुकका विभिन्न स्थानमा विभिन्न समयमा गराएका बम विष्फोटमा परी ७ जना ज्यान गएको छ । 

फागुनयता देशका फरक–फरक ५० स्थानमा विष्फोट गराउँदा ७ जनाको ज्यान गएको छ । घटनामा दर्जन भन्दा बढी व्यक्ति घाइते भएका गृहमन्त्रालयले जनाएको छ । विप्लव समूहले १ सय २४ स्थानमा राखेको बम सुरक्षाकर्मीले निष्कृय पारेका छन् भने प्रहरी कारबाहीमा विप्लव समूहका २ जना कार्यकर्ता मारिएका छन् । 

null

यस्तै अरु ५ जना कार्यकर्ता आफैँले गराएको विष्फोटमा मरेका छन् । विप्लव समूहका कार्यकर्ताको गोली प्रहारबाट भोजपुरमा एक प्रहरीको समेत मृत्यु भएको छ । प्रहरीले विप्लव समूहका कार्यकर्ताको साथबाट एक थान एलएमजीसहित २४ थान हतियार बरामद गरेको छ । सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको पार्टीले पछिल्लो समय बिहीबार देशका विभिन्न स्थानमा रहेका एनसेलका २५ वटा टावरमा विस्फोट र आक्रमण गरेको थियो । 

यसरी विष्फोटका घटना तिब्र बनाउदै सार्वजनिक सम्पत्तिमाथी क्षति पुर्याउने काम तिब्र बनाएपछि सरकारले ‘विप्लव’ समुहविरुद्ध कठोर हुने संकेत दिएको छ । सो पार्टीले देशभर बम विस्फोट गराउनुका साथै पार्टीभित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने नेतालाई कारवाही गरेको छ । यसबाट रुष्ट बनेको सरकारले विप्लवका नेताकार्यकर्तालाई नियन्त्रणमा लिन बल प्रयोग हुने संकेत दिएको हो । 

प्रहरीले विप्लव समूहले १५ सयजति नेता कार्यकर्ता पक्राउ गरेको छ । प्रतिबन्ध लगाएको समय फागुनअघि एक हजार ३ सय ५ जना पक्राउ परेका थिए । 

त्यसयता ६ सय ९ जना पक्राउ परेका छन् । सरकारले फागुन २८ मा विप्लव समूहलाई प्रतिबन्ध लगाएको हो । विप्लव समूहका नेताकार्यकर्ताविरुद्ध एक हजार ३ सय १३ मुद्दा दर्ता भएका छन् । प्रतिबन्धपूर्व एक हजार १ सय ३३ मुद्दा र प्रतिबन्धपछि ६ सय ४८ मुद्दा दायर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउमध्ये ५ सय १३ जना छुटेका छन् । 

१ सय १० जना कारागार चलान भएका छन् । ६९ जनाविरुद्ध अनुसन्धान भइरहेको छ । डेढ सयजना नेतृत्व तहकै नेताहरु पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार स्थायी समिति सदस्य नै पक्राउ परेका छन् । त्यस्तै विभागीय प्रमुख एक, पोलिटब्युरो सदस्य दुई, केन्द्रीय सदस्य सात, ब्युरो प्रमुख पाँच, भ्रातृ संगठन प्रमुख ६, ब्युरो सदस्य १७, जिल्ला इन्चार्ज तथा सेक्रेटरी गरी ४३ जना पक्राउ परेका छन् । 

सरकारले छुट्टै संयन्त्र परिचालन गरि विप्लव समुहलाई वार्तामा ल्याउने प्रयास गरेपनि सफल हुन सकेको छैन । विप्लव समूहले वार्ताका लागि पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा हुनुपर्ने, पक्राउ नेताकार्यकर्तालाई निःसर्त रिहा गर्नुपर्ने, हत्या, दमन, धरपकड रोक्नुपर्ने सर्त राखेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *