नाडा अटो शो’ मा ९५ ब्राण्डका २ पाङ्ग्रे देखि ४ पाङ्ग्रेहरुको भीड हुने

भाद्र १, काठमाडौं । १४ औं ‘नाडा अटो शो’ २०१९ यहि भाद्र १० गतेदेखि राजधानीको भृकुटीमण्डपमा हुने भएको छ । आयोजक नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आज पत्रकार सम्मेलन गर्दै भाद्र १० गतेदेखि १५ गतेसम्म ६ दिन ‘नाडा अटो शो’ हुने जानकारी दिएको हो ।   

पत्रकार सम्मेलनमा बोल्दै नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले यसपटकको ‘नाडा अटो शो’ विगतको भन्दा फरक र भब्य हुने बताए । उनले यस पटक सडकमा गुड्ने सबै प्रकारका सवारीहरुको ‘नाडा अटो शो’ मा सहभागीता हुने भन्दै यो अटो शो अटोमोवाइल्स ब्यवसायी, बैंकिङ क्षेत्र र आम नेपाली उपभोक्ताका लागि चाडवाड जस्तै हुने बताए । ‘५ वर्षको अवधिमा ‘नाडा अटो शो’ आम ब्यवसायी र सर्वसाधारणको चाड जस्तै भएको छ, यसपटकको ‘नाडा अटो शो’मा ९५ ब्राण्डका करिब १६० वटा स्टल र ब्लकहरु रहनेछन् ।’ उनले भने ।   

यस पटकको ‘नाडा अटो शो’मा अन्तराष्ट्रिय ब्राण्डका प्रख्यात सवारी साधनसँगै, लुब्रिकेन्ट, टायर, पार्टपुर्जा, राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागीता रहनेछ । ६ दिनसम्म चल्ने ‘नाडा अटो शो’मा २३ वटा ब्राण्डका चार पाङ्ग्रे,  १९ वटा ब्राण्डका २ पाङ्ग्रे, १२ वटा ब्राण्डका लुब्रिकेन्ट, ९ वटा ब्राण्डका ब्याट्रीहरुको सहभागीता रहने बताइएको छ भने, १४ वटा पाटपुर्जा एवं ग्यारेज उपकरण कम्पनी र १३ वटा वित्तिय संस्थाहरुको समेत सहभागीता रहने बताइएको छ ।   

‘नाडा अटो शो’ मा यी सबै वस्तु तथा सेवाहरुको प्रदर्शनीका लागि छुट्टाछुट्टै प्रदर्शनी स्थल तयार पारीएको छ । ‘नाडा अटो शो’ अवलोकनका लागि आउने हरुलाई सहजता प्रदान गर्नका लागि यस वर्ष अस्थायी आकाशे पुल समेत निर्माण गरिने आयोजकले बताएको छ । ‘नाडा अटो शो’मा विगत २ वर्ष देखि हटाइएको सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रमलाई सुचारु गरीएको छ । यसपटक आयोजकले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग समन्वय गरेर प्रर्दशनी स्थलमा सडक सुरक्षा सम्बन्धी प्रर्दशनी कक्ष समेत राखेको छ ।   

नेपालीहरुको नजिँकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै आयोजना गरीएको ‘नाडा अटो शो’ लाई सर्भो वर्ल्ड क्लास लुब्रिकेन्टले टाइटल स्पोन्सर्स गरेको छ । आयोजकले ‘नाडा अटो शो’ अवलोकनका लागि सर्वसाधारणलाई रु २ सयको टिकट दर तोकेको छ भने, विद्यार्थीका लागि ५० रुपैंया छुट दिएको बताएको छ । आयोजकले ६ दिनमा करिब ७५ हजार अवलोकनकर्ताले ‘नाडा अटो शो’ अवलोकन गर्ने अपेक्षा गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *