भगवती चौधरीलाई क्षमताअनुसार जिम्मेवारी नदिँदा असन्तुष्टि, भन्छिन्–‘जनताको अपेक्षा पूरा गर्न सहज हुन्न कि !’
भाद्र ११, काठमाडौं । नेपालको कम्युनिस्ट राजनीतिमा महिलाको दरिलो उपस्थिति जनाउने नेतृमा पर्छिन् भगवती चौधरी । सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्ने भगवती चौधरीले नेकपा एमाले, नेकपासम्म आइपुग्दा निष्टाको राजनीति भन्दा अरु केहि सोचिनन् ।
नेकपालाई महिला, अल्पसंख्यक, आदीवासी जनजातिहरुको पार्टी भनिएपनि पछिल्ला समय त्यसबाट विचलित भएको भान भएको छ । पार्टीको सिद्धान्त सर्वहारा वर्गका लागि भएपनि कार्यान्वयन तहमा सर्वहारा वर्गले समान प्रतिनिधित्व पाउन सकेका छैनन् । यसकै एउटा उदाहरण हो, नेकपा माओवादी र नेकपा एमाले एकीकरण पछि बनेको नेकपा गठन र त्यसका जिल्ला, जनसंगठन र बिभागका उपप्रमुख तथा सह–इञ्चार्ज गठन गर्दा भएको बेमेल ।
तराईको भूमीपूत्र अर्थात थारु समुदायबाट राजनीति, समाजसेवा र महिला शशक्तिकरणको अभियानमा तीन दशकदेखि निरन्तर क्रियाशित भगवती चौधरीलाई पार्टीले जिल्ला सह–इन्चार्ज बनायो । पार्टी केन्द्रिय सदस्य, पहिलो संविधानसभा सदस्य, पूर्वराज्यमन्त्री समेत भइसकेकी नेतृ चौधरीलाई एउटा जिल्लाको सह–इन्चार्जमा खुम्च्याइदिँदा चौधरीसँगै स्थानीय कार्यकर्तामा समेत असन्तुष्टि देखिएको छ । ‘पार्टी प्रति पुरै असन्तुष्टि त हैन, तर नेतृत्वले मलाई न्याय गर्न सकेन कि भन्ने भान भयो ।’ चौधरी भन्छिन्–‘अढाई दशक देखि निस्टाको राजनीति गर्दैछु, पार्टीले उचित मुल्यांकन गरेन की जस्तो लाग्यो ।’
फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तिय संस्था, फरवार्ड नेपाल मार्फत देशभरका अढाई लाख महिलामाझ आर्थिक शशक्तिकरणको मुद्दा उठाइरहेकी चौधरीलाई पार्टीले अन्याय गरेको भन्दा पनि आफ्ना पछाडी रहेका समुदाय र क्षेत्रको समान प्रतिनिधित्व भएन की भन्ने चिन्ता छ । ‘ब्यक्तिगत रुपमा मलाई पार्टीले दिएको पदमा खासै चित्त दुखाइ छैन, तथापि, मेरा पछाडी रहेका कार्यकर्ता महिला दिदिबहिनी र मेरो समुदायको अपेक्षा अलिक माथिसम्म थियो, जनताले म प्रति देखाएको सदासयता र अपेक्षा पुरा गर्न सहज हुन्न कि भन्ने हो ।’ चौधरी भन्छिन् ।
नेतृ चौधरीलाई सचिवालयले जिल्ला सह–इन्चार्जको जिम्मेवारी दिइरहँदा पार्टीका केन्द्रिय तहका नेताहरुले माथिल्लो तहमा ल्याउने आश्वासन दिइरहेका थिए । स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चौधरीलाई ‘तिमी अब क्षेत्र र जिल्लामा हैन माथिल्लो तहमा आउनुपर्छ’ भनेका थिए । तर, अन्तिम अवस्थामा भगवती चौधरीलाई जिल्ला सह–इन्चार्जमै खुम्च्याइयो ।
पार्टीको यस्तो निर्णयले स्थानीय तहका नेता तथा कार्यकर्तामा निशारा छाएको छ । ‘भगवती जी, केन्द्रमा काम गर्न सक्ने क्षमता भएको हुनुहुन्थ्यो, के कारणले उहाँलाई लगिएन थाहा भएन । अहिले हामीलाई पार्टीले क्षमता र योग्यता हैन नाता र निकटता हेरेर निर्णय गर्दोरहेछ भन्ने भान भएको छ ।’ एक जिल्ला नेता भन्छन् ।
अहिले पनि पार्टीको कुनै काम होस वा जनताका गुनासाहरु राज्य स्तरमा पुर्याउन भगवती चौधरीले कुनै कसर छाडेकी छैनन् । राजधानी आउँदा उनलाई स्थानीय समस्या मन्त्रालय र मन्त्रीलाई सुनाउँदै दिन बित्छ । उनको क्षेत्रबाट प्रतिनिधिसभामा विजयकुमार गच्छदारले प्रतिनिधित्व गर्छन् । तर, आफ्नै क्षेत्रका जनताका अपेक्षा र गुनासा सुन्ने फुर्सद गच्छदारलाई छैन । त्यस्तोमा भगवती चौधरीलाई नै स्थानीयले गुहार्ने गर्छन् । भलै भगवती चौधरीले निर्वाचनमा प्राविधिक रुपमा पराजय ब्यहोर्नुपर्यो तर, जनताका मन मस्तिष्कमा दरिलो छाप छोड्न सफल भएकी छिन् । यस्तो परिस्थितिमा पार्टीले चौधरीलाई अझ बलियो भूमिका दिएको भए नेकपाका नेता कार्यकर्ताहरुमा उत्साह छाउँथ्यो । पार्टी र समाजप्रति काम गर्ने जाँगर आउँथ्यो ।
दुई दुई पल्ट नेपाली कांग्रेसका भेट्रान राजनीतिक खेलाडी जो राजनीतिमा छक्कापञ्जा गर्न माहिर विजय गच्छदारसँग निर्वाचनमा लड्ने सामर्थ राखेकी चौधरी राजनीतिमा थोरै प्रतिनिधित्व गर्ने समुदायबाट महिलाको प्रतिनिधित्व गर्छिन् । गच्छदारले चौधरीलाई दुई वटै निर्वाचनमा साम दाम दण्ड भेद प्रयोग नगरेको भए उनको राजनीति समाप्त भइसक्थ्यो । ४० वर्षदेखि नेपाली राजनीतिमा लागेका देशको उपप्रधानमन्त्री सहित १२ पल्ट मन्त्री भइसकेका गच्छदारलाई चुनौति दिने भनेकै चौधरी थिइन् । र, अहिले पनि सुनसरी क्षेत्र नं. ३ मा गच्छदारसँग प्रतिष्पर्धा गर्ने उम्मेद्वार भनेकै भगवती चौधरी हुन् । सुनसरी ३ मा गच्छदारलाई टक्टर दिने नेतृत्व अझैसम्म आउन सकेको छैन ।
चौधरीले तराई मधेशका थारु समुदायकै प्रतिनिधित्व गर्ने भएकोले पार्टीले उनलाई माथिल्लो तहमा जिम्मेवारी दिएर न्याय गर्न नसकेको आम कार्यकर्ताको बुझाई छ ।