वडाले किसानलाई बाड्यो अनुदानको मल
भदौ २, चितवन । मलको अभाव झेल्दै आएका चितवनको रत्ननगर नगरपालिका ७ का किसानहरुलाई अनुदानको मल वितरण गरिएको छ ।
रत्ननगर ७ वडा कार्यालयले आफ्ना वडा भित्रका किसानहरुलाई ६० प्रतिशत अनुदानमा युरिया मल वितरण सुरु गरेको हो । वडा कार्यालयको कृषि विकास कार्यक्रम अन्तर्गत गरिव तथा विपन्न किसानहरुलाई लक्षित गरी युरिया मल वितरण सुरु गरिएको वडाध्यक्ष लालबहादुर भट्ट ( राजन) ले जानकारी दिए ।
सोमवार वडा कार्यालयमा आयोजित कार्यक्रममा मेयर नारायण वन र वडाध्यक्ष भट्टले किसानलाई मलको टोकन वाडेर सुभारम्भ गरेका थिए । सो अवसरमा मेयर वनले वडा कार्यालयले गरेको कामले न्युन वर्ग भएका किसानलाई राहत मिल्ने वताए । मेयर वनले रासायनिक मलको विकल्प रोज्न आग्रह गर्दै जैविक मलको उत्पादन र प्रयोगमा जोड दिन किसानहरुलाई आग्रह समेत गरे ।
वडा नं ७ मा ९९७ जना किसानहरु रहेका छन । प्रति किसान अधिकतम ५० किलोका दरले किसानले मल पाउने छन् । वडा कार्यालयले ६० प्रतिशत अनुदान दिएकोमा स्वयम किसानले ४० प्रतिशत व्यहोरेर मल खरिद गरिनु पर्नेछ । अनुदानमा मल दिनका लागि वडा कार्यालयले चालु आर्थिक वर्षमा ४ लाख ६५ हजार रुपैया विनियोजन गरेको वडाध्यक्ष भट्टले वताए ।
रत्ननगर ६ बछौलीमा रहेको जनप्रगति सहकारी संस्थाबाट मल वितरण गर्ने व्यवस्था मिलाइएको छ । वडाध्यक्ष भट्टको अध्यक्षतमा भएको कार्यक्रममा साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड भरतपुरका प्रमुख बुद्धि विनोद दाहाल,मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगाना, वडा सदस्य सोमबहादुर तामाङ, मेलमिलापकर्ता सुजता विष्ट पाण्डे लगायतले मन्तव्य राखेका थिए ।